पतञ्जली र आइएमईबीच सम्झौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ । भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्ने छन् ।
सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा.ऋषीकुमार र आइएमई इन्डियातर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मंगलबार दिल्लीमा उक्त समझदारीपत्र आदानप्रदान भएको हो । समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपाल बीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।
यसैगरी आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पूरा नगरी यस्तो सेवा लिन सकिने आचार्य बालकृष्णले बताउनुभयो ।
विदेशमा बसोबास गर्ने धेरै नेपालीले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन् । एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरू लगायत भारतमा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *