शान्ति विद्यागृहको हीरक वार्षिकोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले भोलिसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले बुधबारदेखि शुरु गरेको विभिन्न कार्यक्रमहरुलाई भोलि शनिबार समापन गर्ने भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीका अनुसार यो विद्यागृह विक्रम संवत् २००४ बैशाख १९ गते स्थापना भएको थियो ।
विद्यालयको हीरक महोत्सवगत बैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको बताइएको छ । शनिबार स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्वप्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।
विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धरलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । शुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब तीन सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक विद्यालयपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक विद्यालयपट्टि राखेर पढाइने गरिएको बताइएको छ । २०५२ सालदेखि यो विद्यालय सह शिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्वप्राथमिक‘ ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले छ सय दुई छात्र र पाँच सय १८ छात्रा अध्ययन गरिहेका छन् ।
राणा प्रधानमन्त्री पद्मशमशेर राणाका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणा अनुसार चल्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *