कौशल कुमार भट्टराई
मानिस स्वभावैले घुमन्ते प्राणी हो । सभ्यताको आरम्भदेखि नै ऊ नयाँ ठाउँ खोज्दै, नयाँ परिवेश बुझ्दै र नयाँ अनुभव बटुल्दै अगाडि बढिरहेको छ । यही यात्राले मानिसलाई ज्ञान दिएको छ, चेतना दिएको छ र जीवनलाई अझ फराकिलो बनाएको छ । यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने प्रक्रिया मात्र होइन, यो त अनुभूति, अवलोकन र आत्मबोधको माध्यम पनि हो । यही अनुभवलाई साहित्यिक रूप दिएर प्रस्तुत गरिने विधा नै नियात्रा हो ।
धेरै मानिस यात्रा गर्छन्, तर सबैले नियात्रा लेख्न सक्दैनन् । नियात्रा केवल यात्राको विवरण होइन । यो त यात्राको क्रममा देखिएका दृश्य, भेटिएका मानिस, सुनेका कथा, अनुभव गरिएका भावनाहरू र मनमा उठेका विचारहरूको कलात्मक अभिव्यक्ति हो । एउटा राम्रो नियात्रा पढ्दा पाठकले आफू पनि लेखकसँगै बाटोमा हिँडिरहेको, उही दृश्य हेरिरहेको र उही अनुभूति गरिरहेको अनुभव गर्नुपर्छ । त्यसैले नियात्रा लेख्नु भनेको यात्रा वर्णन गर्नु मात्र होइन, यात्रालाई साहित्यमा रूपान्तरण गर्नु हो ।
नियात्रा लेख्न चाहने व्यक्तिले सबैभन्दा पहिले यात्रा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ । एउटै बाटोबाट सयौं मानिस हिँड्न सक्छन्, तर सबैले एउटै कुरा देख्दैनन् । कसैले केवल गन्तव्य देख्छ, कसैले बाटो देख्छ र कसैले बाटोभित्र लुकेका कथाहरू देख्छ । नियात्राकार भने त्यही व्यक्ति हो, जसले अरूले सामान्य ठानेका कुरामा पनि असाधारण अर्थ खोज्न सक्छ । बाटोछेउको पुरानो चौतारो, वर्षौंदेखि उभिएको बरको रुख, चिया पसलमा बसेका वृद्धहरू, खेतमा काम गरिरहेका किसान वा पहाडको फेदीमा खेलिरहेका बालबालिका, यी सबै नियात्राका सम्भावित पात्र हुन् । नियात्राको सौन्दर्य यिनै स–साना दृश्यहरूबाट निर्माण हुन्छ ।
राम्रो नियात्राका लागि अवलोकन शक्ति अत्यन्त आवश्यक हुन्छ । यात्रामा निस्कँदा केवल आँखाले हेर्नु पर्याप्त हुँदैन, मनले पनि हेर्नुपर्छ । उदाहरणका लागि, कुनै हिमाली गाउँ पुगेपछि त्यहाँ हिउँ परेको छ भन्ने कुरा मात्र लेख्नु नियात्रा होइन । त्यो हिउँले गाउँको जीवनमा कस्तो प्रभाव पारेको छ ? स्थानीय मानिसहरू त्यससँग कसरी अभ्यस्त भएका छन् ? त्यहाँको वातावरणले यात्रुलाई कस्तो अनुभूति गराउँछ ? यस्ता प्रश्नहरूको उत्तर खोज्दा मात्र नियात्रा जीवन्त बन्छ ।
नियात्रामा प्रकृतिको वर्णन महत्त्वपूर्ण पक्ष हो । प्रकृतिको वर्णन भनेको केवल सुन्दर, रमणीय र मनमोहक जस्ता विशेषणहरूको थुप्रो लगाउनु होइन । पाठकको मनमा दृश्यको चित्र बन्ने गरी वर्णन गर्नुपर्छ । उदाहरणका लागि, “पहाड सुन्दर थियो” भन्नुभन्दा “साँझको घामले पहाडको टुप्पोलाई सुनौलो बनाइदिएको थियो, मानौँ प्रकृतिले आफैंले सुनको मुकुट पहि¥याइदिएकी हो” भन्नु बढी प्रभावकारी हुन्छ । नियात्रामा शब्दहरूले चित्र कोर्न सक्नुपर्छ ।
यात्राको क्रममा भेटिने मानिसहरू नियात्राका सबैभन्दा जीवन्त पक्ष हुन् । कुनै ठाउँलाई बुझ्न त्यहाँको भूगोल मात्र पर्याप्त हुँदैन, त्यहाँका मानिसहरूलाई पनि बुझ्नुपर्छ । कुनै वृद्ध किसानको संघर्षको कथा, कुनै भरियाको जीवन, कुनै होटल सञ्चालकको अनुभव वा कुनै बालकको सपना—यस्ता प्रसङ्गहरूले नियात्रालाई केवल यात्रा विवरणबाट माथि उठाएर मानवीय दस्तावेज बनाइदिन्छन् । कहिलेकाहीँ एउटा छोटो संवादले पनि सम्पूर्ण नियात्रालाई अर्थपूर्ण बनाउन सक्छ ।
नियात्रामा लेखक स्वयं पनि उपस्थित हुनुपर्छ । आखिर यात्रा लेखकले नै गरेको हुन्छ । त्यसैले उसले के देख्यो, के महसुस ग¥यो र के सोच्यो भन्ने कुरा पनि नियात्रामा आउनुपर्छ । कुनै मठमन्दिर पुग्दा मनमा जागेको श्रद्धा, कुनै ऐतिहासिक स्थल हेर्दा उत्पन्न भएको जिज्ञासा, कुनै गरिब बस्ती देख्दा महसुस भएको पीडा वा कुनै प्राकृतिक दृश्यले दिएको आनन्द जस्ता कुरा सबै लेखकका व्यक्तिगत अनुभूति हुन् । यिनै अनुभूतिले नियात्रालाई आत्मीय बनाउँछन् ।
व्यक्तिगत अनुभूति व्यक्त गर्दा आत्मकेन्द्रित हुनु हुँदैन । नियात्रा लेखकको आत्मकथा होइन । पाठकले पनि आफूलाई त्यस अनुभवसँग जोड्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । लेखकले आफूलाई केन्द्रमा राखेर होइन, अनुभवलाई केन्द्रमा राखेर लेख्नुपर्छ । जब लेखकको अनुभूति सार्वभौमिक भावनामा रूपान्तरित हुन्छ, तब पाठकले पनि त्यसलाई आफ्नै अनुभूति ठान्न थाल्छ ।
नियात्राको भाषा सरल, स्वाभाविक र प्रवाहपूर्ण हुनुपर्छ । अत्यधिक क्लिष्ट शब्दहरूको प्रयोगले पाठकलाई थकित बनाउँछ । त्यसैगरी अत्यधिक अलङ्कार र कृत्रिम शैलीले पनि लेखनको स्वाभाविकता हराउन सक्छ । राम्रो नियात्रा नदीको पानीजस्तै बग्नुपर्छ । कहीँ अड्किएजस्तो नलाग्ने, कहीँ बोझिलो नहुने । पाठकले पढ्दै जाँदा अर्को अनुच्छेदमा के छ भन्ने उत्सुकता कायम रहनुपर्छ ।
नियात्रा लेख्दा तथ्यगत सत्यताप्रति पनि सचेत हुनुपर्छ । साहित्यिक शैली अपनाउन सकिन्छ, तर तथ्यलाई तोडमोड गर्नु हुँदैन । कुनै स्थानको इतिहास, संस्कृति वा भूगोलबारे लेख्दा यथासम्भव सही जानकारी प्रस्तुत गर्नुपर्छ । नियात्राको आधार वास्तविक अनुभव हो, कल्पना होइन । कल्पनाले वर्णनलाई सुन्दर बनाउन सक्छ, तर सत्यलाई प्रतिस्थापन गर्न सक्दैन ।
नियात्राको अर्को महत्त्वपूर्ण पक्ष यसको संरचना हो । नियात्रा शुरुदेखि अन्त्यसम्म एकै किसिमले अगाडि बढ्नु हुँदैन । कहिले दृश्य आउनुपर्छ, कहिले संवाद, कहिले जानकारी र कहिले अनुभूति । यी सबैको सन्तुलित संयोजनले नियात्रालाई रोचक बनाउँछ । पाठकले केवल जानकारी मात्र होइन, अनुभव पनि पाउनुपर्छ ।
नियात्रा एउटा यस्तो साहित्यिक विधा हो, जसले लेखकलाई मात्र होइन, पाठकलाई पनि यात्रा गराउँछ । राम्रो नियात्रा पढिसकेपछि पाठकले कुनै नयाँ ठाउँबारे जानकारी मात्र प्राप्त गर्दैन, उसले एउटा अनुभव पनि प्राप्त गर्छ । उसले नयाँ मानिसहरू भेट्छ, नयाँ संस्कृति चिन्छ, नयाँ दृश्य देख्छ र कहिलेकाहीँ आफ्नै जीवनलाई नयाँ ढङ्गले हेर्न थाल्छ ।
त्यसैले नियात्रा लेख्न चाहने व्यक्तिले यात्रालाई केवल दूरी नाप्ने माध्यमका रूपमा होइन, जीवन बुझ्ने अवसरका रूपमा लिनुपर्छ । जब यात्राले मन छुन्छ, जब दृश्यहरू केवल आँखामा सीमित नरही हृदयमा बस्छन्, जब बाटोले केवल गन्तव्य होइन, अनुभूति पनि दिन्छ, तब त्यही यात्राबाट उत्कृष्ट नियात्राको जन्म हुन्छ । नियात्रा अन्ततः यात्रा गरिएको ठाउँको मात्र कथा होइन, त्यो त यात्राका क्रममा बदलिएको मनको कथा पनि हो ।
