माओवादीमा पदाधिकारी बन्न हानाथाप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटिको तेस्रो बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटि सदस्यको टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मेहम्मे परेको छ । पदाधिकारीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।
माओवादीको विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छजना उपाध्यक्ष, एक महासचिव, दुईजना उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था छ । गत २०७८ पुसमा सम्पन्न आठौँ राष्ट्रिय महधिवेशनमा टुङ्गो लगाउनुपर्ने अध्यक्षबाहेक १४ जना पदाधिकारीहरु आकांक्षी धेरै हुँदा महाधिवेशन सम्पन्न भएको सात महिना बित्न लाग्दा पनि टुङ्गो लाग्न सकेको छैन ।
पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मातृकाप्रसाद यादव र कृष्णबहादुर महराले दाबी गरेका छन् । श्रेष्ठ यसअघि पनि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी, उपाध्यक्ष पदमा देवप्रसाद गुरुङ, पम्फा भुसाल, उर्मिला अर्याल र लीलामणि पोखरेलले दाबी गरेको समाचार स्रोतले बताएको छ ।
अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको रस्साकस्सी चलेको छ । यसैगरी, उपमहासचिवमा शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र हरिबोलप्रसाद गजुरेलले दाबी गरेको बताइएको छ ।
माओवादी अध्यक्ष दाहालले दललाई पुरानै अवस्थामा फर्काउन प्रदेश र संघीय संसद्को चुनावमा ससाना टुक्रामा विभाजन भएका बाबुराम भट्टराई, मोहन वैद्य, सी.पी. गजुरेल, नेत्रविक्रम चन्द, गोपाल किराँतीलगायतका दलहरुलाई एकता गर्न पहल गरेका छन् । माओवादी घटकहरु एक ठाउँमा आउन बृहत् सैद्धान्तिक बहस चलाए पनि सत्तास्वार्थका कारण असम्भव रहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
पूर्वमाओवादीहरु फेरि मिलेर दाहाललाई नै सत्ताको नेतृत्व सुम्पिन तितरवितर भएकाहरु तयार नहुने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *