महानगरवासीको आशा निराशामा बदलिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
बिहान घरबाट निस्किसकेपछि बेलुका सद्धे फर्किन्छ कि बाटोमै केही हुने हो यस्तो चिन्ता बोकेर हिंड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँठाउँमा जेब्राक्रस छ । भएका जेब्राक्रसको पनि सेतो धर्को सबै मेटिसकेका छन् । आकाशे पुल पनि धेरै छैनन् । भएका पनि अधिकांश जीर्ण छन् । पसल पनि पुलमै छन् । आकाशे पुलमा दिसापिसाब गन्हाएर हिँडिसाध्य छैन ।
फुटपाथमा भएको मोटरसाइकल पार्किङ र पसलले आवतजावत गर्न सक्ने स्थिति छैन् । अव्यवस्थित पोल पनि सबै फुटपाथमै छन् । खम्बाले टेलिफोन, नेटलगायतका तार थेग्न नसकेर लुङगिसकेका देखिन्छन् । आफूमाथि नै पो खस्ने हो कि भनेर त्रासमा हिंड्नुपर्छ ।
योसंँगै अर्को समस्या हो घरको छतमा राखेको गमला । कतिखेर खसेर कसको टाउको फुट्ने हो अत्तोपत्तो छैन् । यता, पानी पर्दा छतमा जमेको पानी फुटपाथमा खसाल्ने प्रवृत्ति हामी कहाँ छ । यसले धेरै सर्वसाधारण प्रभावित बनेका छन् । सार्वजनिक शौचालयको समस्या काठमाडौंमा अझै पनि छ । एउटै घरमा दर्जनसम्म होर्टिङ बोर्ड झुन्डयाइएका छन् । यसले गर्दा शहर कुरुप बनेको छ । काठमाडौंका बासिन्दालाई यो सबै बानी परिसकेको छ ।
बाहिरी जिल्ला र विदेशी नागरिकलाई यसले निकै नै सताइरहेको छ । बाटो कताबाट काट्ने भनेर घण्टौं अलमल्ल परेर हेर्नुपर्ने बाध्यता छ । राजधानी भने पनि यहाँको हाल बेहाल छ । सडकमा खाल्डाखुल्डी अनगिन्ती छन् । फोहोर व्यवस्थापनको किचिलो अझै पनि समाधान हुन सकेको छैन ।
बाटोमा मागेर खानेलाई व्यवस्थित गर्न महानगर चुकेको छ । बाहिरी जिल्ला र विदेशी नागरिकले यस्तो पनि शहर हुन्छ ? भनेर सोच्छन् । कहीँ कतै व्यवस्थापन छैन । यो माग्नेको शहर हो भन्ने छाप सबैमा परेको छ । काठमाडौंमा खुल्ला ठाउँ छैन । चारैतिर घर जोडिएको छ । ताजा हावा खान पनि यहाँ धौधौ छ । प्रदूषणका कारण महानगरबासी रोगी बन्दै गएका छन् । यहाँ हेरी गाउँ निकै नै सुःखी, खुशी र समृद्धि छ । आफ्नो हातका नङ्ग्रा खियाएर सन्तुष्टि र निरोगी जीवन बाँचिरहेका छन् ।
काठमाडौंमा ठ्याक्कै यसको उल्टो छ । यहाँका बासिन्दाका एउटै आम्दानीको स्रोत भनेको घरभाडा हो । खेतीपाती गर्ने जग्गा यिनीहरुसँंग छैन । घरभाडामा लायो महिनैपिच्छे सुतिसुति भाडा खायो । बहालमा बस्नेले सडकमा चिया बेचेर हुन्छ कि चट्पटे बेचेर भाडा तिरिरहेका छन् । धुँवाधुलो र फोहोर परेका यस्ता खानेकुराले कति रोग निम्त्याइरहेका छन् । बेच्नेले सर्वसाधारण मारेर बेच्छ यता घरधनीलाई लगेर पोस्छ । बाहिरी जिल्लाका जनता आएर शहर अव्यवस्थित बनाइदिएका छन् । सडकमा फुटपाथ पसल थाप्ने पनि उनीहरु नै हुन् । सडकपेटी ढाकेर पैदलयात्रीलाई सडकको बीचबाट हिंड्न बाध्य पार्ने पनि तिनै हुन् । शहर अस्तव्यस्त बनाउन उनीहरुको ठूलो योगदान छ । यसको फाइदा राज्यले होइन घरधनीले उठाइरहेका छन् । काठमाडौंमा रोजगारी छ, सेवासुविधा छ भनेर गाउँघरबाट काठमाडौं भित्रिन्छन् तर यहाँ आएपछि ठगिन्छन् ।
काठमाडौंलाई राम्रो र व्यवस्थित शहर बनाउनका लागि २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले शहरी विकास मन्त्रालय खडा गरे । शहरी विकास मन्त्रालय स्थापना भएको पनि एक दशक बित्यो । यति धेरै वर्षमा धेरै जना मन्त्री भए । कसैले पनि काठमाडौंलाई सुन्दर र व्यवस्थित शहर बनाउन सकेनन् । साधारण मापदण्ड र ऐनकानूनसमेत पनि बन्न सकेन । शहरीमन्त्रीहरुलाई तलबभत्ता र सेवासुविधा लिँदै ठिक्क भो । मन्त्रालयका कर्मचारीहरुले केही काम नै गर्न चाहेनन् । मन्त्रालयले उपत्यका विकास प्राधिकरणसमेत स्थापना ग¥यो । त्यहाँ पनि तलबभत्ता र सरकारी गाडी चढ्ने काम मात्र भयो । अहिले पनि एक÷दुई आनामा घर बनाउनका लगि नगरपालिका र वडाले स्वीकृति दिइरहेको छ ।
धमाधम नक्सा पास गर्ने कार्य भइरहेको छ । पुरानै मापदण्डमा टेकेर भकाभक भवनहरु ठडिरहेका छन् । मन्त्रालयले नयाँ ऐनकानूनको निर्माण गर्न चासो देखाएको छैन । सडकको संरचना कस्तो हुनुपर्ने हो ? सम्बन्धित निकायलाई नै ज्ञान छैन । बाटोमा हिंड्दा कतिखेर सवारी साधन ठक्करमा परेर घाइते हुनुपर्ने हो टुँगो छैन् । कतिखेर पछाडिबाट आएर कुकुरले टोक्ने हो भन्ने त्रास छ । काठमाडौंको अवस्था झनझन नाजुक बन्दै गएपछि महानगरबासीको अपेक्षा बालेन्द्र साह (वालेन) मा आएर अड्डियो । भारी मतका साथ महानगरको प्रमुखमा उनलाई निर्वाचित गराउने महानगरवासी हुन् ।
उनले महानगरवासीको अपेक्षामा खडा हुन सकेनन् । उनले महानगरवासीले सोचेभन्दा ठ्याक्कै उल्टो काम गरेका छन् । उनले आफ्नो तलबबाट काठमाडौंमा गायक यमबुद्धको शालिक बनाउने घोषणा गरेका छन् । उता, जनताले तिरेको करबाट एक करोड रुपियाँ ई–स्पोर्टसमा लगानी गर्ने उनको योजना छ । मत माग्ने बेलामा उनले तलबभत्ता लिदिन, सरकारी गाडी चाहिँदैन भनेर वाचा गरेका थिए । अहिले आएर उनले केही पनि छोडेनन् ।
काम केही नगर्ने, सरकारी गाडी चढ्ने र तलबभत्ता लिने । यति मात्र नभएर जनताले तिरेको कर कसैको नाममा शालिक बनाउने, कसैलाई करोड रुपियाँ दिने । प्रमुख पदमा छु भनेर जे पनि गर्न पाइन्छ ? प्रमुखको यस्तो पाराले काठमाडौंवासी वाक्कदिक्क भएका छन् । हामीले बालेनलाई किन मत दियौं भनेर अहिले धक्धकाइरहेका छन् ।
उनले राजीनामा दिनुपर्छ भनेर मागसमेत उठन् थालिसकेको छ । पप–गीत गाउने व्यक्तिले त्यही नै ठीक थियो भनेर बहस चलेको छ । उनको क्षमतामा यतिबेला प्रश्नसमेत उठ्न थालिसकेको छ । उनले आफूले गरेको वाचा बिर्सिएका जस्तो देखिन थालेको छ । काठमाडौंलाई राम्रो बनाउन न मन्त्रालयले ध्यान दिन्छ न प्राधिकरणले । महानगर आफ्नो मनोमानी चलाउँदै हिंडेको छ । भन्नलाई शहर भनिन्छ तर यहाँका बासिन्दासँंग अलिकति पनि चेतना छैन । आफू सुकिला बन्छन्, घरभित्रको फोहोर सडकमा ल्याएर फयाँक्छन् । यस्तालाई पनि बुद्धिजीवी भन्ने ? पढ्न लेख्न जानेको छ तर कर्तव्य भनेको थाहा छैन । आफ्नो कारणले अरुलाई कति अप्ठ्यारो परेको छ अलिकति पनि मतलब छैन ।
काठमाडौं फोहोर शहर हो भनेर विदेशीहरुमा परिसकेको छ । घुम्न आएका पनि हतारहतार फर्किन्छन् । प्रदूषण नदेखेका विदेशीहरु यहाँ आएर अचम्मित पर्छन् । गाउँबाट आएकाहरु यता दुई दिन पनि टिक्न सक्दैनन् । यहाँको धुँवाधुँलोलाई यहाँ बस्न हम्मेहम्मे पर्छ । यस्तो गएगुज्रिएको ठाउँलाई सरकारले राजधानी घोषणा गरेको छ । राजधानीको हालत यस्तो हुन्छ र ? प्रश्न उठ्न थालेको छ ।
काठमाडौं सिटी भनिएको छ तर कताबाट सिटी भन्ने ? जिल्लाको सदरमुकाम पनि यहाँभन्दा सफासुग्घर छ । यो ठाउँ शोषकीहरु बस्ने ठाउँ हो । बिहान एउटै सडकमा दुई थरीका मानिसहरु भेटिन्छन् । एउटा खाएर टन्न भएका मर्निङ वाकमा निस्किएका हुन्छन् । अर्को बिहानबेलुका छाक टार्नका लागि कामको खोजीमा हिँडेका हुन्छन् ।
बाउ हेर्ने छोराले खाने ठाउँ हो यो । काठमाडौंमा मानवता छैन । भाडामा बस्नको समस्या घरधनीले बुझ्दैनन् । बहालमा बस्नेलाई रोजगारीको व्यवस्था महानगरले गर्न सकेको छैन । घरधनीलाई करको दायरामा ल्याउन पनि महानगर चुकेको छ । साँझ परेपछि फुटपाथमा हाटबजार लाग्छ । सटर बहालमा लिएर व्यापार गर्नेले सडकमै ल्याएर सामान तेस्र्याउँछन् । काठमाडौंमा अन्य जिल्लाका जनतालाई आउनबाट रोक लगाउनुप¥यो । कि त रोजगारीको प्रबन्ध मिलाएर फुटपाथ व्यवसाय हटाउनुप¥यो । प्रमुखबाट महानगरका जनताले धेरै आशा गरेका थिए जुन निराशामा बद्लिसकेको छ ।
६१ हजार सात सय ६७ मत खेर गएको छ । प्रमुख बालेनको विरोधमा आवाज उठ्न थालिसकेको छ । युवा पुस्ता भनेर मत त दिइयो तर नतिजा शून्य छ । जनताको गुनासो नसुन्ने, सञ्चारमाध्यमदेखि टाढा बस्ने अनि महानगरका लागि केही काम नगर्ने । सुःख पाइन्छ भनेर मत दिए तर दुःख पाएको महशुस गरेका छन्, महानगरवासीले । स्वतन्त्रले चुनाव जितेको देखेर रवि लामिछानेले दल खोले । केही गरी लामिछानेले चुनाव जिते पनि जनताले दुःखबाहेक केही पाउँदैनन् भन्ने कुरा वालेनको स्थितिले झल्काउन थालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.