गठबन्धनमा दलहरुको जोड : दलीय संस्कार हराउँदै अप्राकृतिक पनि मान्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपालको राजनीतिमा आगामी निर्वाचनहरु अनौठो ढंगबाट बढ्ने देखिएको छ । सबैजसो दलहरु आफ्नो दलको एकल बलमा भन्दा पनि अन्य दलको बल अर्थात गठबन्धनलाई जोड दिने अवस्थामा पुगेका कारण यस्तो अवस्था देखिने भएको हो । भारतीय राजनीतिमा एक दलीयभन्दा पनि गठबन्धन बनाएर निर्वाचनमा होमिने प्रचलन बढेको अवस्थामा नेपालमा पनि त्यसको सिको गर्दै गठबन्धनीय संस्कारलाई सबैजसो दलहरुले अघि बढाउने अवस्था आएको देखिएको छ ।
पछिल्लो समय नेपालमा आफ्नो ठाउँमा जुन दलको उपस्थिति पहिलो हुने अवस्थामा देखिएको छ त्यसलाई रोक्न अन्य दलहरुले गठबन्धन गर्ने संस्कार हाबी हुन थालेको देखिन्छ । यस कुरालाई २०७४ सालमा भएका स्थानीय र संघीय, प्रदेशको निर्वाचनमा शुरुवात गरिए पनि अहिले भने यसले तीब्रता पाएको देखिन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा खासगरी चितवनको भरतपुर महानगरपालिकामा कमजोर अवस्थामा रहेको नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई प्रमुखमा विजयी बनाउन कांग्रेसले सहयोग गरेको थियो । त्यो बेला कांग्रेसले प्रमुखमा आफ्नो उम्मेदवार नबनाई उपप्रमुखमा मात्र उम्मेदवारी दिएको थियो ।
त्यसैगरी त्यही निर्वाचनमा नेकपा (एमाले) ले पनि पहिलो हुने दल खासगरी कांग्रेसको पकड राम्रो भएका ठाउँहरुमा अन्य दलहरुसँग तालमेल गरी निर्वाचनमा होमिएको थियो । त्यसपछि भने एमालेले यो कुरालाई बढी महत्व दिन थालेको बताइन्छ । २०७४ को स्थानीय निर्वाचनपछि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन सफल भयो । कांग्रेससँगै सरकारमा रहेको माओवादी केन्द्रले सरकारमै रहेर २०७४ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने निर्णय गरिदियो । त्यसैगरी निर्वाचनपछि एमाले र माओवादीका बीचमा एकीकरण नै गर्नेसम्मको निर्णय भएपछि भने सरकारको नेतृत्व गर्दै रहेका प्रधानमन्त्री शेरबहादुर देउवा झस्किन पुगे । उनको दल कांग्रेस पनि माओवादीसँग रिसाउन पुग्यो ।
यस्तो स्थितिमा देउवाले माओवादीलाई सरकारमा बसेर अर्कोसँग तालमेल गर्न नमिल्ने भन्ने कुरा बारम्बार भने । लज्जास्पद रुपमा सरकारमा टाँसिएर बसेको माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने निर्णयमा देउवा पुगे । एमालेसँग सहकार्य गर्न पुगेको माओवादी केन्द्रसँग मिलेर एमालेले पनि प्रदेश र संघीय निर्वाचनमा जित निकाल्ने नीति लियो ।
यी दुई दलले आ–आफ्नै निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिए पनि उनीहरुले एकले उम्मेदवारी दिएको ठाउँमा अर्कोले उम्मेदवारी नदिने नीति लिए । यसरी संघ, प्रदेश सबैतिर तालमेल गरी उम्मेदवारी दिएको अवस्थामा दुवै दलले झण्डै दुई तिहाईको हाराहारी हुने गरी जित निकाल्न सफल भए । उनीहरुले निर्वाचनपछि दलहरुको एकीकरण समेत गर्न पुगे । उनीहरुले विवादित रुपमा नेकपा भन्ने नाममा एकीकरण गरी सोही नाममा दलको हैसियत बनाई सरकार संचालनमा लागि परे । पछि उनीहरुका बीचमा आन्तरिक द्वन्द्व यसरी बढ्यो कि उनीहरु एउटै दलमा बस्नै नसक्ने अवस्थामा पुगे ।
त्यसैबीचमा नेकपा नामलाई लिएर भइरहेको अदालती सुनुवाइमा अदालतले उक्त नामलाई मान्यता दिएन । अदालती आदेश अनुसार दुवै दल पूर्ववत अवस्थामा फर्किनुपर्ने वा फेरि प्रक्रिया पु¥याएर एकीकरणमा जानुपर्ने भन्ने कुरा आयो । दलभित्र द्वन्द्वमा फसेका उनीहरुलाई अदालतको यो फैसला फलदायी साबित हुन पुग्यो । खासगरी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्षधरहरुले यो आदेशलाई एकदमै सकारात्मक रुपमा लिंदै दीप प्रज्वलन समेत गर्न पुगे ।
गठबन्धन गरी निर्वाचन जिते पनि त्यसको परिणाम एकदमै धमिलो अवस्थामा पुगेको स्थितिमा एमाले र माओवादी केन्द्रको गठबन्धन रहन पुग्यो । उनीहरुको एकीकरण तथा चुनावी गठबन्धनका कारण कांग्रेस लगायतका दलहरुलाई समेत झस्का दिन पुगेको थियो । ती दलहरु आफ्नो अस्तित्वको रक्षाका लागि लाग्नुपर्ने अवस्था आउँदा अदालतको उक्त फैसलाले एमाले र माओवादी केन्द्र फरक कित्तामा पग्नु अन्य दलका लागि पनि लाभदायक बन्न पुग्यो ।
अघिल्लो निर्वाचनमा उनीहरुको गठबन्धनले हारमा चित्त बुझाउन बाध्य भएको कांग्रेसले पनि पछिल्लो समय गठबन्धनलाई बढावा दिन थालेको छ । नेकपामा आउको विभाजन तथा उनीहरुका बीचमा देखिएको तिक्तताका कारण हाल पाँच दलीय सत्तारुढ दलहरुको गठबन्धन बनेको छ । यो गठबन्धनलाई कायमै राख्दै आगामी निर्वाचनमा पनि जाने गरी गठबन्धनकारी दलहरुले तयारी गरिरहेका छन् ।
एमालेमा फुट आई बनेको नेकपा (एकीकृत समाजवादी) तथा माओवादी केन्द्रका लागि पनि गठबन्धन लाभदायी हुने देखिएको छ । यसैगरी नेपालमा कम्युनिष्ट नामबाट भ्रमको राजनीति गर्दै आएका दलहरुलाई समेत एक ठाउँमा उभिने अवस्था बन्न नदिंदा कांग्रेसलार्इृ समेत फाइदा हुने आंकलन गरिंदै आएको छ ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा ३३ प्रतिशत जति स्थानहरुमा सत्ता गठबन्धन गर्दा त्यसको नतिजा सकारात्मक आएका कारण पनि सत्तारुढ दलहरु गठबन्धनलाई कायमै राख्ने पक्षमा देखिएका छन् । खासगरी कांग्रेस र माओवादी केन्द्रका बीचमा भएका गठबन्धनले राम्रो परिणाम निकाल्न सकेको पाइएको छ ।
पछिल्लो स्थानीय तहको निर्वाचन परिणाममा वडा तहमा दलहरुले पाएको निर्वाचन परिणाम आएपछि पनि गठबन्धनको विषयले महत्व झनै पाउन थालको देखिन्छ । वडागत आधारलाई मान्दै केही संस्थाहरुले निकालेको प्रक्षेपणमा सत्तारुढ दलहरुका बीचमा कायम गठबन्धनलाई अघि सार्दै गएको अवस्थामा एमाले नौ, १० सिटमा सीमित हुने देखाइएको छ । यसैगरी हालको गठबन्धनले आगामी निर्वाचनमा एकदमै सहज बहुमत हासिल गर्ने तथा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ ।
उता, स्थानीय तहको निर्वाचन परिणाम तथा प्रक्षेपणका कारण एमाले पनि झस्किन पुगेको छ । एमालेले देखावटी रुपमा आगामी निर्वाचनमा आफ्नो दल एक्दै लड्ने भन्दै आए पनि विभिन्न दल तथा समूहहरुसँग गठबन्धन बनाउनका लागि विभिन्न प्रयासहरु जारी राखेको बताइन्छ ।
पछिल्लो समयमा एमालेले पनि राप्रपा, राप्रपा नेपाल लगायतका दलहरुसँग तालमेल तथा गठबन्धन गर्ने तयारी गरिरहेको बताइएको छ । यसरी सबैजसो दलहरुले गठबन्धनीय संस्कारलाई अंगाल्न थालेकाले एक दलीय संस्कार भने हटेर जाने देखिएको छ । यसले एउटा दलको भन्ने तर मतदान भने अर्को दलको चिन्हमा गर्नुपर्ने अवस्था देखिएको छ ।
यसैगरी निर्वाचन जित्नका लागि भनी कुनै पनि गठबन्धनलाई प्राकृतिक वा अप्राकृतिक भन्ने खालको आक्षेप पनि नलाग्ने अवस्था देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *