गठबन्धनमा बाँडफाँडको खाका कोरिंदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ गत असार २७ गतेदेखि श्रावण २ गतेसम्म चलेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आठ दिनपछि सकिएको छ । बैठकमा केन्द्रीय सदस्यहरु र पदाधिकारीहरुले बोल्ने क्रममा घोचपेच, घुर्कीलगायतका कुराहरु राखे पनि अन्तिममा गठबन्धन गरेर संघ र प्रदेशको चुनावमा जान एकमत भएका हुन् । श्रावण मसान्तसम्म भ्रातृ संस्थाहरुलाई पूर्णता दिने र आगामी भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापीरुपमा चुनाव लक्षित विशेष अभियान चलाउने निर्णयसमेत कांग्रेसले गरेको छ ।
आगामी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कुल एक सय ६५ सिटमध्ये काँग्रेसले बढीमा सय र घटीमा ९० सिटसम्म लिएर गठबन्धन गर्ने काँग्रेस स्रोतले बताएको छ । समानुपातिकबाट २०७४ मा जस्तै ४० सिट जिते काँग्रेस ठूलो दल बन्नेछ । नेकपा (एमाले) ले २०७४ मा जितेको ठाउँमा गठबन्धन गर्ने र २०७४ कै आधारमा गठबन्धन गर्दा माओवादीलाई ३६, नेकपा एकीकृत समाजवादीलाई १३, उपेन्द्र यादव (जसपा) १०, बाबुराम भट्टराईलाई २, राष्ट्रिय जनमोर्चालाई १ र अन्य खुद्रे दललाई तीन सिट दिँदा सिट ठ्याक्कै मिल्ने भनी चर्चा चलेको छ ।
२०७४ का बिजेता र उपविजेता संख्याका आधारमा काँग्रेसले एक सय १० सिटभन्दा बढी ल्याउने अवस्था रहे पनि सय सिटमा चित्त बुझाउँदा न्यायोचित हुने काँग्रेसका जानकारहरुले बताएका छन् । २०७४ मा एमालेले ८०, माओवादीले ३६, काँग्रेसले २३, संघीय समाजवादी फोरमले १०, राजपाले ११ र अन्य साना दल र स्वतन्त्रले छ सिट जितेका थिए ।
देशका ७७ वटा जिल्लाहरुमध्ये ३५ वटा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले गठबन्धन गरी भाग लगाउन अप्ठ्यारो हुने देखिन्छ । हाल २१ जिल्लामा दुई–दुईवटा निर्वाचन क्षेत्र, तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लाहरु सात र चारवटा निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको संख्या नौ रहेका छन् । यसैगरी झापा, रुपन्देही र कैलालीमा ५–५ वटा निर्वाचन क्षेत्र तथा मोरङमा छ र काठमाडौँमा १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।
काँग्रेसका दुईजना उपसभापति, दुईजना महामन्त्री, आठजना सहमहामन्त्रीहरु र एक सय १३ जना केन्द्रीय सदस्यहरु निर्वाचनमा खट्ने र तेरो–मेरो, घात–प्रतिघात, अन्तरघात नगरी लाग्ने हो भने काँग्रेसको भविष्य उज्ज्वल रहेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *