रुषा थापा
भक्तपुर/ पछिल्ला केही महिनायता नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना शाखा कार्यालयहरू बन्द गर्ने, एकआपसमा गाभ्ने र कर्मचारी कटौती गर्ने क्रम तीव्र बनाएका छन् । बैंकहरूले यसलाई “व्यवस्थापन सुधार” वा “सञ्चालन खर्च नियन्त्रण” को प्रयास भने पनि यसले वित्तीय क्षेत्रभित्र गहिरिँदै गएको संकटको संकेत दिएको विश्लेषण हुन थालेको छ ।
केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थाहरूबीच बचतकर्ता आकर्षित गर्न तीव्र प्रतिस्पर्धा थियो । बैंकहरूले १३ देखि १६ प्रतिशतसम्म ब्याज दिने गर्थे भने सहकारी, लघुवित्त र फाइनान्स कम्पनीहरूले २० प्रतिशतभन्दा बढी प्रतिफलको लोभ देखाएर बचत संकलन गर्थे । बचतकर्तालाई तीर्थयात्रा, सम्मान कार्यक्रम, स्वास्थ्य परीक्षणदेखि जन्मदिनमा केक काट्नेसम्मका आकर्षक कार्यक्रम सञ्चालन गरिन्थ्यो । त्यसले सर्वसाधारणमा वित्तीय संस्थाप्रति अत्यधिक विश्वास बढायो ।
त्यही विश्वासका आधारमा लाखौं नागरिकले आफ्नो जीवनभरको कमाइ मात्र होइन, कतिपयले पुख्र्यौली सम्पत्तिसमेत बेचेर सहकारी तथा वित्तीय संस्थामा रकम जम्मा गरे । शुरुका वर्षहरूमा उनीहरूले प्रतिफल पनि पाए । पछि धेरै सहकारी सञ्चालकहरूले बचतकर्ताको रकम जोखिमपूर्ण र अव्यवस्थित क्षेत्रमा लगानी गरेपछि स्थिति बिग्रँदै गयो । अहिले देशभर हजारौं सहकारी समस्याग्रस्त बनेका छन् भने धेरै बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् ।
यही संकटको छाया अहिले बैंकिङ क्षेत्रमा समेत देखिन थालेको विश्लेषकहरू बताउँछन् । विशेषगरी घरजग्गा, सवारीसाधन र शेयर बजारमा अत्यधिक कर्जा प्रवाह गर्नु अहिले बैंकहरूकै लागि ठूलो चुनौती बनेको छ । एक समय कृत्रिम रूपमा बढेको घरजग्गा र शेयरको मूल्यलाई आधार बनाएर बैंकहरूले ठूलो मात्रामा ऋण प्रवाह गरे । धितो मूल्यांकनका आधारमा ७० देखि ८० प्रतिशतसम्म कर्जा दिइयो ।
पछिल्ला पाँच वर्षयता घरजग्गा र शेयर बजारमा आएको मन्दीले ती धितोको मूल्य घटाएको छ । ऋणीहरूले किस्ता तिर्न नसक्ने अवस्था बढ्दो छ भने कालोसूचीमा पर्ने ऋणीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । बैंकहरूले धितो लिलामी गर्दा समेत साँवा र ब्याज उठाउन कठिन भइरहेको अवस्था देखिएको छ ।
यता, विश्वव्यापी आर्थिक अस्थिरता र इन्धन मूल्यवृद्धिले सवारीसाधन क्षेत्र पनि प्रभावित बनेको छ । नेपालमा करोडौं रुपैयाँका गाडीहरू कर्जामा किनिएका छन् । तर, पेट्रोलियम पदार्थमा निर्भर अर्थतन्त्र र बढ्दो इन्धन संकटले भविष्यमा ती सम्पत्तिको वास्तविक मूल्य कति रहला भन्ने प्रश्न उठ्न थालेको छ ।
वित्तीय क्षेत्रका जानकारहरूका अनुसार अहिले बैंकहरूले शाखा मर्ज गर्नु, नयाँ भर्ती रोक्नु, कर्मचारी कटौती गर्नु तथा निक्षेपको ब्याजदर घटाउनु सामान्य व्यवस्थापन प्रक्रिया मात्र होइन, नाफा खुम्चिँदै गएको अवस्थाको संकेत पनि हो । बैंकहरूले सञ्चालन खर्च घटाएर संस्थालाई टिकाइराख्ने प्रयास गरिरहेका छन् ।
बचतकर्ताहरूमा पनि चिन्ता बढ्न थालेको छ । सहकारी क्षेत्रमा देखिएको संकटले सर्वसाधारणको विश्वास कमजोर बनाएको अवस्थामा बैंकहरूले पनि निरन्तर संरचनात्मक कटौती गर्न थालेपछि वित्तीय क्षेत्रप्रति आशंका बढेको देखिन्छ । यद्यपि, बैंकहरू सहकारीजस्तो अवस्थामै पुग्ने निष्कर्ष निकाल्न हतार हुने जानकारहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकको नियमन, पूँजी संरचना तथा जोखिम व्यवस्थापनका कारण बैंकहरू अझै तुलनात्मक रूपमा सुरक्षित मानिन्छन् ।
दीर्घकालीन रूपमा वित्तीय क्षेत्रलाई स्थायित्व दिन उत्पादनशील क्षेत्रमा लगानी बढाउनु, अनुत्पादक क्षेत्रमा अत्यधिक कर्जा प्रवाह रोक्नु तथा पारदर्शी वित्तीय अनुशासन कायम गर्नु आवश्यक देखिएको छ । अन्यथा, कृत्रिम मूल्यवृद्धिमा आधारित अर्थतन्त्रले भविष्यमा अझ ठूलो संकट निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन् ।
अर्थतन्त्रमा मन्दी गहिरिँदै जाँदा अहिलेको अवस्था बैंक तथा वित्तीय संस्थाका लागि मात्र होइन, समग्र आर्थिक प्रणालीकै लागि चुनौतीपूर्ण मोडका रूपमा हेरिएको छ ।
