नेताको व्यवस्थापनमा काँग्रेसलाई सकस

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेताहरुको व्यवस्थापन गर्न नेपाली काँग्रेसलाई सकस हुने बुझिएको छ । गठबन्धनको कारण काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१, वीरबहादुर बलायरलाई डोटीको क्षेत्र नं.१, बलबहादुर के.सी.लाई सोलखुम्बु, मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं.१ मा समस्या पर्ने देखिएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन भए विमलेन्द्र निधिलाई धनुषा ३ र नेताहरु अर्जुननरसिंह के.सी., रामशरण महतलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा काँग्रेसमा सकस परेको छ । वर्तमान गठबन्धन कायमै रहे तनहुँ क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा (एमाले) बाट चुनाव जितेका र हाल नेकपा (एकीकृत समाजवादी) मा लागेका कृष्णकुमार श्रेष्ठ (किसन) तथा काँग्रेसबाट कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशी पनि तनहुँ क्षेत्र नं.१ बाटै चुनाव लड्ने भएपछि वरिष्ठ नेता पौडेललाई मंसिरको चुनाव फलामको च्युरा बनेको छ ।

त्यस्तै, डोटी क्षेत्र नं.१ बाट चुनाव जितेका प्रेमबहादुर आलेका कारण बलायर, सोलुखुम्बुबाट चुनाव जितेको माओवादीका कारण के.सी. र सिन्धुपाल्चोक क्षेत्र नं.१ बाट माओवादीका अग्निप्रसाद सापकोटा (हाल सभामुख) का कारण बस्नेत धर्मसंकटमा परेका छन् । बस्नेतले विद्रोह गर्ने चेतावनी दिइसकेका छन् । यसैगरी, धनुषा क्षेत्र नं.३ बाट लोसपाका नेता राजेन्द्र महतोले क्षेत्र परिवर्तन नगरे काँग्रेस नेता निधिलाई पनि सकस पर्ने बताइएको छ । निधिले महतोलाई सर्लाहीतिर पन्छाउन लागिपरेको समाचार स्रोतले बताएको छ ।

राजनीतिलाई सेवाभन्दा पेशा र आयआर्जनको स्रोत बनाउँदै आएका नेताहरुका लागि जनता सधैँभरि मतदाता बन्दै आइरहेका छन् । जनताको जीवनस्तरमा कुनै परिवर्तन नआए पनि नेताहरु चुनाव जितेपछि परिवर्तित भएका छन् । काँग्रेसले पनि दुई पटकभन्दा बढी संघको निर्वाचनमा उठ्न नपाउने र सत्तरी पुगेपछि राजनीतिबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था गर्नुपर्ने बहस शुरु भएको छ ।
काँग्रेसमा यिनै पुराना अनुहार देखेर मतदाताहरु वाक्कदिक्क भएको सरोकारवालाहरुले बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेका छन् । सिट बाँडफाँडमा ६०÷४० को मापदण्डअनुसार काँग्रेसले बढीमा सय र घटीमा ९० सिट पाउने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *