अर्थ र पर्यटनमा जान सचिवहरुको हानाथाप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकालका लागि मन्त्रालय प्रवेश गरेपछि अर्थसचिव मधुकुमार मरासिनी नैतिक संकटमा परेका छन् । गत श्रावण १५ गतेदेखि सचिव मरासिनी मन्त्रालयमा हाजिर भएका छैनन् । अर्थसचिव मरासिनी मन्त्री शर्माको स्वागत गर्ने कार्यक्रममा पनि सहभागी नभई पोखरातिर गएको र सरुवा मागेको चर्चा चलेको छ ।
शुरुमा मरासिनीलाई मन्त्री शर्माले नै ल्याएको भए पनि २०७९÷८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति मन्त्रालयमा अनाधिकृत व्यक्त रघुनाथ घिमिरेलाई भित्र्याएर करको दर हेरफेर गरेको घटनाले सचिव मरासिनी मानसिक तनावमा परेका थिए । बजेट निर्माणमा सहभागी दुईजना सहसचिवहरुमध्ये भूपाल बराललाई पनि सरुवा गर्ने चर्चा चल्दा नयाँ अर्थसचिवको खोजी शुरु भएको छ । अर्थसचिव बन्नका लागि हाल राजश्व सचिवका रुपमा कार्यरत कृष्णहरि पुष्कर कर्ण, सञ्चार तथा सूचना प्रविधि मन्त्रायका सचिव वैकुण्ठ अर्याल र केवल भण्डारीको चर्चा चलेको छ ।
अर्याल र भण्डारी अर्थमन्त्रालयकै क्याडर हुन् । बालुवाटारले अर्याल र भण्डारीमध्ये एकजनालाई सचिव बनाउने चर्चा चलेको छ । राजश्व सचिव पुष्करले स्वागत गर्ने क्रममा अर्थमन्त्रीलाई मेरो पूर्ण सहयोग हुने बताएर अर्थसचिव हात पार्ने सपना देखे पनि उनी अर्थको जानकार नभएकाले सम्भावना न्यून रहेको बताइएको छ । यता महेश्वर न्यौपानेको अनिवार्य अवकाशपछि रिक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिवमा जान लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मा, सुदूरपश्चिम प्रदेशका रामेश्वर दङ्गाल, बागमती प्रदेशका मुकुन्द निरौलाले आ–आफ्नो पहल जारी राखेका छन् ।
यसैगरी, उद्योग वाणिज्य तथा आपूर्तिका उद्योग हेर्ने सचिव अर्जुनप्रसाद पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारीले पनि पर्यटनमा सरुवा हुन मुख्य सचिव शंकरदाश बैरागीलाई बिन्तीपत्र चढाएको समाचार स्रोतले बताएको छ । सचिव निरौला काँग्रेस निकट भएकाले उनलाई पर्यटन सचिव बनाउने सम्भावना रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *