दलहरु आ–आफ्नै रणनीतिमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा हुने तयारीमा सरकार लागि रहेको हालको अवस्थामा राजनीतिक दलहरु भने आ–आफ्नै रणनीति बनाउन लागिपरेका छन् । उनीहरुले गत स्थानीय तहको निर्वाचनको मत तथा जितलाई आधार बनाउँदै विभिन्न किसिमका नीति तथा योजना बनाई विभिन्न विकल्पमा लागेको अवस्था छ । खासगरी निर्वाचनलाई केन्द्रित भएर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र तराई केन्द्रित राजनीति गर्दै आएका दलहरु रहेका छन् ।
सरकार संचालकको प्रमुख हिस्सेदारको रुपमा रहेको कांग्रेसको हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट पारित निर्णयका कारण सत्तारुढ गठबन्धनमा रहेका केही दलहरु कांग्रेसलाई दबाब दिनका लागि विभिन्न कसरतमा रहेका बताइएको छ । कांग्रेसले आगामी निर्वाचनमा आफ्नो दललाई पहिलो दलको रुपमा निर्वाचित गराउने तथा आगामी दिनमा सरकारको नेतृत्व समेत गर्ने निर्णय सार्वजनिक गरेको थियो । कांग्रेसले आफ्नो अनुकुलको निर्णय लिने कुरालाई सहज रुपमा लिनुको साटो अन्य दलहरुले भने विभिन्न आशंकाका रुपमा लिएका छन् ।
खासगरी कांग्रेसको जगमा उभिएको नेकपा (एकीकृत समाजवादी) र कांग्रेसलाई तर्साएर भए पनि बढी सिट लिन सकिने आशामा रहेको माओवादी केन्द्रले कांग्रेसलाई घुक्र्याउन थालेका छन् । कांग्रेसले लिएको निर्णयले सत्ता गठबन्धनलाई आगामी निर्वाचन पछि पनि लान सकिने अवस्था नरहेको भन्ने बुझाइमा उनीहरु पुगेका छन् ।
उनीहरु कांग्रेसबाट बढी भाग खोज्नका लागि अहिले समाजवादी केन्द्र स्थापना गरी साझा उम्मेदवारको खोजीमा लाग्ने तयारीमा जुटेका छन् । यस्तो तयारीमा माओवादी केन्द्र र एकीकृत समाजवादी बढी लागिपरेका छन् । उनीहरुले कम्युनिष्टको नाममा समाजवादी केन्द्रलाई अघि सारेर अन्य कम्युनिष्ट घटकहरुलाई पनि साथ लिने सोचका साथ छलफललाई अघि बढाएका छन् । कम्युनिष्टबाट मुक्त हुन चाहेको भन्दै आएका बाबुराम भट्टराईलाई समेत सोही केन्द्रमा समेट्ने प्रयासमा उनीहरु लागिपरेको बताइएको छ ।
एउटै दलमा रहेर पनि फुट्ने अवस्थामा पुगेका भट्टराई र उपेन्द्र यादवलाई समेत समाजवादी केन्द्रमा सामेल गर्न सकिने भन्ने बुझाइमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका बताइएको छ । उनीहरुले यसका लागि वामदेव गौतम, एमालेका विपरित ध्रुवमा रहेका घनश्याम भुसाल समेतलाई समेटेर छलफल थालेका छन् । उनीहरुको चाहना भने विभिन्न चिरामा रहेका पूर्वमाओवादीहरुलाई समेत समेटेर समाजवादी केन्द्र स्थापना गरी आगामी निर्वाचनमा साझा उम्मेदवार बनाउने सोच लिएका बताइएको छ ।
यसरी सत्तामै रहेका अन्य दलहरुले आफ्नो खालको नीति लिएको पाएपछि कांग्रेसले पनि आफ्नै खालको नीति लिने तयारी थालेको छ । कांग्रेसले पहिलो प्राथमिकतामा सत्तारुढ गठबन्धनलाई कायम राखी लोकप्रिय मतको आधारमा गठबन्धन गर्ने नीति लिने देखिएको छ । यसरी अन्य दल नमानेको खण्डमा समाजवादी केन्द्रको स्थापना गरी तेस्रो शक्ति जन्माउने प्रयास भएमा त्यसलाई पनि सहज रुपमा लिने सोचमा कांग्रेस पुगेको देखिन्छ ।
कांग्रेसको मुख्य चासो भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग सत्ताका कुनै पनि घटकहरु टाँसिन नपुगुन् भन्ने रहेको समाचार स्रोतको दाबी छ । एमालेलाई कुनै पनि गठबन्धन बनाउन नदिन पाएका खण्डमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले हुने तथा त्यसले कांग्रेस एक्लै भिड्दा पनि त्यसले खासै असर नगर्ने बुझाईमा कांग्रेस रहेको देखिन्छ ।
उता, एमाले पनि आफ्नै रणनीतिमा लागेको छ । एमालेको पहिलो ध्यान भने हालको गठबन्धन जे जसरी हुन्छ टुटाउनेमै केन्द्रित रहेको देखिन्छ । हालको गठबन्धन कायम रहेको अवस्थामा एमालेले धेरै ठाउँमा गठबन्धनकै कारण पराजय भोग्नुपर्ने बुझाइमा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली रहेका बताइएको छ । उनको मुख्य चाहना जसरी हुन्छ सत्ता गठबन्धन तोडाउनु नै रहेको पनि समाचार स्रोतले दाबी गरेको छ ।
ओलीको दोस्रो चाहना भने कांग्रेसको दोस्रो विकल्प जस्तै रहेको छ । समाजवादी केन्द्रमा आफू सामेल नहुने सोचमा रहेको एमालेले कांग्रेस र एमाले एक्लाएक्लै मैदानमा आए त्यसलाई सहजै स्वीकार्ने संभावना रहेको बताइएको छ । एमालेको चाहना पनि अन्य दलहरु मिलेर समाजवादी केन्द्र बनाए अधिकांश स्थानहरुमा मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेस र एमाले नै रहने भन्ने रहेको छ । सोही कारण एमाले सकेसम्म अन्य दलका नेता कार्यकर्ताहरुलाई आफ्नो दलमा तान्ने नसके उनीहरुका बीचमा फुट कायम गर्ने पक्ष देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *