नेपाली राजनीति तरलत बन्दै : उपगठबन्धनको त्रास कांग्रेस ‘पर्ख र हेर’ मा

Nayabimarsha (Weekly Newspaper from Nepal)

कौशल कुमार भट्टराई
भक्तपुर/ संघीय र प्रदेशसभाको निर्वाचन नजिकिंदै गर्दा नेपालको राजनीति झनै तरल बन्दै गएको छ । सत्तारुढ गठबन्धन रहेको अवस्थामा गठबन्धनकारी दलहरु नै विभिन्न मुख लिएर बोल्न थाल्दा राजनीतिक तरलता बढेको हो । वर्तमान अवस्थामा सत्तारुढ गठबन्धन एकातिर र प्रमुख प्रतिपक्षीसहितका दलहरु अर्कातिर भएर भावी निर्वाचनको तयारीमा जुट्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । त्यसो हुनुमा विभिन्न अवस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरुले त्यसलाई प्रभावित पारेको महसुस आम रुपमा हुन थालेको छ । सत्तारुढ दलका शीर्ष नेताहरु नै हरेकजसो भाषणहरुमा विभिन्न खाले अभिव्यक्ति दिन व्यस्त रहेका पाइएको अवस्थामा नेपालको राजनीतिलाई निश्चित मार्गमा रहेको देख्न नसकिएको हो ।
नेपालको राजनीति तरलतामा परिणत हुनुमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन प्रमुख कारक रुपमा देखिएको छ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले केही पालिकाहरुमा घोषित रुपमा गठबन्धन बनाएका थिए । गठबन्धन बनाइएका ठाउँहरुमा समेत कतिपय पदमा गठबन्धन अनुसारको नतिजा नआएको कारण गठबन्धनकारी दलहरु आन्तरिक छलफलमा रहेका छन् । उनीहरुको छलफलका कारण पनि ती दलका शीर्ष नेताहरु गठबन्धनको नतिजा प्रभावकारी बन्न नसकेको भनी आफूलाई कसरी अनुकुल वातावरण बन्न सक्ला भनी त्यस्ता अभिव्यक्तिहरु दिन थालेको अवस्था छ ।
त्यसरी गठबन्धन बनाए पनि वडा तहहरुमा भने गठबन्धन भएको थिएन । त्यसरी भएको गठबन्धनमा विभिन्न पदमा छुट्टाछुट्टै रुपमा मतदान गर्नुपर्ने अवस्थामा मतदाता पुगेका थिए । आपूmले समर्थन गरेको दलको चुनाव चिन्हमा मात्र मतदान गर्दै आएका उनीहरु यसरी विभिन्न पदमा विभिन्न चिन्हमा मतदान गर्नुपर्ने अवस्थामा अभ्यस्त हुन नसकेको अवस्था थियो । सोही कारण उनीहरुमा मतदान गर्न पनि समस्या रहेको स्थिति थियो ।
अभिवक्ता भवानीप्रसाद अधिकारी भन्छन्, ‘गठबन्धनको नाममा विभिन्न पदमा विभिन्न चिन्हमा मतदान गर्नुपर्ने अवस्थामा मतदाता शिक्षाको कमीका कारण पनि धेरैजसो मत बदर हुन पुगेका थिए । यसैगरी कतिपय स्थानमा गठबन्धन दलहरुले गरे पनि मतदाताहरुले भने गठबन्धन भन्दा पनि आफूले विश्वास गरेको दललाई मात्र मत दिएको अवस्थाले गर्दा केही स्थानहरुमा गठबन्धन सोचेजस्तो सफल बन्न सकेन ।’
‘त्यसो त नेपाली कांग्रेस ‘मास बेस’ दल भएका कारण पनि मतदानमा केही तलमाथि हुने अवस्था छ । कार्यकतामा आधारित दलहरुमा भने मतदान गराउने बारेमा दलले जे निर्देशन दिन्छ त्यसको पालना मतदाताले पनि गर्ने गर्दछन् किनकि उनीहरु मतदाता मात्र नभएर कार्यकर्ता नै हुने गर्दछन् । कांग्रेसमा भने मतदाता अलि बढी स्वतन्त्र हुने भएका कारण उनीहरुले आफूले चाहेका उम्मेदवारले आपूmखुशी मतदान गर्ने अवस्था रहन्छ ।’ अधिवक्ता अधिकारी थप्छन् ।
अधिवक्ता अधिकारीको कुरालाई विचार गर्ने हो भने मतदाता आफ्नो मताधिकारका लागि स्वतन्त्र हुन्छन् । उनीहरुलाई दलको निर्देशन मान्नुपर्दछ भन्ने कुनै दबाब पनि हुँदैन । यस्तै अवस्था कांग्रेसका मतदातामा रहेका कारण पनि कतिपय स्थानहरुमा कांग्रेस समर्थक मतदाताहरुले भनिएकै ठाउँमा मतदान नगरेको तथा भोलिका दिनमा पनि नगर्न सक्ने संभावना रहेको देखिन्छ ।
उता, गठबन्धनकारी अन्य दलका नेताहरुले कांग्रेस समर्थकले सोचे अनुसारको मतदान गठबन्धनकारी दलका उम्मेदवारहरुलाई नगरेको भनिरहँदा उनीहरुमै पनि त्यस्तो समस्था देखिएको छ । नेकपा (माओवादी केन्द्र) का मतदाता बढीमात्रामा इमान्दार देखिएको छ भने कांग्रेसले पनि माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउनका लागि पूर्ण रुपमा प्रयास गरेको देखिन्छ । भरतपुर महानगरपालिका लगायत जे जति स्थानहरुमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे ती स्थानहरुमा ७५ प्रतिशतभन्दा बढी सफलता मिलेको बताइएको छ ।
कांग्रेस र माओवादीको गठबन्धन सफल भए पनि अन्य दलले भने आफूहरुलाई गठबन्धनमा खासै सफलता नमिलेको भन्ने बुझेको अवस्था छ । खासगरी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बुझाइ आफूहरुमाथि घात भएको भन्ने छ । राजनीतिक वृत्तलाई नजिकबाट नियाल्दै आएका अमृत पुडासैनी भने उनीहरुको बुझाइ नै गलत रहेको विश्लेषण गर्दछन् । ती दलले आफ्नो वास्तविक हैसियत नबुझेका कारण त्यस्तो निक्र्यौल निकालेको भन्दै पुडासैनी भन्छन्, ‘एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बनेर खस्किएको जसपाले आफ्नो धरातल नबुझ्दा यस्तो आरोप लगाएका हुन् । उनीहरुको मतदाता नै कम रहेको अवस्थामा कांग्रेस वा माओवादीले जति नै मत दिंदा पनि नपुग्ने अवस्थामा उनीहरुको हार भएको हो । जे जति जित निकालेका छन् त्यो पनि गठबन्धनको बलले नै हो ।’
विश्लेषक पुडासैनीको कुरालाई मान्ने हो भने ती दलको जनाधार नै कमजोर भएर सोचे अनुसारको परिणाम नआएको हो । गठबन्धनले इमान्दारिता देखाएकै कारण पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, मण्डनदेउपुर नगरपालिका लगायतमा एकीकृत समाजवादीले जित निकाल्न सफल भएको हो । यसैगरी जसपाले पनि गठबन्धनको बलमै अधिकांश स्थानमा जित निकाल्न सफल भएको हो । जसपामा आएको विभाजनका कारण जसपा आफैं कमजोर अवस्थामा रहेकोले त्यो कुरामा पनि जसपाले आत्मसमिक्षा गर्नु आवश्यक देखिने कुरा गठबन्धनकारी दलका नेताहरुले बताउने गरेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचन परिणामबाट झस्किन पुगेका थिए । उनको सबैभन्दा बढी चासो आफ्नो छोरो उम्मेदवार बनेको विराटनगर महानगरपालिकामा रहेको थियो । उनको छोरा अमनेन्द्र यादव गठबन्धनका तर्फबाट विराटनगरको उपप्रमुखमा उम्मेदवार बनेका थिए । त्यस्तो अवस्थामा प्रमुखमा कांग्रेसका उम्मेदवारले जित्दा उपप्रमुखमा भने उनका छोरा पराजित भएका थिए । गठबन्धन भएका कारण मतदान गर्न समस्या परेका कारण उपप्रमुखमा धेरै नै मत बदर भएको थियो । उपप्रमुखमा जित निकालेको एमालेको उम्मेदवारले पाएको मतभन्दा पनि बढी मत बदर भएको थियो । यसरी बदर भएको मतमा अधिकांश मत गठबन्धनका उम्मेदवारको रहेको मतगणनामा संलग्नहरुले त्यो बेला नै सार्वजनिक गरेका थिए ।
यसैगरी विराटनगरको प्रमुखमा जसपाबाट टिकटको आशा गरेर बसेका उमेश यादवले टिकट पाएनन् । जसपाको केन्द्रीय सदस्य समेत रहेका यादवले टिकट नपाएपछि दलको सदस्यता समेत त्यागेर प्रमुखमा उम्मेदवारी दिएका थिए । उनले आठ हजार सात सय ९५ मत ल्याई तेस्रो बनेका थिए । उमेशले आफू स्वतन्त्रको हैसियतमा उम्मेदवार बन्दा उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेकी नमिता न्यौपानेलाई समर्थन गरेका थिए । उनीहरुले संयुक्त रुपमा प्रचार गरी एकअर्कालाई मत मागेका थिए । यस कारण उपेन्द्रका छोराले जसपाबाट पाउने मत पनि बाँडिन पुगेको थियो । उमेश यादवका समर्थकहरुले जसपाले आफ्नो भागमा राखेको मत पनि न्यौपानेलाई दिएका कारण अमरेन्द्रको हार हुन पुगेको यथार्थलाई उपेन्द्रले बुझ्न नसकेको बताइएको छ ।
गठबन्धन सोचनीय अवस्थामा
सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका शीर्ष नेताहरुले भोलिका दिनमा पनि गठबन्धन कायमै राख्ने भने पनि उपगठबन्धनको तयारी समेत गरेका छन् । कांग्रेस बाहेकका दलहरुले छुट्टै गठबन्धन बनाउने तयारी भैरहेको पनि समाचार छ । कांग्रेस समर्थक मतदाताले इमान्दारिता नदेखाएको भन्दै उनीहरु एमालेसँग पनि मिल्न नसक्ने एक्लै चुनावमा लड्न पनि नसक्ने अवस्थामा पुगेको स्थितिलाई मध्यनजर गरी उपगठबन्धन बनाउनेसम्मको सोचमा पुगेका बताइएको छ ।
माओवादी केन्द्र भने उपगठबन्धनमा लाग्ने भन्दा पनि त्यसको हल्ला चलाएर कांग्रेसबाट बढीभन्दा बढी स्थानका लागि मोलमोलाइ गर्ने नीतिमा रहेको पनि चर्चा छ । अन्य साझेदारहरुसँग खासै मत नरहेको अवस्था स्थानीय निर्वाचनमा देखिएको भन्दै माओवादी केन्द्रले कांग्रेससँग नै निकटता देखाउने भित्री नीति लिएको पनि स्रोतको दाबी छ ।
उता, कांग्रेस विनाको गठबन्धनमा गएका खण्डमा नेकपा (एकीकृत समाजवादी) ले खासै उपलब्धी हासिल गर्न नसक्ने कुरालाई पनि सो दलका नेताहरुले बुझेको बताइएको छ । उनीहरु पनि उपगठबन्धनको त्रास देखाएर कांग्रेससँगै बढी मोलमोलाई गर्ने मनस्थितिमा रहेको पनि समाचार स्रोतले जानकारी दिएको छ । प्युठान र बागलुङमा मात्र अलिक बढी हैसियत बनाएको राष्ट्रिय जनमोर्चाले ती जिल्लामा उपगठबन्धनबाट केही मात्रामा उपलब्धी निकाल्न सके पनि देशका अन्य भागबाट कांग्रेस विनाको उपलब्धी निकाल्न नसक्ने विश्लेषण गरेको छ ।
यसरी उपगठबन्धन गरिएका खण्डमा कांग्रेसले पनि आफ्नो तयारी गर्ने स्थिति आउन सक्छ । कांग्रेस भने समय र परिस्थितिलाई विश्लेषण गर्ने अवस्थामा रहेको छ । कांग्रेस अहिले ‘पर्ख र हेर’ को अवस्थामा बसी सबै पक्षको अवस्थालाई विश्लेषण गर्दै रहेको छ । कांग्रेसको मुख्य चाहना गठबन्धनमा रहेका दलहरु प्रतिपक्षी दल नेकपा (एमाले) सँग नपुगुन् भन्ने रहेको छ ।
कांग्रेस सकेसम्म सबैलाई समेटेर लाने पक्षमा रहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा हालको गठबन्धनलाई कायम राखी उचित हिसाबले भागबण्डा गर्ने मनस्थितिमा रहे पनि शेखर कोइराला लगायतका केही नेताहरु हालको गठबन्धनलाई तोडेर नै भए पनि एक्लै चुनावमा उठ्नुपर्ने मनस्थितिमा रहेका छन् । उनीहरुले समग्रमा कांग्रेसको अवस्थाको ख्याल नगरी आफ्नो केही जिल्लालाई मात्र हिसाब गरेर त्यस्तो मनस्थिति बनाएको अवस्थामा एमालेको स्थितिलाई भने रत्तिभर ख्याल नगरेको जस्तो देखिन्छ ।
उता, एमाले भने ‘फुटाउ र राज गर’ भन्ने नीति लिएर बसेको छ । एमालेको चाहना हालको गठबन्धन जसरी पनि टुटाउनु पर्दछ भन्ने रहेको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको स्थानीय निर्वाचन अघिको अहंकार पछिल्लो समय चकनाचुर भएको जस्तो देखिएको छ ।
त्यसैले एमालेले हालको गठबन्धनले आफ्नो दललाई आगामी निर्वाचनमा धुलो चटाउने विश्लेषण गरेको समाचार स्रोतले बताएको छ । उता, नेपालका कम्युनिष्टहरुलाई एकाताबद्ध गराउने नाममा आफ्नै नेतृत्वमा अर्को दल गठन गर्ने तयारीमा रहेका वामदेव गौतमसँग हिजो विहीबार ओलीले भेटवार्ता गरेका छन् । उनले गौतमलाई अघि सारेर आफ्नो अभीष्ट पूरा गर्ने चाहना राखेको पाइन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *