चुनाव कि तनाव ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

मरुभूमि नारायण
देश चसक्क भएर यति बेला थचक्क हुँदै चुनावमा होमिएको छ । यो चुनाव हुने समय होइन, नहुने समय हो । देशमा भएको योजनाबद्ध विनासकारी आन्दोलनले गर्दा अल्पायुमै देश फेरि चुनावमा सिधै हाम फाल्यो । बुढाहरूले सिल्टिमुर खाए, युवाहरू बिना उद्येस्य उदाए । अहिले देशमा भद्रगोलको अवस्था छ । सरकार छैन भन्दा छ, छ भन्दा छैन जस्तो लागिरहेछ । यो त केवल चुनावी सरकार न हो, विकासे सरकार होइन । विकासे सरकार नभई देशमा कसरी विकास हुन्छ र ? चुनावी सरकार भएपछि देशमा चुनाव पो हुन्छ । चुनाव हुने भएपछि देशमा केही पार्टीहरूले नयाँ जन्म लिए । धेरै पार्टीहरू पुराना र जीर्ण नै देखिएका छन् । नयाँ बालिके पार्टीहरू पनि अनेक थरी निधारमा खरानी, कालोमोसो, बेसार, ध्वाँसो दलेरै भएपनि उदाएका छन् ।

पार्टी नयाँ भएर होला चुनावमा उठेका कतिपय नवनेताले शिरदेखि पाउसम्म नै खरानी रेखा कोरेर हिंडेको पनि देखियो । त्यसमा अझ पहेंलो जोगी वस्त्र रे ? ऊ त्यो गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही हो । यसपालिको चुनाव भएको खण्डमा कति ढल्नेछन्, कति उदाउने छन् त्यो भोलि देखिने कुरा हो । चुनाव भनेपछि यसपालि बोली नफुटेका बालक, बालिकेदेखि सास जान नसकेर रोकिएका तथा घाँटीमा सास अड्किएका बुढाखाडा पनि होमिएका छन् । यो राम्रो कुरो हो, यो देश बुढाहरूले नै बनाउने छन् । बुढाहरूसँग राम्रो भिजन छ, सीप छ, योजना, जाँगर पनि छ । तिनैले यतिका वर्षसम्म देशलाई कंगाल बनाए । हुन त नयाँले यो देशलाई अन्तरिक्षमै लान्छन् भन्न खोजेको चाहिँं होइन । नयाँ भनिएकामा जोश छ होश छैन । आवाज छ आस्था छैन । दौडधुप छ लक्ष छैन । रुप छ व्यहोरा छैन अनि कसरी उँदो जान्छ देश ? यसरी देश उँदो होइन, उँबो जान्छ ।

देशमा चुनाव हुने भएपछि देश, विदेशमा बस्ने नेपालीहरू भोट हाल्नको लागि नेपाल आउने योजनामा छन्, कति त आई नै सके । आउने जाने क्रममा कतिको खर्च हुन्छ, कतिको समय बर्बाद हुन्छ । कति सिमानामा लुटिन्छन्, कुटिन्छन् । उनीहरूलाई लाग्दो हो यो चुनाव होइन तनाव हो । साँच्चै भन्ने हो भने हामी गरिखाने भेडा, घोडा जनताको लागि तनाबै हो । चुनाव भनेपछि भोट माग्न आउनै प¥यो । हाम्रो सानो देशमा पार्टीहरू धेरै भए । विचरा खेतबारीमा काम गर्ने किसानहरूलाई बढी मार परेको छ । उनीहरू बारीमा काम गरिरहेका हुन्छन्, एउटा पार्टी आएर मलाई भोट दिनुस् भनेर हात खुट्टा ढोग्छन्, कोर, कुष्टी आएका खुट्टा भने पनि पसार्नै प¥यो । एउटा पार्टी आएर भोट मागेर जान पाएको छैन अर्को पार्टी पुच्छर हल्लाउँदै चन्दन घसेर आइपुग्छ । विचरा किसान लगायत अन्य जिविकोपार्जन गर्नेहरूले एक महिनासम्म बारीमा काम गर्न पाउँदैनन्, के यो तनाव होइन ?

यता सहरको हालत उस्तै छ । बाटोमा मान्छे हिंडेको देख्नै हुन्न, समातेरै भएपनि मलाई भोट दिनुस् है भनेर नली खुट्टामै ढोग्छन् । यति मात्रै कहाँ हो र ? अचेल केही हुनेखाने उमेदवारले दुई खुट्टे मान्छे र चारखुट्टे चौपाय चिन्न नसकेर कुकुर, बिरालो, भैंसी, साँडे, सुँगुरसँग पनि भोट माग्न थालिसकेका छन् । चुनाव भनेको पैसाको पोको हो । पैसा भयो भने नराम्रो मान्छेले जित्छ । पैसा भएन भने राम्रो मान्छेले पनि चुनाव हार्छ । यो चुनाव होइन पैसाको खेल हो । यो भनेको पैसा हुनेलाई चुनाव हो, पैसा नहुनेलाई तनाब नै हो ।

पार्टीका कार्यकर्ता पनि असाध्यै इमान्दार छन्, नेताले घुस खाँदा जुस खानु भयो भन्छन् । भ्रष्टाचार गर्दा उपकार गर्नुभयो भन्छन् । विचरा झोले कार्यकर्ता कालोलाई कालो भन्न सक्दैनन्, सेतोलाई सेतो भन्न सक्दैनन् । झुटोलाई झुटो भन्न सक्दैनन्, सत्यलाई सत्य भन्न नसक्नु नै उनीहरूको महान विशेषता हो । अब पार्टीमा झोले कार्यकताको पदोन्नति हुनुपर्छ । उनीहरूको जिन्दगी फेरिनुपर्छ । सधैं पार्टीको झोला बोकेरै गयो जिन्दगी । अब उनीहरूको जिन्दगीले कोल्टे फेर्नुपर्छ । उनीहरू झोले कार्यकर्ताबाट खोले कार्यकर्तामा पदोन्नति हुनुपर्छ । पार्टीको आज्ञाकारी कार्यकर्ता भएर कति रित्तो झोला मात्रै बोक्ने ? अब त उनीहरूले झोलामा सिंगै खोला बोकेर हिंड्ने प्रयत्न गर्नुपर्छ ।

नेपालका पार्टीहरूलाई हेरौं, कति छन् कति, जब कि देशलाई यसरी पार्टी नै चाहिंदैन । पार्टी नभए पनि विकास हुन्छ, देश चल्छ । इतिहास हेर्ने हो भने नेपालमा पार्टीहरू नभएको बेलामै विकास भएको छ । चिनमा पार्टीहरू छन् ? रसियामा छन् ? उत्तर कोरियामा छन् ? तर पनि त्यहाँको विकास तिब्र गतिमा गुडिरहेको छ । मुख्य कुरो देशको विकास गर्न पार्टी होइन भिजन चाहिन्छ । उचालेको कुकुरले मृग मार्दैन, बरु मृगले नै कुकुर मार्न सक्छ । सबै परिचालित छन्, कोही पनि स्वचालित छैनन् अनि कसरी हुन्छ देशमा विकास ?

अब पार्टीको चुनाव चिन्हको बारेमा पनि केही कुरा गरौं । हामी नेपालमा बस्नेले म नेपाली हुँ भनिरहनु पर्छ र ? नेपाली त गर्वले खोक्रो छाति फुलाएर स्वभिमानको पीडा लुकाएर विदेशमा बस्नेले भन्ने हो म नेपाली हुँ भनेर । हामी नेपाली हौं भन्ने थाहा हुँदाहुँदै किन नेपाली कांग्रेस भन्नुप¥यो ? विदेशी कांग्रेस भने भइहाल्यो नि, त्यहीं माथि कालो कांग्रेस भनेर उपमा पाएको छँदैछ कालो कांग्रेस भने भइहाल्यो नि । उसको चुनाव चिन्ह छ रुख, रुख बुढो भएर ढलिसक्यो । कांग्रेस जवान हुँदाको रुख अहिलेसम्म जवान नै भइरहन्छ र ? कागजमा रुख जवान भए पनि रुख ढलेर अब अवशेषको रुपमा जरा बाँकी छ, त्यसैले कांग्रेसको चुनाव चिन्ह रुख होइन रुखको जरा हुनुपर्छ ।

एमालेको सूर्यको कुरा गरौं, सूर्यको तातो तापले गर्दा काला मान्छेहरू घामले डढेर सेता हुँदै गए । सेता मान्छेहरू टाटेपाङ्ग्रे हुन थाले । सूर्यको औचित्य पनि समाप्त हुँदै गयो । अब नेपका एमालेको समय सुहाउँदो चुनाव चिन्ह कालो बादल हुनुपर्छ, जसले घामलाई छेकेर हामीलाई शितल बनाउँछ, अझै भन्ने हो भने चर्को घाम लागेको बेलामा हामीलाई शितल चाहिन्छ, त्यो शितल दिने भनेकै रुखले हो, तसर्थ एमालेको चुनाव चिन्ह चाहिं रुख हुनुपर्छ र कांग्रेसको चाहिँ जरा चुनाव चिन्ह हुनुपर्छ ।

माओवादीको चुनाव चिन्ह चाहिं हाँसिया हथौडा हो । हो हँसिया भनेको काम लाग्ने चिज हो, दिने भए दे नत्र यही हँसियाले तेरो बारीको घाँस काटिदिन्छु भन्न पाइन्छ । हथौडाले उस्तै परे विपक्षीको टाउकोमा प्रहार गरेर सुम्सुम्याउन पाइन्छ । अर्को पार्टीको चुनाव चिन्ह छ घन्टी । पार्टीका मुख्य नेताले भनेको सुनेको हो, यो घन्टी अपराधीको कानमा टिनिनिनी बजाउने हो । खोइ मलाई त पत्यार लागेन । विचरा अपराधीको कानमा लगेर घन्टी बजाउँदा उसले मिठो सांगीतिक आनन्द लिनेछ, के को अपराध गर्न छोेड्दो हो ? घन्टी बजाएर न अपराधी भाग्छन् न त बाँदरहरू नै । अहिले घन्टीको आवाज सुनेर फोहोरमा बसेको माखो त उड्दैन अरु के कुरा ? यो त केवल बजाउने घन्टी, काम गर्ने अन्टी बाहेक केही होइन । यदि यो देशमा साँच्चै क्रान्ति गर्ने नै हो भने रास्वपाले हातमै बिलाउने घन्टी होइन पौरखी हातमा अटाउने बन्चरो लिन सक्नुपथ्र्यो, ताकि अपराधी र भ्रष्टाचारीको कन्चटमा बजाउन सजिलो हुन्थ्यो ।

अब हलोतिर जाऊँ, पार्टी पुरानो भयो, हलो हरायो । खेतबारी जोत्ने गोरु विदेशतिर निर्यात हुन थाले । पहिला मान्छेहरू जान्थे, अहिले जनवारहरू पनि जिविकोपार्जन गर्नको लागि र उतै आफ्नो अस्तित्व मासुमा मिलाउनको लागि विदेश जान थालिसके । समय परिपर्तन हुँदै गयो । राप्रपाको चुनाव चिन्ह हलो पटक्कै सुहाएन । यो समय सापेक्ष पनि भएन । अहिले साना गराहरूमा मात्र होइन, मान्छेका कोठा, भान्सा, कौसीमा पनि ट्याक्टरले जोत्ने जमाना आयो । किसानहरूले हलो जोत्न छोडिसके, त्यसैले राप्रपाको चुनाव चिन्ह अब हलो होइन ट्याक्टर हुनुपर्छ ।

अर्को पार्टी छ उज्यालो पार्टी र उसको चुनाव चिन्ह छ चिम । हेर त हरिबिजोक ! त्यत्रो देशै उज्यालो पार्छु भनेर लागी परेको पार्टीले लिएको चुनाव चिन्ह चिम ? कठै चिम भोट दिम् कि नदिम् ? उज्यालो पार्टीले चुनाव चिन्ह पावरहाउस लिनुपथ्र्यो । यदि त्यो लिन नसकेको खण्डमा कमसेकम विजुलीको पोल लिनुपथ्र्यो नि ? अथवा टान्समिटर लिनुपथ्र्यो, जाबो हातमै हराउने चिम लिएर पनि हुन्छ कहीँ ? यो सबै गतिविधि सम्झिदा मलाई यो चुनाव होइन तनाव हो भन्ने लागेकै छ ।

परिश्रम संस्कृति पार्टी र उसको चुनाव चिन्ह माटो चाहिं मलाई सही लाग्यो । अपराधीलाई खाल्टो खनेर माटोमा पुर्न पनि मिल्ने, माटो भोक लाग्दा खाजाको रुपमा खान पनि मिल्ने, माटो पोलेर खान पनि मिल्ने । मलाई सानोमा माटो खाएको याद छ । मान्छे मरेर जाँदा पनि यही माटो खाने हो, तसर्थ यो माटो जीवित छँदा पनि खान मिल्ने भयो र मरेपछि पनि खान पाइने भयो, हो यसरी खाने चिज चुनाव चिन्ह राखे पो मतदाता खुसी हुन्छन्, भोट दिन्छन् । हामी असम्भव चुनाव चिन्ह राख्छौं अनि कसरी मतदातालाई बुझाउन सक्छौं त ? कुन्नि कुन पार्टीको चुनाव चिन्ह तारा छ । भोट माग्न हिंड्नु छ दिउसै तारा चिन्ह लिएर । मतदाताले मलाई साँच्चैको तारा देखाइदिनुस् भने भने के गर्ने ? हेर समस्या ? यो तारा चिन्ह भएको पार्टी चाहिं दिनमा भोट माग्न नहिंडे हुन्छ । यो पार्टीले भोट माग्न हिंड्नु प¥यो भने पूर्णिमामा पनि नहिंडनू किनभने तारा औंसीमा देखिन्छ त्यति बेलै भोट माग्न हिंड्नू ।

पार्टी समय सापेक्ष हुनुपर्छ । चुनाव चिन्ह पनि सोही अनुसारको हुनुपर्छ नत्र के मजा आयो र ? चुनाव चिन्ह यस्तो होस्, कमसेकम रुखै बोल्न नसके पनि छेस्को बोक्न सकियोस् । सूर्य बोक्न नसके पनि बत्ती बोक्न सकियोस् । घन्टा बोक्न नसके पनि घन्टी र अन्टी बोक्न सकियोस् । बिजुलीको पोल अर्थात् खम्बा बोक्न नसके पनि चिम खल्तीमा हालेर बोक्न सकियोस् । हलो काँधमा हालेर बोक्न नसके पनि करुवा झोलामा हालेर बोक्न सकियोस्, अनि पो चुनावको सार्थकता आउँछ । यसरी पार्टी एकातिर र चुनाव चिन्ह अर्कोतिर भएको पटक्कै सुहाएन । यस विषयमा बौद्धिक, अबौद्धिक पार्टीले विचार नपु¥याइकन सोच्नुपर्छ ।

चुनाव चिन्हले पनि मतदातालाई प्रभाव पार्ने हुँदा र नेताले देशमा भव्य विकास गर्ने हुँदा चुनाव चिन्ह पनि सोही अनुसारको हुनैपर्छ । सबैले देशको विकास नै गर्छु भनेका हुन्छन् तर चुनाव चिन्ह चाहिं उही मरेको स्याल ? जनतालाई पनि पत्यार हुन प¥यो नि ओहो यसको त चुनाव चिन्है खतरा रहेछ यसले विकास गर्छ भनेर । चुनाव चिन्ह जस्तै डोजर, टिपर, क्रेन भए पो चुनाव जितिन्छ, त्यति मात्रै होइन, च्वाँचे, स्याल, भालु, बाख्रो, गधा, साँढे, राँगो, भैसीं, कुकुर, बिरालो जस्ता खानको लागि योग्य, अयोग्य दुईपाया, चौपाया सँगसँगै लिएर हिंडे पनि चुनाव आँखा चिम्लेर जितिन्छ ?

अझ मेरो वैज्ञानिक विचारमा त कुनै पनि पार्टीको चुनाव चिन्ह खानेकुरा भएको एकदम राम्रो हो । खानेकुरा भएपछि सँगै लिएर हिंड्न पनि मिल्ने भयो, बुझाउन पनि सजिलो भयो र भोक नलाग्दा खान पनि पाइयो । पार्टीका चुनाव चिन्ह सही हुनुप¥यो ताकि पार्टी होइन । अब पार्टीहरूले चुनाव चिन्ह रोटी, आँप, केरा, सुन्तला, भोगटे, स्याउ, अंगुर राखेमा बालकदेखि बृद्ध मतदाता पनि खुसी हुने र युवायुवती पनि जंगिने, जोसिने र अन्य पार्टीमा खोसिने भएकोले भोट गन्नै नसकिने आउने निश्चित छ ।

रुख खान मिल्छ ? सूर्य खान मिल्छ ? घन्टी खान मिल्छ ? हँसिया हथौडा खान मिल्छ ? हलो खान मिल्छ ? तर माटो खान मिल्छ, हो यसरी खान मिल्ने चिज चुनाव चिन्ह राख्नुप¥यो । अब हामी भेडाबाख्रा जनताले यसरी माटै खान पाएपछि न राम्रो मान्छे चिन्छौंै, न नराम्रो मान्छे चिन्छौं । यो पूरा अवधिको चुनाव बिथोलिएर, भाँच्चिएर, भत्किएर यसरी नै अल्पायुमै आइरहे हुन्थ्यो, कमसेकम मासुभात, फलफूल, जाँड रक्सी, कोदोको ढिंडो त खाइरहन पाइन्छ । कसले बुझ्छ यो बाह्रमासे चुनावले देशको हितमा भन्दा नेताको हितमा काम गरेको छैन भनेर ? हामी निरीह, नामर्द, बिकाउ, लहैलहैमा लाग्ने भेडा जनतालाई यसरी चुनाव आइरहनु चाहिं पक्कै पनि तनाब नै हो ।

म अहिले सानो बच्चा छु, भोलि ठुलो भएर देशमा पार्टी खोल्न मन छ । एकदिन म पनि देशमा विकास गर्ने पार्टी खोल्नेछु, मेरो पार्टीको नाम रहनेछ नेपाल बाँदर पार्टी र त्यसको चुनाव चिन्ह हुनेछ नरिवल । आहा कति राम्रो पार्टी ? कति राम्रो चुनाव चिन्ह ? पार्टी र चुनाव चिन्हलाई एकैठाउँमा मिसाउँदा बाँदरको हातमा नरिवल भन्ने प्रेरणादायी अर्थ दिनेछ ? अहिलेको मेरो देशको अवस्था पनि बाँदरको हातमा नरिवल नै भएको छ । आहा ! यो हो नि त तरिका ? कति मिलेको नाम र चुनाव चिन्ह ? मैले यो देशमा आफूले सोचेको भिजन अनुसार काम नभएको देख्दा मलाई यो चुनाव हो कि तनाव हो भनेर अहिले पनि लागिरहन्छ । यो देशमा अरु कुनै पार्टीहरूले पनि विकास गर्ने छैनन्, बरु विनास गर्नेछन् तर मेरो बाँदर पार्टीले मात्र विकास गर्नेछ । आहा मेरो कति राम्रो पार्टी ? नेपाल बाँदर पार्टी, यसले चाहिं पक्कै केही गर्छ है । जय शम्भो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *