कथाः मौन प्रवचन

Nayabimarsha (Weekly Newspaper from Nepal)

सामसोन गुरुङ
गुड फ्राइडेको बिहान—आकाशमा उज्यालो त थियो, तर त्यो उज्यालोमा कुनै उत्साह थिएन । जस्तो लाग्थ्यो, सूर्य आफैं पनि आज केही थाकेको छ, केही मौन छ ।
शहरको बीचमा उभिएको एउटा भव्य गिर्जाघर— सधैंझैं उचाइमा अटल, तर आज उसको अस्तित्वमै एउटा अदृश्य गम्भीरता झुन्डिएको थियो । ढोकाहरू खुलेका थिए, तर ती ढोकाबाट भित्र पस्ने प्रत्येक पाइला मानौँ कुनै उत्सवमा होइन, कुनै मौन स्वीकृतिमा प्रवेश गरिरहेको थियो । भित्र पस्ने हरेक अनुहारमा हाँसोको छाया थिएन—त्यहाँ थियो केवल स्मरणको भार, अन्तर्मनको कम्पन,र कुनै अदृश्य पीडासँगको नजिकको सम्बन्ध ।
आज कुनै पर्वको कोलाहल थिएन । आज कुनै बाजा बज्दैनथ्यो,न त उल्लासका स्वरहरू गुञ्जिन्थे । आज त केवल मौन बोलिरहेको थियो—गहिरो, गम्भीर, आत्मालाई छुन सक्ने मौन ।
गिर्जाघरभित्र बिस्तारै मानिसहरू भरिँदै गए । काठका पुराना लामो बेन्चहरू जसले वर्षौँदेखि प्रार्थनाका असंख्य कथा बोकेका थिए, फेरि एकपटक नयाँ पीडाहरू, नयाँ प्रार्थनाहरू, नयाँ मौनहरूलाई अँगाल्दै थिए । कतै कसैले टाउको झुकाएको थियो—जस्तो लाग्थ्यो, ऊ केवल प्रार्थना गरिरहेको छैन, बरु आफ्नो जीवनका अधुरा अध्यायहरूलाई स्वीकार गरिरहेको छ ।कतै कसैले आँखा चिम्लेको थियो—तर ती आँखा भित्र, स्मृतिहरूको एउटा लहर चलिरहेको थियो— पीडा, पछुतो, प्रेम र क्षमाको मिश्रण ।
प्रत्येक व्यक्ति आफ्नै संसारमा थियो, तर त्यो मौनमा सबैको आत्मा कुनै एउटै केन्द्रतिर तानिएको थियो—त्यो केन्द्र, जहाँ पीडा प्रेममा परिणत हुन्छ, र बलिदान अनन्त अर्थमा बदलिन्छ ।
आज स्मरणको दिन थियो—केवल इतिहासको होइन, तर आफ्नै भित्रको क्रुसको पनि । गिर्जाघरको भित्तामा टाँसिएको क्रुसमाथि येशु ख्रीष्टको आकृति आज झनै जीवित देखिन्थ्यो—उनका आँखा बन्द थिए, तर त्यही बन्द आँखाभित्र संसारका अनगिन्ती कथाहरू सास फेरिरहेका थिए । र त्यही मौन, त्यही गहिराइ, त्यही स्मरणको बीचमा— कसैको मनमा एउटा प्रश्न जन्मिन लागेको थियो…”के बलिदान केवल इतिहास हो, कि आज पनि हामीभित्र कतै दोहोरिइरहेको छ?”
पल्पिटतिर उभिएका पादरीले बिस्तारै आफ्नो टाउको झुकाए । उनको स्वर सुरु हुनुअघि नै गिर्जाघरभित्रको मौन अझ गहिरो भयो—जस्तो लाग्थ्यो, हरेक सास पनि प्रार्थनाको लयमा बाँधिएको छ ।
“हे पिता…” उनको स्वर न त ठूलो थियो, न त सानो— तर त्यसमा एउटा अदृश्य कम्पन थियो, जसले सुन्ने हरेक हृदयभित्रको कुनै न कुनै चिरा छोइरहेको थियो । त्यो प्रार्थना शब्दभन्दा बढी अनुभूति थियो—जस्तो कुनै थाकेको आत्माले अन्ततः आफ्नो भार राख्ने ठाउँ पाएको होस् । प्रार्थनापछि केही क्षणको मौन आयो । त्यो मौन खाली थिएन—त्यो भरिएको थियो आभाषित स्वीकारोक्तिहरूले, अधुरा पश्चात्तापहरूले,र क्षमाको प्रतीक्षामा रहेका मनहरूले । अचानक, भजनको स्वर बिस्तारै उठ्न थाल्यो— धेरै ठूलो होइन, तर गहिरो… अत्यन्त गहिरो । त्यो स्वरले गिर्जाघरको छानो छुन खोजेन, बरु सिधै मानिसहरूको आत्माभित्र पस्न खोज्यो । हरेक शब्द, हरेक लय जस्तो क्रुसतिर फर्किरहेको थियो— त्यस ठाउँतिर, जहाँ पीडा र प्रेम एकैचोटि जन्मिएका थिए । कसैको ओठ हल्लिरहेको थियो, तर आवाज निस्किरहेको थिएन । कसैको आँखाबाट आँसु बगिरहेको थियो, तर उसले आँखा पुछ्ने प्रयास पनि गरिरहेको थिएन । किनकि त्यो क्षणमा, आँसु पनि प्रार्थनाकै एउटा रूप बनेको थियो । भजन थामिँदा गिर्जाघरभित्रको हावा झन् भारी भयो— जस्तो समय केही बेरका लागि रोकिएको छ । पादरीले फेरि पल्पिट समाते । उनको आँखामा गम्भीरता थियो— तर त्यो गम्भीरता कठोर थिएन, बरु करुणाले भरिएको थियो ।
“आज…” उनले बिस्तारै भने, “हामी केवल घटना सम्झिरहेका छैनौँ – हामी एउटा सत्यसँग साक्षात्कार गरिरहेका छौँ ।” उनको स्वर अब प्रवचनमा परिणत भयो—तर त्यो उपदेश जस्तो लागेन, बरु कुनै पुरानो घाउ खोल्दै त्यसलाई शान्त रूपमा देखाइरहेको जस्तो लाग्थ्यो । उनले क्रुसका पीडादायक घटनाहरू, एक–एक गर्दै सम्झाउन थाले— नाटकीयताविना, तर गहिरो संवेदनासहित । त्यसपछि, गिर्जाघरको वातावरण फेरि बदलियो—जब उनले येशु ख्रीष्टका क्रुसबाट उच्चारित सात वाणीहरूलाई एक–एक गर्दै उच्चारण गर्न थाले । पहिलो वाणी—क्षमाको । “हे पिता, यिनीहरूलाई क्षमा गर…” त्यो वाक्य गिर्जाघरको भित्तामा ठोक्किएर फर्किएन— त्यो सिधै मानिसहरूको अन्तरमनमा पस्यो । कतै कसैले टाउको अझ झुकायो,कतै कसैले आँखा अझ कडा गरी चिम्लियो । दोस्रो वाणी— आशाको । तेस्रो— सम्बन्धको ।
प्रत्येक वाणी जस्तो कुनै अदृश्य ढोका खोल्दै गइरहेको थियो— मानिसहरूको भित्र लुकेका स्मृतिहरू, दोषबोध, र अधुरा प्रेमहरूतिर ।
जब चौथो वाणी आयो— त्यो पीडाको चरम स्वर थियो । त्यस स्वरले गिर्जाघरको मौनलाई चिरेर सीधै हृदयको गहिराइमा पुग्यो । पाँचौँ, छैटौँ… र अन्तिम—सातौँ वाणी । प्रत्येक वाणीपछि गिर्जाघर झन् मौन बन्दै गइरहेको थियो— जस्तो शब्दहरू सकिँदै छन्, तर अनुभूति झन् बढ्दै छ । त्यो क्षणमा, त्यो गिर्जाघर केवल एउटा भवन रहेन— त्यो एउटा जीवित साक्षी बन्यो— पीडा, प्रेम, क्षमा र बलिदानको । र मानिसहरू… उनीहरू अब केवल श्रोता रहेनन्—उनीहरू आफैं पनि आफ्नो–आफ्नो अदृश्य क्रुस बोकेका पात्रहरू बनेका थिए । त्यही गहिरो मौनको बीचमा, कुनै एक आत्माले फेरि प्रश्न ग¥यो— “यदि उहाँले त्यति पीडामा पनि क्षमा गर्न सक्नु भयो भने… म किन सक्दिनँ?”
“हात र खुट्टामा किला ठोकियो… काँडाको मुकुटले निधार चिरेर रगत बग्यो… र अन्त्यमा कोखामा भाला घोचियो…”
पादरीको श्वर अब केवल वर्णन थिएन— त्यो पीडाको प्रत्यक्ष अनुभूति जस्तो भासिइरहेको थियो ।
हरेक शब्द जस्तो क्रुसमाथिको क्षणलाई फेरि जीवित बनाउँदै थियो ।
गिर्जाघरभित्र सास रोकिने जस्तो शान्ति छायो । त्यो शान्ति डरको थिएन, बरु कुनै गहिरो सत्यसँग साक्षात्कारको थियो— जस्तो सबैले एकैचोटि आफ्नो अन्तरमनमा केही देखिरहेका छन्, तर त्यसलाई शब्द दिन सकिरहेका छैनन् । त्यसपछि, पादरीको स्वर फेरि उठ्यो—
पहिलो वाणी… “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्…” । शब्दहरू उच्चारित भए केही बेर बिराम लाग्यो— तर ती केवल सुनिएनन्, ती हृदयमा ओर्लिए । त्यो विराम समयभन्दा लामो लाग्यो । जस्तो सारा संसार केही क्षणका लागि थामिएको छ— केवल त्यो एउटा वाक्यलाई मानव आत्माले बुझ्नको लागि ।
त्यही मौनको बीचमा— गिर्जाघरको पुरानो काठको ढोका बिस्तारै कराउँदै खुल्यो । सबैको ध्यान एकैपटक त्यतैतिर तानियो । ढोकाबाट एक व्यक्ति भित्र प्रवेश गरे— सजिएको पोशाक, गम्भीर अनुहार, र उपस्थितिमा नै एउटा प्रभाव झल्किने । उनी शहरका परिचित अनुहार थिए— धन, शक्ति र प्रतिष्ठाले चिनिने । जसको नाम लिँदा मानिसहरू आदरले टाउको हल्लाउँथे, तर कहिलेकाहीँ डरले पनि ।
उनको प्रवेशसँगै गिर्जाघरको मौनमा हल्का तरङ्ग उठ्यो । कतिपयले आँखा उठाएर हेरे, कतिपयले आपसमा नजर साटे— जस्तो कुनै असामान्य कुरा भएको हो । अगाडि बसेका केही विश्वासीहरूले सविनय संकेत गरे— “यहाँ आउनुहोस्…” तर उनले टाउको बिस्तारै हल्लाए ।
त्यो हल्लाइमा कुनै अहंकार थिएन, बरु एउटा अनौठो नम्रता थियो— जस्तो उनी आफूलाई आज अरूभन्दा माथि राख्न चाहँदैनथे । उनको दृष्टि गिर्जाघरभरि एकछिन घुम्यो— र अन्ततः बीचको खाली स्थानमा अडियो । त्यो स्थान जहाँ साधारण मानिसहरू बसेका थिए— कामदार, वृद्ध, थाकेका अनुहारहरू, र मौन प्रार्थनामा हराएका आत्माहरू । उनले त्यतैतिर इशारा गरे— र बिस्तारै त्यहाँ गएर बसे । काठको बेन्चले हल्का आवाज ग¥यो— तर त्यो आवाज पनि त्यो गहिरो मौनमा विलीन भयो । उनी बस्नेबित्तिकै उनको अनुहारको गम्भीरता अझ स्पष्ट देखिन थाल्यो । उनको आँखामा कुनै बाहिरी संसारको चमक थिएन—बरु एउटा भित्री संघर्ष थियो,कुनै अदृश्य बोझ, जसले उनलाई यहाँसम्म ल्याएको थियो । त्यो क्षणमा, उनको पहिचान—धनाढ्य, प्रभावशाली, शक्तिशाली— सबै बिस्तारै पग्लिन थाले । उनी केवल एक मानिस बने—आफ्नै अपराधबोध, आफ्नै प्रश्नहरू, र सायद… क्षमाको खोजीमा । र त्यही बेला,पल्पिटबाट फेरि आवाज आयो— येशु ख्रीष्टको दोस्रो वाणी शुरु हुँदै थियो…गिर्जाघर फेरि मौन भयो—तर अब त्यो मौनमा एउटा नयाँ कथा पनि जन्मिँदै थियो… प्रवचन अघि बढ्दै गयो— पादरीको श्वर अब गहिरो अनुभूतिमा डुबेको थियो । “प्रेम… बलिदान बिना पूर्ण हुँदैन…” उनले बिस्तारै भने, जस्तो हरेक शब्दलाई आत्माले छानेर बोलिरहेको हो ।
“र क्षमा… क्षमा त्यो शक्ति हो, जसले घाउलाई इतिहासमा बदल्न सक्छ, र मानिसलाई फेरि मानिस बनाइदिन सक्छ…”। गिर्जाघरभित्र सबैजना ध्यानमग्न थिए । कसैको टाउको झुकेको, कसैको आँखा चिम्लिएको—तर सबैको मन एउटै अदृश्य यात्रामा निस्किएको थियो । बीच–बीचमा प्रार्थनाका लागि घुँडा टेक्ने समय आयो । पादरीले संकेत गरे— र बिस्तारै, एकपछि अर्को गर्दै सबैजना घुँडा टेक्न थाले ।
काठका बेन्चहरू हल्का कर्कश आवाज निकाल्दै मानिसहरूको भार स्वीकार्दै थिए— जस्तो वर्षौंदेखि मानिसहरूको पीडा र प्रार्थनालाई थामिरहेकै छन् । त्यो धनाढ्य व्यक्ति पनि केही क्षण हिच्किचाए—उनको अनुहारमा एउटा अदृश्य द्वन्द्व झल्कियो । तर अन्ततः, उनले पनि टाउको झुकाएर बिस्तारै घुँडा टेक्ने प्रयास गरे । त्यो क्षण— जस्तो उनी पहिलोपटक आफ्नो सम्पूर्ण अहंकारबाट तल झर्दै थिए । तर अचानक— बीचको बेन्चमा सानो हलचल भयो । पहिले हल्का… त्यसपछि तीव्र । “रगत आयो…!” कसैको स्वर काँप्दै निस्कियो ।
के भयो…?” अरू केही स्वरहरू उठे— मौनलाई चिर्दै, गहिरो शान्तिलाई भंग गर्दै ।
त्यो धनाढ्य व्यक्तिको अनुहार अचानक विकृत भयो— आँखा कडा भएर बन्द भए, ओठ थरथराए । उनी पीडाले कराइरहनु भएको थियो— त्यो कराहट केवल शारीरिक पीडाको थिएन, जस्तो कुनै गहिरो भित्री चोट अचानक बाहिर निस्किएको हो ।
बेन्चको किनारमा निस्किएको एउटा धारिलो, पुरानो (किला) काँटीको भाग उनको घुँडामा गहिरो गरी गाडिएको थियो । रगत बग्न थाल्यो— पहिले थोपाथोपामा, त्यसपछि स्पष्ट धारमा । काठ र रगतको त्यो मिलन अचानक सबैको ध्यान खिच्न थाल्यो—जस्तो क्रुसको कुनै सानो प्रतिरूप त्यहीँ उपस्थित भएको हो ।
गिर्जाघरको शान्ति एकैचोटि भंग भयो । “एम्बुलेन्स बोलाउनुहोस् !”
“छिटो… अस्पताल लैजानुपर्छ !” मानिसहरू हतारिए— कतै फोन निकालियो, कतै रुमालले रगत रोक्ने प्रयास गरियो । केही क्षणअघिसम्म मौनमा डुबेका ती हातहरू अब हतार र चिन्तामा चल्न थाले । दुई जना अगाडि आए— सावधानीपूर्वक उनलाई समाते । उनको शरीर अझै काँपिरहेको थियो, आँखामा पीडाको आँधी थियो । उनीहरूले बिस्तारै उनलाई उठाएर गिर्जाघरको ढोकातिर लगे । ढोका बाहिर आपतकालीन साईरन बजाउदैं एम्बुलेन्स खडा थियो ।
ढोका फेरि खुल्यो— यसपटक कराउँदै होइन, हतारिँदै । उनी बाहिर लगिए— त्यो गहिरो, पवित्र मौनबाट अचानक चिच्याहट र हतारको संसारतिर ।
गिर्जाघरभित्र मानिसहरू स्तब्ध उभिए— कसैको प्रार्थना अधुरै रोकिएको थियो, कसैको आँखा अझै बन्द थियो, तर मन अब पूर्ण रूपमा विचलित ।
पल्पिटमा उभिएका पादरी पनि केही क्षण मौन रहे— उनको हात खुला नै रह्यो, जस्तो कुनै अधुरो वाक्य अचानक रोकिन पुगेको हो ।
त्यस क्षणमा, सबैले एउटै कुरा महसूस गरे— कहिलेकाहीँ, प्रवचन शब्दले मात्र होइन, जीवनले पनि दिइरहेको हुन्छ । त्यो दिन… त्यो गिर्जाघरभित्र प्रवचन अझै सकिएको थिएन । (गान्तोक)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *