हाम्रा परम्परागत खानाको महत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)
रोशन ज्ञवाली

मानिसको स्वास्थ्य, जीवनशैली र आयुमा सबैभन्दा ठूलो प्रभाव पार्ने तत्वमध्ये खानपान पनि एक हो । स्वस्थ शरीर, सन्तुलित मानसिक अवस्था र सक्रिय जीवनका लागि पोषणयुक्त भोजन अपरिहार्य मानिन्छ । नेपाली समाजमा परम्परादेखि प्रयोग हुँदै आएका विभिन्न प्रकारका खाद्य पदार्थ केवल पेट भर्ने साधन मात्र होइनन्, ती स्वास्थ्य संरक्षणका महत्वपूर्ण आधार पनि हुन् । पछिल्ला वर्षहरूमा फास्ट फुड, जंक फुड तथा प्रशोधित खाद्य पदार्थहरूको प्रयोग बढ्दै गए पनि नेपाली भान्सामा पाइने परम्परागत खानाको महत्व भने अझै कम भएको छैन । बरु आधुनिक स्वास्थ्य विज्ञानले पनि हाम्रा धेरै परम्परागत खानाहरू पोषणका दृष्टिले अत्यन्त उपयोगी रहेको पुष्टि गरिरहेको छ ।
नेपाली भान्साको सबैभन्दा सामान्य र लोकप्रिय भोजन दाल, भात र तरकारी हो। धेरै नेपालीको दिन यही भोजनबाट शुरु वा समाप्त हुन्छ । चामलबाट प्राप्त हुने कार्बोहाइड्रेटले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ भने दालमा पाइने प्रोटिनले शरीरको वृद्धि, मांसपेशीको विकास तथा कोषहरूको पुनर्निर्माणमा सहयोग पु¥याउँछ । तरकारीले शरीरलाई आवश्यक भिटामिन, खनिज तथा रेसा उपलब्ध गराउँछ । त्यसैले दाल, भात र तरकारीलाई सन्तुलित भोजनको उत्कृष्ट उदाहरण मानिन्छ। यदि यसमा सलाद, दही वा फलफूलसमेत समावेश गरियो भने शरीरलाई आवश्यक अधिकांश पोषक तत्व प्राप्त हुन सक्छन् ।
दाल नेपाली भान्साको अभिन्न हिस्सा हो । मुसुरो, मास, रहर, मुगी, चना तथा केराउका दालहरू विभिन्न क्षेत्रमा प्रयोग गरिन्छन् । दालमा प्रशस्त मात्रामा प्रोटिन, फलाम, फोलिक एसिड तथा विभिन्न खनिज पदार्थ पाइन्छन् । विशेष गरी शाकाहारीहरूका लागि दाल प्रोटिनको प्रमुख स्रोत हो । नियमित रूपमा दाल सेवन गर्दा शरीरमा ऊर्जा बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । मुटुको स्वास्थ्यका लागि समेत दाल लाभदायक मानिन्छ ।
भातसँगै नेपाली घरहरूमा ढिँडोको प्रयोग पनि व्यापक छ । विशेष गरी कोदो, फापर, मकै वा अन्य स्थानीय अन्नबाट बनाइने ढिँडो पोषणका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । कोदोमा क्याल्सियमको मात्रा उच्च हुने भएकाले हड्डी मजबुत बनाउन सहयोग पुग्छ । फापरमा पाइने विभिन्न पोषक तत्वले रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥याउँछन् । मकैमा पर्याप्त रेसा हुने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग मिल्छ । आजकल मधुमेह र मोटोपनको समस्या बढ्दै गइरहेका बेला ढिँडो जस्ता परम्परागत खानाको महत्व झन् बढेको छ ।
नेपाली भान्साको अर्को महत्वपूर्ण पक्ष सागसब्जी हो । पालुङ्गो, रायो, तोरी, मेथी, बोडी, करेला, फर्सी, लौका, भिण्डी, काउली, बन्दाकोपीदेखि स्थानीय जंगलमा पाइने विभिन्न सागहरू स्वास्थ्यका लागि लाभदायक मानिन्छन् । सागसब्जीमा भिटामिन ए, सी, के, फलाम, क्याल्सियम तथा विभिन्न एन्टिअक्सिडेन्ट पाइन्छन् । यी तत्वहरूले आँखाको स्वास्थ्य सुधार्ने, रगतको गुणस्तर बढाउने तथा शरीरलाई विभिन्न रोगबाट जोगाउने काम गर्छन् । नियमित रूपमा हरियो सागसब्जी सेवन गर्ने मानिसमा मुटुरोग, मधुमेह तथा केही प्रकारका क्यान्सरको जोखिम कम हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
दही पनि नेपाली भोजन संस्कृतिको महत्वपूर्ण हिस्सा हो । दहीमा पाइने लाभदायक जीवाणुले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग पु¥याउँछन् । यसमा क्याल्सियम, प्रोटिन र भिटामिन बी समूहका तत्व प्रशस्त मात्रामा पाइन्छन् । गर्मी मौसममा दही सेवन गर्दा शरीरलाई शीतलता प्राप्त हुन्छ भने पाचन प्रक्रियामा समेत सुधार आउँछ । विशेष गरी घरमै बनाइएको दही स्वास्थ्यका लागि अझ लाभदायक मानिन्छ ।
दूध र दूधजन्य पदार्थहरू पनि हाम्रो खानपानको अभिन्न भाग हुन् । दूधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी तथा अन्य पोषक तत्व पाइन्छन् । बालबालिकाको वृद्धि विकासदेखि वृद्धावस्थासम्म दूध उपयोगी मानिन्छ । घ्यू, मोही, छुर्पी तथा पनिर जस्ता परिकारहरू पनि नेपाली समाजमा लोकप्रिय छन् । यद्यपि घ्यूको अत्यधिक प्रयोग स्वास्थ्यका लागि उपयुक्त नहुन सक्छ, तर सन्तुलित मात्रामा सेवन गर्दा यसले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ ।
गुन्द्रुक नेपाली मौलिक खानाको प्रतीक जस्तै बनेको छ । सागलाई सुकाएर तयार गरिने गुन्द्रुकमा विभिन्न खनिज तथा पोषक तत्व पाइन्छन् । यसको झोल वा अचारले भोजनको स्वाद बढाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग पु¥याउँछ । त्यसैगरी सिन्की, मासको गेडागुडी, भटमास, तामा लगायतका परम्परागत परिकारहरू पोषणका दृष्टिले उपयोगी मानिन्छन् । भटमासमा उच्च मात्रामा प्रोटिन पाइने भएकाले यो शरीरका लागि निकै लाभदायक खाद्य पदार्थ मानिन्छ ।
फलफूलको महत्व पनि उत्तिकै छ । नेपालमा केरा, सुन्तला, कागती, स्याउ, आँप, अम्बा, मेवा, अनार, लिची लगायतका विभिन्न फलफूल पाइन्छन् । फलफूलमा पाइने भिटामिन, खनिज र प्राकृतिक चिनीले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । विशेष गरी भिटामिन सीयुक्त फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । चिकित्सकहरूले दैनिक भोजनमा कम्तीमा एक वा दुई प्रकारका फलफूल समावेश गर्न सुझाव दिने गरेका छन् ।
मसला पनि नेपाली भान्साको विशेषता हो । बेसार, जिरा, धनियाँ, अदुवा, लसुन, मेथी तथा टिमुर जस्ता मसला स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छन् । बेसारमा पाइने करक्युमिन तत्वले शरीरमा हुने सूजन कम गर्न मद्दत गर्छ । अदुवा र लसुनले पाचन प्रणालीलाई सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउँछन् । लसुनलाई मुटुको स्वास्थ्यका लागि समेत लाभदायक मानिन्छ ।
परम्परागत नेपाली खानाहरूको सबैभन्दा ठूलो विशेषता तिनको प्राकृतिक स्वरूप हो । अधिकांश परिकार स्थानीय स्तरमा उत्पादन भएका अन्न, तरकारी तथा फलफूलबाट तयार गरिन्छन् । यसमा रासायनिक पदार्थ, कृत्रिम रंग वा अत्यधिक प्रशोधनको प्रयोग कम हुने भएकाले स्वास्थ्यका लागि अपेक्षाकृत सुरक्षित मानिन्छन् । यसको विपरीत आजकल लोकप्रिय बन्दै गएका जंक फुड, चाउचाउ, अत्यधिक चिल्लो तथा चिनी भएका पेय पदार्थहरूले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढाइरहेका छन् । मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगहरू बढ्नुमा असन्तुलित खानपान पनि एउटा प्रमुख कारण मानिन्छ ।
स्वस्थ भोजनका लागि केवल राम्रो खाना खानु मात्र पर्याप्त हुँदैन । सन्तुलित मात्रा, नियमित समय र विविधतायुक्त भोजन पनि उत्तिकै आवश्यक हुन्छ । कुनै एउटा खाद्य पदार्थले मात्र शरीरलाई आवश्यक सबै पोषक तत्व उपलब्ध गराउन सक्दैन । त्यसैले अन्न, दाल, तरकारी, फलफूल, दूधजन्य पदार्थ तथा पर्याप्त पानीको सन्तुलित प्रयोग गर्नुपर्छ । अत्यधिक नून, चिनी तथा तेलको प्रयोग कम गर्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
वास्तवमा भन्ने हो भने हाम्रा परम्परागत खानाहरू केवल संस्कृतिको हिस्सा मात्र होइनन्, स्वस्थ जीवनका बलिया आधार पनि हुन् । दाल, भात, तरकारी, ढिँडो, गुन्द्रुक, दही, दूध, फलफूल तथा विभिन्न स्थानीय परिकारहरूले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । आधुनिक जीवनशैलीको प्रभावसँगै विदेशी खानाप्रति आकर्षण बढ्दै गए पनि आफ्नै भान्सामा रहेका पौष्टिक र स्वास्थ्यवर्धक खानाको महत्व बिर्सनु हुँदैन । स्वस्थ शरीर, सक्रिय जीवन र दीर्घायुका लागि हाम्रा परम्परागत खानाहरू आज पनि उत्तिकै उपयोगी र आवश्यक छन् । नेपाली भान्साको यही समृद्ध परम्परालाई जोगाउँदै सन्तुलित र पोषणयुक्त भोजनको अभ्यास गर्न सके स्वस्थ समाज निर्माणतर्फ महत्वपूर्ण कदम चाल्न सकिनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *