देवघाट : जहाँ नदीसँगै आस्था बग्छ

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई
नेपालको धार्मिक भूगोलमा केही यस्ता ठाउँ छन्, जसको परिचय कुनै एउटा मन्दिर, एउटा पर्व वा एउटा धार्मिक परम्पराले मात्र पूरा हुँदैन । ती ठाउँ आफैंमा एउटा जीवन्त संस्कृति हुन्, जहाँ इतिहासले वर्तमानसँग संवाद गरिरहेको हुन्छ, प्रकृतिले अध्यात्मलाई साथ दिइरहेको हुन्छ र मानिसले आफ्नो सांसारिक व्यस्तताबाट केही समय अलग भएर जीवन, मृत्यु र मोक्षबारे सोच्ने अवसर पाउँछ । चितवन, तनहुँ र नवलपुरको भूगोललाई जोडेर बसेको देवघाट त्यस्तै एउटा अद्वितीय भूमि हो । यहाँ नदीहरू मात्र भेटिँदैनन्, मानिसका आस्था, विश्वास, संस्कार र जीवनका अनेक अनुभूति पनि एकै ठाउँमा आएर मिसिन्छन् ।
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटको सबैभन्दा पहिलो परिचय हो । दुई नदीको मिलनपछि नारायणीको रूपमा अघि बढ्ने जलप्रवाहले यहाँको भौगोलिक स्वरूपलाई विशेष बनाएको छ । अझ कालीगण्डकी आफैं शालिग्रामका कारण हिन्दू धर्मावलम्बीका लागि पवित्र मानिने नदी भएकाले यसको त्रिशूलीसँगको संगमलाई धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । बिहानको समयमा नदीमाथि फैलिएको कुहिरो, किनारमा सुनिने मन्त्र–उच्चारण, स्नानका लागि पुग्ने श्रद्धालु र आश्रमबाट निस्कने भजनको धुनले देवघाटलाई सामान्य नदीकिनारभन्दा धेरै माथि उठाएर एउटा आध्यात्मिक अनुभूतिको भूमि बनाइदिन्छ ।
देवघाटको महत्त्व आजको पुस्ताले निर्माण गरेको होइन । यसको धार्मिक चर्चा प्राचीन हिन्दू धार्मिक परम्परासँग जोडिएको छ । विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा देवघाट क्षेत्रसँग सम्बन्धित प्रसंग पाइने विश्वास छ । यही धार्मिक पृष्ठभूमिले कालान्तरमा यस क्षेत्रलाई साधुसन्त, योगी, तपस्वी र धार्मिक अध्येताहरूको आकर्षणको केन्द्र बनायो । नदीको शान्त किनार, वनजंगलको वातावरण र एकान्त साधनाका लागि अनुकूल प्राकृतिक अवस्थाले देवघाटलाई तपोभूमिको स्वरूप दिँदै गयो ।
समय बित्दै जाँदा यहाँ मठ, मन्दिर र आश्रमहरू स्थापना भए । साधुसन्तहरूको बसोबास बढ्यो । धार्मिक अनुष्ठान, प्रवचन, पूजा, पाठ र सत्सङ्गको परम्परा विस्तार भयो । त्यसैले आज देवघाट पुग्दा एउटै ठाउँमा धेरै किसिमका धार्मिक जीवन देख्न सकिन्छ । कतै बिहानै नदीमा स्नान गर्ने श्रद्धालु हुन्छन्, कतै वेदका मन्त्र गुञ्जिरहेका हुन्छन्, कतै साधुसन्त ध्यानमा मग्न देखिन्छन् भने कतै आश्रममा भोजनको व्यवस्था भइरहेको हुन्छ । धर्म यहाँ केवल मन्दिरभित्र सीमित छैन, दैनिक जीवनकै एउटा अभ्यास बनेर बसेको छ ।
देवघाटको धार्मिक आकर्षणसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष यहाँको साधुसन्त परम्परा हो । जीवनको उत्तरार्धमा सांसारिक मोहबाट टाढा रहेर साधना गर्न चाहने मानिसहरूका लागि देवघाट लामो समयदेखि आकर्षणको केन्द्र रहँदै आएको छ । देशका विभिन्न भागबाट आएका साधु–सन्त मात्र होइन, भारतलगायत अन्य स्थानबाट आउने धार्मिक व्यक्तिहरूको उपस्थितिले पनि यहाँको आध्यात्मिक वातावरणलाई अझ व्यापक बनाएको छ । कतिपय मानिस आफ्नो जीवनको अन्तिम समय देवघाटमै बिताउन चाहन्छन् । मृत्यु र मोक्षसँग जोडिएको धार्मिक विश्वासले देवघाटलाई जीवनको अन्तिम यात्रासँग समेत जोडेको छ ।
देवघाटको जीवन केवल वृद्ध साधु र धार्मिक कर्मकाण्डमा मात्र सीमित छैन । यहाँ धर्मसँगै सेवाको परम्परा पनि विकसित भएको छ । विभिन्न आश्रम र धार्मिक संस्थाले शिक्षा, भोजन, स्वास्थ्य, वृद्ध सेवा तथा अन्य सामाजिक गतिविधि सञ्चालन गर्दै आएका छन् । धार्मिक स्थलको वास्तविक अर्थ मानिसलाई केवल पूजा गर्न लगाउनु होइन, दुःखमा परेकालाई साथ दिनु र समाजप्रति जिम्मेवार बनाउनु पनि हो भन्ने मान्यतालाई देवघाटका कतिपय संस्थाले व्यवहारमा उतारिरहेका छन् । यस दृष्टिले देवघाट धर्म र सामाजिक सेवाको संगमका रूपमा पनि स्थापित हुँदै गएको छ ।
देवघाटको सबैभन्दा ठूलो धार्मिक उत्सव भने माघे सङ्क्रान्ति हो । माघे सङ्क्रान्तिको समयमा यहाँ देखिने दृश्य आफैंमा एउटा विशाल धार्मिक संस्कृतिको चित्रजस्तो हुन्छ । देशका विभिन्न ठाउँबाट हजारौं श्रद्धालु देवघाट आइपुग्छन् । नदीमा स्नान गर्ने, पूजा गर्ने, दान गर्ने र साधुसन्तको दर्शन गर्नेहरूको भीडले सम्पूर्ण क्षेत्रलाई धार्मिक मेलामा परिणत गर्छ । नदी किनारमा अस्थायी संरचना थपिन्छन्, धार्मिक संस्थाहरू सक्रिय हुन्छन् र स्थानीय बजारमा समेत चहलपहल बढ्छ । माघे सङ्क्रान्ति देवघाटका लागि केवल धार्मिक पर्व होइन, स्थानीय अर्थतन्त्र चलायमान बनाउने एउटा महत्वपूर्ण अवसर पनि हो ।
देवघाटको धार्मिक जीवन माघे सङ्क्रान्तिमा मात्र सीमित छैन । वर्षभरि यहाँ कुनै न कुनै धार्मिक गतिविधि भइरहन्छ । पूजापाठ, कथा, प्रवचन, भजन–कीर्तन, यज्ञ, साधना, धार्मिक शिक्षा र विभिन्न पर्वका अवसरमा हुने कार्यक्रमले देवघाटलाई निरन्तर सक्रिय राख्छन् । यही निरन्तर धार्मिक गतिविधिका कारण देवघाटलाई …मेला लाग्दा मात्र सम्झिने तीर्थÚ भन्दा …वर्षभरि जीवन्त रहने आध्यात्मिक केन्द्रÚ का रूपमा बुझ्नुपर्ने आवश्यकता छ ।
देवघाटको अर्को शक्ति यसको प्रकृति हो । नदीको संगम, हरियाली, वरपरका वन क्षेत्र र शान्त वातावरणले धार्मिक अनुभूतिलाई अझ गहिरो बनाउँछन् । बिहान सूर्य उदाउँदै गर्दा नदीको पानीमा देखिने प्रकाश र साँझ अस्ताउँदै गरेको सूर्यको छायाले देवघाटलाई प्राकृतिक सौन्दर्यको दृष्टिले पनि आकर्षक बनाउँछ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको यही मेलले देवघाटलाई धार्मिक पर्यटनका लागि असाधारण सम्भावना भएको स्थान बनाएको छ ।
नेपालमा धार्मिक पर्यटनको चर्चा प्रायः पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर वा मनकामनासँग जोडिन्छ । तर देवघाटको आफ्नै विशिष्टता छ । यहाँ तीर्थयात्रा मात्र होइन, आश्रम जीवन हेर्न सकिन्छ, नदीको संगम अनुभव गर्न सकिन्छ, साधुसन्तको दिनचर्या बुझ्न सकिन्छ, धार्मिक संस्कृतिसँग परिचित हुन सकिन्छ र प्रकृतिसँग केही समय बिताउन सकिन्छ । त्यसैले देवघाटलाई व्यवस्थित ढंगले विकास गर्न सकिए यो स्वदेशी मात्र होइन, विदेशी आध्यात्मिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ ।
सम्भावना जति ठूलो छ, चुनौती पनि त्यत्तिकै गम्भीर छन् । तीर्थयात्रीको संख्या बढ्दै जाँदा फोहोर व्यवस्थापन, नदी संरक्षण, खानेपानी, सार्वजनिक शौचालय, पार्किङ, यातायात, सुरक्षा, आवास र व्यवस्थित बजारको आवश्यकता बढिरहेको छ । धार्मिक क्षेत्रको विकास गर्ने नाममा जथाभावी संरचना थपिँदै जाने हो भने देवघाटको मौलिक स्वरूप नै प्रभावित हुन सक्छ । नदी किनारमा फोहोर थुप्रिन थाल्यो, प्लास्टिकको प्रयोग बढ्यो र प्राकृतिक क्षेत्र अतिक्रमण हुँदै गयो भने देवघाटको सबैभन्दा ठूलो सम्पत्ति अर्थात् यसको प्राकृतिक र आध्यात्मिक वातावरण नै कमजोर बन्न सक्छ ।
यसैलाई ध्यानमा राखेर पछिल्लो समय देवघाटमा संरक्षण र व्यवस्थापनका प्रयासहरू पनि अघि बढिरहेका छन् । देवघाटलाई प्लास्टिकमुक्त बनाउने अभियान, धार्मिक संस्थाको व्यवस्थापनका लागि स्थानीय तहबाट कानुनी व्यवस्था, सरसफाइ तथा वातावरण संरक्षणका प्रयास र धार्मिक क्षेत्रको समग्र विकासका लागि संस्थागत पहललाई सकारात्मक रूपमा लिनुपर्छ । यस्ता कामलाई कुनै अभियान वा कार्यक्रमको समयसम्म मात्र सीमित नराखी दीर्घकालीन नीति र व्यवहारमा रूपान्तरण गर्न भने आवश्यक छ ।
देवघाट गाउँपालिकाले स्थानीय पहिचानसँग नयाँ पुस्तालाई जोड्ने उद्देश्यले …हाम्रो देवघाटÚ जस्ता स्थानीय पाठ्यक्रम अघि बढाउनु पनि महत्वपूर्ण पक्ष हो । देवघाटको इतिहास, संस्कृति, धार्मिक परम्परा, भूगोल र स्थानीय जीवनबारे आफ्नै विद्यालयका विद्यार्थीले सिक्नु भनेको भविष्यका पुस्तालाई आफ्नो सम्पदाको जिम्मेवारी हस्तान्तरण गर्नु हो । आफ्नो ठाउँको महत्त्व नबुझेको पुस्ताले त्यसको संरक्षण गर्न सक्दैन । त्यसैले विद्यालय तहदेखि नै देवघाटको ज्ञान र पहिचानसँग बालबालिकालाई जोड्नु दीर्घकालीन संरक्षणको आधार बन्न सक्छ ।
अब देवघाटको विकासलाई केवल मन्दिर र आश्रम निर्माणको विषयमा सीमित राख्नु हुँदैन । आधुनिक धार्मिक पर्यटनका लागि आवश्यक पूर्वाधार पनि विकास गर्नुपर्छ । वृद्ध तथा अशक्त तीर्थयात्रीका लागि सहज आवागमन, सुरक्षित स्नानस्थल, व्यवस्थित पार्किङ, पर्याप्त शौचालय, स्वच्छ खानेपानी, स्वास्थ्य तथा उद्धार सेवा, सूचना केन्द्र र आवासको गुणस्तरीय व्यवस्था आवश्यक छ । त्यस्तै नदी किनारको संरक्षणलाई प्राथमिकतामा राख्दै पैदलमार्ग, विश्रामस्थल र हरियाली क्षेत्र विकास गर्न सकिन्छ ।
देवघाटको विकासमा प्रविधिको प्रयोगले पनि नयाँ सम्भावना खोल्न सक्छ । यहाँका मन्दिर, आश्रम, धार्मिक परम्परा र ऐतिहासिक स्थलका बारेमा नेपाली, हिन्दी र अंग्रेजीलगायत भाषामा डिजिटल सूचना तयार गर्न सकिन्छ । धार्मिक पर्यटकले मोबाइलबाटै कुन स्थान कहाँ छ, त्यसको इतिहास के हो, कहाँ बस्न सकिन्छ, कहाँ भोजन पाइन्छ र आपत्कालीन अवस्थामा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी पाउने व्यवस्था गर्न सकिन्छ । यसले देवघाटलाई आधुनिक पर्यटकको आवश्यकतासँग जोड्न सहयोग पु¥याउनेछ ।
त्यसैगरी देवघाटको आर्थिक विकासलाई स्थानीय समुदायसँग जोड्नु पनि उत्तिकै आवश्यक छ । धार्मिक पर्यटक बढेपछि होटल, होमस्टे, स्थानीय खानाका परिकार, हस्तकला, धार्मिक सामग्री, स्थानीय कृषि उत्पादन र अन्य सेवाको बजार विस्तार हुन सक्छ । तर यसको लाभ स्थानीय मानिससम्म पुग्न सके मात्र धार्मिक पर्यटनको वास्तविक अर्थ हुन्छ । देवघाटमा आउने तीर्थयात्रीले पूजा गरेर फर्किने मात्र होइन, स्थानीय उत्पादन किनेर, स्थानीय सेवा प्रयोग गरेर र स्थानीय संस्कृति बुझेर फर्किने वातावरण निर्माण गर्न सकिए धार्मिक पर्यटन स्थानीय अर्थतन्त्रको बलियो आधार बन्न सक्छ ।
तर विकासको यो दौडमा देवघाटको आत्मा हराउनु हुँदैन । देवघाटको शक्ति अग्ला भवन, चम्किला बजार वा भीडमा होइनÙ यसको शक्ति नदीको निरन्तर प्रवाहमा छ, आश्रमको शान्तिमा छ, साधुसन्तको साधनामा छ, मन्दिरको घण्टीमा छ, बिहानको मन्त्रमा छ र श्रद्धालुको विश्वासमा छ । त्यसैले यहाँ गरिने हरेक विकासका कामले एउटा प्रश्नको उत्तर खोज्नुपर्छ कि यसले देवघाटलाई आधुनिक बनाउँदैछ कि यसको मौलिकता मेटाउँदैछ ?
देवघाटलाई साँच्चिकै समृद्ध बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, देवघाट क्षेत्र विकास समिति, धार्मिक संस्था, आश्रम, स्थानीय समुदाय र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक छ । तीन जिल्लाको भूगोलसँग जोडिएको यस क्षेत्रको विकास पनि तीनै जिल्लाको साझा सरोकारका रूपमा अघि बढाउन सकिन्छ । नदी संरक्षण, सडक, सरसफाइ, पर्यटन, सुरक्षा र पूर्वाधारमा साझा योजना बन्न सके देवघाटको विकास अझ प्रभावकारी हुन सक्छ ।
अन्ततः देवघाट केवल एउटा तीर्थस्थल होइन, नेपाली समाजको धार्मिक स्मृति, सांस्कृतिक निरन्तरता र आध्यात्मिक चेतनाको जीवित प्रतीक हो । यहाँ मानिसहरू केवल पाप पखाल्न नदीमा डुबुल्की मार्न पुग्दैनन्Ù धेरै मानिस आफ्ना दुःख, थकान र सांसारिक बोझ केही समय किनारमै राखेर फर्किन्छन् । कसैका लागि देवघाट मोक्षको आशा हो, कसैका लागि साधनाको भूमि, कसैका लागि प्रकृतिको शान्त आँगन र कसैका लागि पुर्खादेखिको आस्थाको केन्द्र ।
नदीहरू निरन्तर बगिरहन्छन् । मानिस आउँछन्, जान्छन् । पुस्ता फेरिन्छन्, तर देवघाटको आस्था बगिरहन्छ । त्यसैले अबको चुनौती देवघाटलाई कति ठूलो बनाउने भन्ने होइन, यसलाई कति पवित्र, स्वच्छ, व्यवस्थित, जीवित र पुस्तौँपुस्तासम्म सुरक्षित राख्ने भन्ने हो । विकाससँगै यसको मौलिकता जोगाउन सकियो, धर्मसँगै सेवा जोड्न सकियो, पर्यटनसँगै स्थानीय जीवन समृद्ध बनाउन सकियो र आधुनिकतासँगै यसको आध्यात्मिक आत्मा बचाउन सकियो भने देवघाट नेपालकै होइन, दक्षिण एशियाकै महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्ने सामथ्र्य राख्छ ।
कालीगण्डकी र त्रिशूलीको मिलनबाट शुरु भएर नारायणी बनेर अघि बढ्ने नदीले एउटा सुन्दर सन्देश दिइरहेको जस्तो लाग्छ कि अलग–अलग धाराहरू आफ्नो अस्तित्व बोकेर आउँछन्, तर संगममा पुगेपछि एउटै प्रवाह बन्छन् । देवघाट पनि त्यही संगम हो—जहाँ प्रकृति, धर्म, संस्कृति, इतिहास, सेवा र मानवीय आस्था एउटै प्रवाहमा मिसिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *