स्पन्दन भट्टराई
वि.सं. २०८२ नेपाली चलचित्र उद्योगका लागि “मिश्रित संकेत” बोकेको वर्षका रूपमा समाप्त हुँदै छ । बक्स अफिसमा केही चलचित्रले उल्लेखनीय सफलता हासिल गर्दा धेरै चलचित्रहरू दर्शकसम्म पुग्नै नसकी ओझेलमा परेको पाइएको छ । यही अनुभवले अब २०८३ सालका लागि चलचित्र निर्माणको दिशा कस्तो हुनुपर्छ भन्ने बहसलाई पुनः केन्द्रमा ल्याएको छ ।
केहीले बजार ताने, धेरै हराए
२०८२ मा प्रदर्शनीमा आएका चलचित्रमध्ये ‘परान’ वर्षकै सबैभन्दा सफल चलचित्र बन्यो । करिब १८ करोड रुपियाँको व्यापार गरेको यो चलचित्रले पारिवारिक र भावनात्मक कथाले अझै पनि नेपाली दर्शकलाई गहिरोसँग छुन्छ भन्ने प्रमाणित ग¥यो ।
त्यसैगरी ‘आ बाट आमा’ ले पनि पारिवारिक कथालाई केन्द्रमा राख्दै राम्रो व्यापार ग¥यो । युवापुस्तालाई लक्षित ‘जेरी अन टप’ ले ओपनिङ राम्रो पाए पनि लामो समयसम्म स्थिर प्रदर्शनी गर्न संघर्ष गरेको देखियो । यता, ‘ऊनको स्वीटर’ जस्ता चलचित्रले मौलिकता र स्थानीय कथालाई प्राथमिकता दिँदै आलोचनात्मक प्रशंसा बटुलेका भनी चलचित्रकर्मीहरुले बताउने गरेका छन् ।
यस्तैबीच इन्दिरा, धिमे, मैचा जस्ता चलचित्रहरू अत्यन्त न्यून व्यापारमा सीमित भए । यसले चलचित्र उद्योगभित्रको असमानता उजागर ग¥यो ।
समस्या कहाँ देखियो?
२०८२ सालको समग्र चित्र हेर्दा तीन प्रमुख समस्या स्पष्ट देखिन्छन् । पहिलो, कथाबस्तुको कमजोरी । धेरै चलचित्रहरू अझै पनि पुरानै ढाँचामा सीमित छन्, जसले नयाँ पुस्ताका दर्शकलाई आकर्षित गर्न सकेका छैनन् । दोस्रो, वितरण प्रणालीको असन्तुलन । केही ठूला चलचित्रले अधिकांश हल र शो ओगट्दा साना चलचित्रहरूले दर्शकसम्म पुग्ने अवसर नै पाउँदैनन् । तेस्रो, प्रचार–प्रसारको अभाव । राम्रो चलचित्र भए पनि पर्याप्त प्रचार नहुँदा दर्शकसम्म जानकारी नै पुग्दैन ।
यसले के देखाउँछ भने समस्या केवल निर्माणमा मात्र होइन, सम्पूर्ण संरचनामा छ ।
दर्शकको श्वाद बदलिँदै
२०८२ सालले एउटा महत्वपूर्ण संकेत दिएको छ कि नेपाली दर्शक बदलिँदै छन् । अब उनीहरू केवल मनोरञ्जन मात्र होइन, सम्बन्ध, समाज र यथार्थसँग जोडिएको कथा खोजिरहेका छन् । ‘परान’ र ‘आ बाट आमा’ को सफलता यसको स्पष्ट उदाहरण हो । यस्ता चलचित्रले देखाए कि भावनात्मक गहिराइ भएको कथा अझै पनि बजारमा सबैभन्दा बलियो हुन्छ ।
२०८३ का लागि के सिकाइ?
अब प्रश्न उठ्छ कि २०८३ सालमा कस्तो चलचित्र बनाउँदा सफल हुन सकिन्छ ?
१. कथामुखी चलचित्र (ऋयलतभलत–मचष्खभल ाष्mिक) ः दर्शकलाई छुने कथा बिना सफलता सम्भव छैन । सामाजिक यथार्थ, परिवार, माइग्रेशन, युवा मनोविज्ञान जस्ता विषयमा गहिरो काम गर्न आवश्यक देखिन्छ ।
२. मौलिकता र स्थानीयता ः ऊनको स्वीटर जस्ता चलचित्रले देखाएझैँ स्थानीय कथा र संस्कृति नै नेपाली चलचित्रको पहिचान हो । नक्कलभन्दा मौलिकताले दीर्घकालीन प्रभाव पार्छ ।
३. मध्यम बजेट, बलियो प्रस्तुति ः अत्यधिक लगानी गरेर जोखिम लिनुभन्दा सन्तुलित बजेटमा गुणस्तरीय चलचित्र बनाउनु अहिलेको आवश्यकता हो ।
४. नयाँ विधा र प्रयोग ः अञ्जिला जस्ता प्रयासले देखाएझैँ बायोपिक, खेलकुद, थ्रिलर र यथार्थवादी ड्रामा जस्ता विधामा अझै ठूलो सम्भावना छ ।
५. प्रभावकारी मार्केटिङ ः डिजिटल प्लेटफर्म, ट्रेलर रणनीति र सामाजिक सञ्जालको प्रयोग बिना चलचित्र सफल हुन कठिन देखिएको छ ।
६. वितरण सुधार आवश्यक ः साना र राम्रो चलचित्रलाई पनि उचित शो र स्थान दिनुपर्ने माग चलचित्रकर्मीहरूले उठाउँदै आएका छन् । यसतर्फ पनि ध्यान जान सक्नुपर्ने देखिन्छ ।
नयाँ वर्ष, नयाँ सोच
२०८२ सालले नेपाली चलचित्र उद्योगलाई स्पष्ट सन्देश दिएको छ कि दर्शक बदलिएका छन्, अब चलचित्र पनि बदलिनै पर्छ । यदि २०८३ सालमा पनि पुरानै सूत्रमा चलचित्र बनाइयो भने धेरै चलचित्रहरू ‘इन्दिरा, धिमे, मैचा’ जस्तै ओझेलमा पर्ने जोखिम रहनेछ ।
यदि निर्माताहरूले ‘परान’ जस्तो भावनात्मक गहिराइ, ‘ऊनको स्वीटर’ जस्तो मौलिकता र ‘अञ्जिला’ जस्तो नयाँपनलाई समेट्न सके, नेपाली चलचित्र उद्योगले आगामी वर्षहरूमा अझ सुदृढ र प्रतिस्पर्धी रूप लिन सक्छ ।
