हैजाको नियन्त्रणमा समन्वय जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
काठमाडौं महानगरपालिका क्षेत्रमा हैजाको प्रकोप देखिन थालेपछि सर्वत्र चासो बढेको छ । देशको राजधानी रहेको काठमाडौँं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ । यसैगरी होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरिएको छ । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको जनाएको छ ।
पछिल्लो समयमा काठमाडौंका विभिन्न क्षेत्रमा हैजाका विरामीहरु देखिन थालेका कारण यस विषयलाई लिएर सरकार पनि संवेदनशील बनेको छ । यसैक्रममा शहरी स्वास्थ्य क्लिनिक र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी काठमाडौं महानगरपालिकाले तयारी अवस्थामा राखेको जनाएको छ । बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको पनि महानगरपालिकाले जनाएको छ । यसका लागि २४सै घण्टा ११८० हटलाइन टेलिफोन सञ्चालनमा ल्याइएको छ । हैजा जस्तो सरुवा रोगले काठमाडौंमा समस्या पार्न सक्ने अवस्थालाई ख्याल गर्दै महानगरपालिकाले यस्तो कार्य थालेको हो । महानगरपालिकाले हैजाको शुरुवाती समयमा नै नियन्त्रणका लागि प्रयास थालेको हो ।
राजधानी समेत रहेका कारण कुनै पनि सरुवा रोगका कारण काठमाडौंमा जोखिमको अवस्था आउने देखिन्छ । काठमाडौंमा बाहिरी जिल्लाका मानिसहरु समेत दैनिक रुपमा ठूलो मात्रामा आवतजावत गर्ने भएका कारण पनि यो संवेदनशील क्षेत्रमा पर्दछ । सरकारले समेत सरुवा रोगको विषयलाई लिएर संवेदनशीलता देखाएको पाइएको छ । काठमाडौंमा देखिएको यो समस्या समयमा नै नियन्त्रणमा लिन सकिएन भने यसले महामारीको रुप लिन सक्ने भएका कारण पनि यसलाई सबै क्षेत्रले एकदमै संवेदनशील रुपमा लिनुपर्ने अवस्था छ । अहिले शुरुवाती समयमा केही व्यक्तिहरुलाई समस्या देखिएका कारण यसलाई हल्का रुपमा लिने चेष्टा गरिनु हुँदैन । त्यसमाथि सरुवा रोगलाई हेलचेक्य्राइँ समेत गर्नु हुँदैन । पछिल्लो समय यो रोगको नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले बढी चासो देखाएको भए पनि त्यसमा सरकारको ध्यान झनै बढी रुपमा पुग्नुपर्ने देखिन्छ । काठमाडौंको समस्यालाई काठमाडौंको समस्याको रुपमा मात्र बुझ्नु हँुदैन । यसमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकारले समेत समस्यालाई समयमै बुझ्ने प्रयास गर्नुपर्ने हुन्छ । यो विषयलाई समयमै गंभीर रुपमा लिई रोग फैलाउन सक्ने अवस्थाको जोखिममा रहेका क्षेत्रहरुमा सावधानी अपनाउनु जरुरी देखिन्छ । एउटा निकायले अर्को निकायको मुख ताक्ने भन्दा पनि समन्वय गरी समयमै यसको निराकरणको लागि लागि हाल्नुपर्ने अवस्था देखिन्छ । विरामीको उपचारको सम्पूर्ण व्यवस्था सरकारले निःशुल्क रुपमा गर्ने भनी घोषणा पनि गरिनुपर्दछ । त्यसो गरियो भने मात्र रोगको संक्रमणमा परेको आशंका भएमा मात्र पनि मानिसले आफ्नो परीक्षणको लागि चासो देखाउने अवस्था रहन्छ । त्यसैले यो कुरालाई तीनै तहको सरकारले एक आपसमा समन्वय गरी समाधानका लागि साझा प्रयास थाली रोगको निदानका लागि कदम चालिहाल्नु पर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *