बालेन र रेणुको निर्वाचन लड्ने चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभामार्फतको उम्मेदवार बन्ने चर्चाले राजनीतिमा तरङ्ग पैदा भएको छ । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रेणु दाहालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव लड्ने तयारी गरेका हुन् ।
बालेनले आगामी माघ ४ गते (पर्सी) राजीनामा दिने बताइएको छ । माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारीको दर्ता गर्ने दिन रहेको छ । झापा–५ बाट शाह र चितवन–३ बाट दाहालले चुनाव लड्ने जानकारहरुले बताएका छन् । रास्वपाबाट आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गरिएका शाहले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निर्वाचन लड्दै आएको झापा–५ लाई रोजेका छन् । गत २०७९ को निर्वाचनमा ओलीले ठूलो मतान्तरले काँग्रेस उम्मेदवारलाई पछि पारेका थिए भने रास्वपा तेश्रो बनेको थियो । जेनजी विद्रोहपछि रास्वपाले बालेन लगायतका व्यक्तिहरुसँग एकता गरी पहिलो पार्टी बन्ने सपना देखेको छ । झापा–५ मा नेकपाले बालेनलाई सहयोग गर्ने र ओली हराउ अभियानमा लाग्ने पनि राजनीतिक आंकलन रहेको छ ।
यता भरतपुर महानगरपालिकाबाट दाहालले चुनावी तयारी गरिरहँदा उक्त क्षेत्रबाट रास्वपाकी सोविता गौतमले चुनाव लड्ने बताइएको छ । गौतम यस अगाडि काठमाडौं–२ बाट निर्वाचन लडी सांसद बन्नु भएको थियो । नेकपा र रास्वपाबीच चुनावी तालमेल भए चितवन–३ मा दाहाललाई छाडी काठमाडौं २ बाट गौतम चुनाव लड्ने चर्चा चलेको छ । दाहालले भरतपुर महानगरपालिकाको २ कार्यकाल प्रमुख हुँदा त्यस क्षेत्रको विकास निर्माणमा प्रभावकारी भूमिका खेलेकाले चुनाव जित्ने चर्चा छ । अहिले राष्ट्रिय राजनीतिमा शाह र दाहालको जति चर्चा अन्य पार्टीका नेताहरुको नभएको बताइएको छ । चितवन–३ बाट गत २०७९ को निर्वाचनमा राप्रपाका विक्रम पाण्डेले निर्वाचन जित्नु भएको थियो । पाण्डे व्यवसायका हिसाबले निर्माण व्यवसायी कालिका कन्ट्रक्सनका मालिक पनि रहेको बताइएको छ । उहाँ केही दिन शहरी विकासमन्त्री समेत बन्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *