महारानी एलिजाबेथ द्वितीयाको जीवन

Nayabimarsha (Weekly Newspaper from Nepal)

बीबीसी/ बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ । ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु बनिन् ।
अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ । त्यसमाथि उनको जन्मको बेला उनको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लण्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन् । उनी जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात् ‘ड्यूक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन् । एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए ।
एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाँचौँसँग अत्यन्तै निकट थिइन् । छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी ‘कन्ट्री लेडी’ बन्न चाहेको बताएकी थिइन् । निकै कलिलो उमेरदेखि उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो । त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिललाई उद्धृत गर्दै उनमा ‘एउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएको’ बताउने गरिन्थ्यो ।
विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइन् । संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन् । उनी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन् भनेर उनीहरूको एउटा विशेष समूह ‘गर्ल गाइडस् कम्पनी’ बनाइएको थियो । सन् १९३६ मा जोर्ज पाँचौँको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौँ राजा भए । दुईपल्ट छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजेपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो । वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो । अनिच्छुक हुँदाहुँदै ड्यूक अफ योर्क राजा जोर्ज छैटौँ बने ।
उनको गद्दीआरोहणले एलिथाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो र पछि उनले त्यो अवसर ‘असाध्यै अद्भूत’ भएको लेखेकी थिइन् । युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी–रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनस्र्थापित गराउने अभियानमा लागेका थिए । त्यो उदाहरण उनीहरूकी ठूली छोरीको हकमा पनि खेर गएन ।
सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमथस्थित रोयल नेभल कलेज पुगिन् । आफ्नी बहिनी मार्गरेटसँगै उनलाई उक्त कलेजमा अध्ययरनतमध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए । यो उनीहरूबीच भेट भएको पहिलो अवसर थिएन । उनले फिलिपमा चाख लिएको पहिलो पटक थियो । नौसेनाबाट छुट्टीमा आएका बेला राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न आउँथे । सन् १९४४ सम्ममा त, जब एलिजाबेथ १८ वर्षकी थिइन्, उनी फिलिपसँग प्रेममा परिसकेकी थिइन् । उनले फिलिपको तस्वीर आफ्नो कोठामा राखेकी थिइन् र उनीहरू एकअर्कासँग पत्र आदानप्रदान गर्दथे ।
युद्धको अन्त्यतिर युवती राजकुमारी ब्रिटिश सेनाको महिला शाखा ‘अक्जिलरी टेरिटोरियल सर्भिस’ (एटीएस) मा भर्ना भइन् । उनले त्यहाँ गाडी चलाउन र सामान बोक्ने ‘लरी’ को मर्मतसम्भार कसरी गर्ने भन्नेबारे सिकिन् । युरोपमा युद्ध जितेको खुशियालीमा मनाइने दिन ‘भीइ डे’ मा उनी बकिङ्गम राजदरबारमा शाही परिवारसँगै देखिन् ।
त्यतिबेला युद्धमा प्राप्त जित मनाउन राजदरबार अगाडिको मूल सडक ‘द मल’ मा हजारौँ भेला भएका थिए । ‘‘हामीले बुवाआमासँग हामी बाहिर गएर हेर्नसक्छौं भनेर सोध्यौँ’’, उनी सम्झन्छिन्, ‘‘मलाई याद छ, हामी परिचित हुन डराउँथ्यौँ । धेरै अपरिचित मानिसहरूको हुल एकले अर्को हात समातेर ‘ह्वाइटहल’ (सिटी अफ वेस्टमिनस्टरको सडक) बाट तल झर्दै गरेको सम्झन्छु । हामी सबै त्यही खुशी र राहतको आँधीमा समाहित भयौँ ।’’
युद्धपछि राजकुमार फिलिपसँग विवाह गर्ने उनको चाहनामा थुप्रै व्यवधान आए । राजा आफूले अत्यन्तै रुचाएकी छोरी गुमाउन अनिच्छुक थिए र फिलिपलाई उनको विदेशी वंश नस्वीकार्ने संस्थापन पक्षको पूर्वाग्रह तोड्नुपर्ने चुनौती थियो । अन्ततः यो जोडीको इच्छाले जित हात पा¥यो र १९४७ नोभेम्बर २० मा ‘वेस्टमिनस्टर याबी’ मा उनीहरूले विवाह गरे । फिलिप ‘ड्यूक अफ एडिनबरा’ भए तर उनले नौसैनामा कार्यरत हुन छाडेनन् । कम्तीमा छोटै समय भए पनि माल्टामा गरिएको सरुवाले नवजोडीलाई तुलनात्मक रूपमा सामान्य जीवन जिउन मद्दत ग¥यो । उनीहरुको पहिलो सन्तान चाल्र्सको सन् १९४८ मा जन्म भयो । सन् १९५० मा चाल्र्सकी बहिनी यान जन्मिइन् । युद्धका वर्षहरूको तनाव झेलिरहेका राजा आफ्नो धूमपान गर्ने बानीले गर्दा फोक्सोको क्यान्सरले निकै थलिए ।
सन् १९५२ जनवरीमा २५ वर्षीया एलिजाबेथ र फिलिप आफ्नो विदेश यात्रामा निस्किए । चिकित्सकहरूको सल्लाहको विपरीत राजा यो दम्पत्तीलाई बिदा गर्न विमानस्थल पुगे । त्यो नै एलिजाबेथका लागि आफ्ना पितालाई अन्तिम पटक देख्ने घटना भयो । केन्यामा रहेका बेला एलिजाबेथले आफ्ना पिताको निधनको खबर सुनिन् र नयाँ महारानीका रूपमा तुरुन्तै लण्डन फर्किन् ।
उनले पछि त्यो क्षणको सम्झना गर्ने गर्थिन् । ‘‘एक प्रकारले भन्दा मलाई कुनै अनुभव थिएन । मेरा पिता कम उमेरमै बित्नुभयो । त्यसैले यो जिम्मेवारी लिनु र आफूले सक्दो राम्रो गरी निर्वाह गर्नु एक किसिमले अचानक जस्तै थियो ।’’
सन् १९५३ जुनमा उनको राज्यारोहण टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रधानमन्त्री विन्स्टन चर्चिलको विरोध भए पनि त्यसो गरिएको थियो । रानी एलिजाबेथले शपथग्रहण गरेको लाखौँ मानिसले टेलिभिजनमा हेरेका थिए । युद्धपश्चात्को मितव्यययीता खेपिरहेको ब्रिटेनमा राज्यारोहणलाई नयाँ ‘एलिजाबेथन’ युगको उदयका रूपमा धेरै टिप्पणीकर्ताले हेरे ।
दोस्रो विश्वयुद्धपश्चात् ब्रिटिश साम्राज्यको धमाधम अन्त्य भयो र नयाँ महारानी १९५३ नोभेम्बरमा राष्ट्रमण्डलीय मुलुकहरूको लामो भ्रमणमा निस्कने बेलासम्ममा ब्रिटिश नियन्त्रणमा रहेका भारतसहितका धेरै मुलुकले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी भइन् । करिब एक तिहाई अष्ट्रेलियाली उनलाई प्रत्यक्ष हेर्ने पुगेको अनुमान गरियो । सन् १९५० को दशकभरि धेरै देश ब्रिटिश नियन्त्रणबाट स्वतन्त्र भइसकेका थिए । ती देशहरू अहिले एउटा स्वेच्छिक सङ्गठन मातहत एकताबद्ध भएका थिए । धेरै राजनीतिकर्मीले नयाँ राष्ट्रमण्डल भर्खरै उदाउँदै गरेको युरोपेली आर्थिक समुदायलाई टक्कर हुनसक्ने ठानेका थिए । केही हदसम्म ब्रिटिश नीति महादेशबाट त्यतातिरै मोडियो ।
ब्रिटिश प्रभाव सन् १९५६ को सुयज प्रकरणपछि झन् खस्कियो । उक्त घटनाले सङ्कटको बेला राष्ट्रमण्डलमा एकीकृत रूपमा काम गर्न सक्ने सामूहिक इच्छाशक्ति नरहेको देखायो । सुयज नहर राष्ट्रियकरण गर्ने इजिप्टको प्रयास रोक्न ब्रिटिश सैनिक पठाउने निर्णय लाजमर्दो फिर्तीमा टुङ्गियो । त्यसपछि प्रधानमन्त्री एन्थोनी इडेनले राजीनामा दिनुप¥यो । यो घटनाले रानीलाई राजनीतिक सङ्कटमा पारिदियो । कन्जर्भेटिभ पार्टीसँग नयाँ नेता चयन गर्ने कुनै संयन्त्र थिएन र शृंखलाबद्ध छलफलपछि रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठनका लागि निम्तो दिइन् । रानीले आफैंलाई लर्ड अल्ट्रिनमको व्यक्तिगत आलोचनाको विषयबस्तुको रूपमा पनि पाइन् ।
अखबरमा प्रकाशित एउटा लेखमा उनले एलिजाबेथको अदालत ‘असाध्यै ब्रिटिश’ र ‘उच्च वर्ग’ को भएको दाबी गरे र लिखतविना एउटा सामान्य भाषण पनि गर्न रानीसक्षम नभएको आरोप लगाए । उनको टिप्पणीले सञ्चारमाध्यममा व्यापक विवाद र बहस निम्त्यायो । लर्ड अल्ट्रिनमलाई ‘लिग अफ एम्पायर लोयलिस्टस्’ भनिने राजतन्त्र पक्षधर समूहका सदस्यले सडकमा भौतिक आक्रमण पनि गरेका थिए । उक्त घटनाले राजतन्त्रप्रति ब्रिटिश समाज र हेराइ तीव्र गतिमा बदलिरहेको देखायो ।
आफ्ना पतिको हौसलाले रानीले नयाँ सुधारहरू अपनाउन थालिन् । ‘द मोनार्की’ पदावलीलाई क्रमशः ‘द रोयल फ्यामिली’ ले विस्थापित गरियो । सन् १९६३ मा ह्यारोल्ड म्याकमिलन प्रधानमन्त्री पदबाट बाहिरिएपछि रानी फेरि राजनीतिक विवादको केन्द्रमा परिन् । कन्जर्भेटिभ पार्टीले नयाँ नेता चयन गर्ने संयन्त्र अझै पनि बनाएको थिएन । उनको स्थानमा गृहमन्त्रीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने म्याकमिलनको सल्लाह महारानीले पालना गरिन् ।
त्यो रानीका लागि अप्ठ्यारो समय थियो । संविधान पालना र तत्कालीन सरकारबाट राजतन्त्रलाई पर राख्ने विषय रानीको शासनका पहिचान थिए । रानीले आफू सुसूचित हुने, आफूले सल्लाह दिने र चेतावनी दिने आफ्ना अधिकारलाई गम्भीर रूपमा लिइन् । उनी त्यसबाट बाहिर जान कहिल्यै खोजिनन् । रानी त्यस्तो अप्ठ्यारोमा पर्ने अवस्था त्यो नै अन्तिम थियो । कन्जर्भेटिभहरूले अन्ततः जथाभावी नयाँ पार्टी नेता चुन्ने प्रणाली अन्त्य गरी व्यवस्थित विधि अपनाए ।
सन् १९६० को दशकको अन्त्यतिर बकिङ्गम राजदरबारले शाही परिवारलाई कम औपचारिक र सजिलो पहुँच भएको देखाउन सकारात्मक कदम चाल्नुपर्ने आवश्यकता रहेको निर्णय ग¥यो । त्यसको परिणाम थियो, ऐतिहासिक वृत्तचित्र ‘रोयल फ्यामिली’ । बीबीसीलाई राजदरबार भित्रको गतिविधि खिच्ने अनुमति दिइयो । क्रिसमस रूख सिँगारेको, खुलास्थलमा आगोमा खानेकुरा पोलेको, बालबालिकालाई गाडीमा घुमाउन लिएर गएका तस्वीरहरू थिए । राजपरिवारका त्यस्ता सामान्य गतिविधि यसअघि पहिले कहिल्यै देखिएको थिएन । रिचर्ड कस्टनको उक्त वृत्तचित्रले शाही परिवारको रहस्य ध्वस्त पारेको आलोचकहरूले दाबी गरेका थिए । वृत्तचित्रले त्यति बेलाको तनाबमुक्त मनोदशा दर्शायो र राजतन्त्रमा जनआस्था पुनर्थापित गराउन मद्दत ग¥यो । सन् १९७७ मा रजत उत्सव सडकहरूमा जमघट र देशैभरि कार्यक्रम गरी ठूलो उत्साहका साथ मनाइयो ।
राजतन्त्रले जनताको स्नेह पाएको जस्तो देखियो । दुई वर्षपछि ब्रिटेनले मार्गरेट थ्याचरलाई आफ्नो पहिलो महिला प्रधानमन्त्रीका रूपमा पायो । महिला राष्ट्रप्रमुख र महिला सरकार प्रमुखबीच अप्ठ्यारो सम्बन्ध रहेको बेलाबेलामा बताइने गथ्र्याे । एउटा जटिल क्षेत्र भनेको राष्ट्रमण्डलप्रति रानीको भक्ति थियो जसको प्रमुख उनी थिइन् । एलिजाबेथ अफ्रिकाका नेताहरुसँग राम्ररी परिचित थिइन् र उनीहरुको उद्देश्यप्रति सहानुभूति राख्थिन् । उनले थ्याचरको शैली ‘बुझ्न नसकिने खालको’ रहेको पाएको बताइन्छ– रङ्गभेदी दक्षिण अफ्रिकाविरुद्ध प्रतिबन्ध लगाउने विपक्षमा प्रधानमन्त्री उभिएको विषयमात्रै होइन अरू थुप्रै पक्षमा पनि । वर्षैपिच्छे रानीका सार्वजनिक दायित्वहरुले निरन्तरता पाए ।
सन् १९९१ को खाडीयुद्धपछि उनी अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो ब्रिटिश शाही सदस्य भइन् । राष्ट्रपति जर्ज बुसले उनी आफूहरूले ‘‘सम्झन सकेसम्मको अवधिदेखिकै स्वतन्त्रताको मित्र’’ भएको बताए । एक वर्षपछि शृङ्खलाबद्ध विवाद र दुर्घटनाहरूले शाही परिवारलाई प्रभावित तुल्यायो । रानीको दोस्रो छोरा ‘ड्युक अफ योर्क’ र उनकी पत्नी सारह छुट्टिए ।
मार्क फिलिप्ससँग राजकुमारी यानको विवाह पनि सम्बन्धविच्छेदमा टुङ्गियो । त्यति बेलाका वेल्सका राजकुमार र राजकुमारी पनि एकअर्कासँग अत्यन्तै बेखुशी रहेको खुलासा भयो र अन्ततः उनीहरू पनि छुट्टिए । वर्षको अन्त्यतिर रानीको प्यारो बासस्थान ‘विन्डसोर क्यासल’ मा भीषण आगलागी भयो । त्यो अप्ठ्यारोमा परेको राजदरबारको प्रतीक जस्तो देखिन्थ्यो । मर्मतका लागि करदाता वा रानी स्वयंले खर्च बेहोर्ने भन्ने विषयमा चर्किएको विवादले अवस्था थप जटिल बनायो ।
रानीले सन् १९९२ लाई आफ्ना लागि ‘दुर्भाग्यले भरिएको वर्ष’ का रुपमा व्याख्या गरिन् । सिटी अफ लण्डनमा गरेको आफ्नो सम्बोधनमा उनले कम आलोचक सञ्चारमाध्यमको बदलामा थप खुला राजतन्त्रको आवश्यकतामा जोड दिइन् । ‘‘कुनै पनि संस्था, शहर, राजतन्त्र कसैले पनि आफूप्रति निष्ठावान् र आफूलाई समर्थन गर्नेहरुको समीक्षाबाट मुक्त हुन्छु भनेर अपेक्षा गर्नुहुन्न । हामी सबै राष्ट्रिय समाजको एउटै धागोको अंश हौँ । भद्रता, हास्य रस र समझदारी अपनाइयो भने समीक्षा थप प्रभावकारी हुनेछ ।’’
राजतन्त्र एकदमै रक्षात्मक अवस्थामा थियो । विन्डसोरको मर्मतसम्भारका लागि पैसा जुटाउन बकिङ्गम राजदरबार सर्वसाधारणका लागि खुला गरियो र महारानी र वेल्सका राजकुमारले लगानीको आम्दानीमा कर तिर्ने घोषणा गरियो । देशबाहिर चाहिँ एलिजाबेथको शुरूवाती शासनकालमा राष्ट्रमण्डलका लागि देखिएको आशा पूरा हुन सकेन ।
युरोपमा नयाँ व्यवस्थासँगै ब्रिटेनले आफ्ना पुराना सहयात्रीहरूलाई ढाड फर्कायो । रानीले तैपनि राष्ट्रमण्डलको महत्व देखेकी थिइन् । दक्षिण अफ्रिकाले रङ्गभेदी प्रणाली अन्त्य गर्दा रानी अत्यन्तै कृतज्ञ थिइन् । त्यो कृतज्ञता उनले सन् १९९५ को मार्चमा त्यहाँ भ्रमण गरेर दर्शाइन् । देशभित्र राजसंस्थाको कुनै भविष्य रहेको वा नरहेको भन्नेबारे सार्वजनिक बहस भइरहँदा रानीले राजतन्त्रको प्रतिष्ठा कायमै राख्ने प्रयास गरिन् ।
ब्रिटेनले नयाँ गन्तव्य पहिल्याउन सङ्घर्ष गरिरहँदा उनले सबैलाई आश्वास्त पार्न सक्ने व्यक्तित्वका रूपमा आफू रहने प्रयास गरिन् । सन् १९९७ अगस्टमा प्यारिसमा एउटा कार दुर्घटनामा वेल्सकी राजकुमारी डायनाको निधन भएपछि राजसंस्था स्तब्ध भएको थियो र रानी स्वयंको असामान्य आलोचना भएको थियो । लण्डनस्थित दरबारहरूमा सर्वसाधारण फूल लिएर श्रद्धाञ्जलिका लागि आए । राष्ट्रिय महत्वको घडीमा केन्द्रित हुने चरित्र देखाउने रानी यस पटक भने अनिच्छुक जस्तो देखिइन् ।
उनले एकजना मायालु हजूरआमाको हैसियतमा परिवारभित्र डायनाका छोराहरूलाई सान्त्वना दिनुपर्ने आवश्यकता महसुस पनि गरिन् । अन्ततः उनले एउटा प्रत्यक्ष प्रसारणमा आफ्नी बुहारीप्रति श्रद्धाञ्जलि व्यक्त गरिन् र राजसंस्थाले अपनाउनुपर्ने विषयबारे प्रतिबद्धता जनाइन् । सन् २००२ मा आमा र बहिनीको निधन भएपछि उनको राज्यारोहणको ५० वर्ष पुगेको अवसरमा देशभर कार्यक्रमहरू गर्ने वा नगर्ने भन्नेबारे अन्योल उत्पन्न भयो ।
तथापि बकिङ्गम राजदरबार अगाडिको सडक ‘द मल’ मा ५०औँ वर्षगाँठको उत्सव मनाउन साँझ करिब १० लाख मानिस भेला भए । सन् २००६ को एप्रिलमा आफ्नो ८०औँ जन्मदिनको अवसरमा रानी अनौपचारिक रूपमा सर्वसाधारणलाई भेट्न निस्कँदा हजारौँ शुभेच्छुक विन्डसोरका सडकहरुमा लामबद्ध थिए । सन् २००७ नोभेम्बरमा वेस्टमिनस्टर याबीमा दुई हजार मानिसको उपस्थितिमा प्रिन्स फिलिप र रानीले आफ्नो विवाहको ६०औँ वर्षगाँठ मनाए ।
सन् २०११ एप्रिलमा अर्को खुशीको क्षण थियो जब रानीले आफ्ना नाति अर्थात् क्याम्ब्रिजका ड्युक विलियम र क्याथ्रिन मिड्लटनबीचको विवाहमा उपस्थिति जनाइन् । आइरिस भाषामा दिएको भाषणमा उनले मेलमिलापका लागि आह्वान गरिन् । एक वर्षपछि हीरक महोत्सवको अङ्गको रुपमा आयरल्यान्डको भ्रमण क्रममा रानीले आइआरएका पूर्वकमाण्डर मार्टिन म्याकगिनिससँग हात मिलाइन् ।
सन् १९७९ मा आइआरएको बम आक्रमणमा आफ्ना नातेदार लर्ड लुइ माउन्टब्याटेन गुमाएकी रानीका लागि त्यो क्षण मार्मिक थियो । हीरक महोत्सवमा लाखौँ मानिस सडकमा उत्रिए र लण्डनमा एक सातासम्म उत्सव मनाइयो । सन् २०१४ को सेप्टेम्बरमा स्कटल्याण्डको स्वतन्त्रतासम्बन्धी जनमत सङ्ग्रह महारानीका लागि एउटा परीक्षणको घडी थियो ।
सन् १९७७ मा उनले संयुक्त अधिराज्यप्रति प्रतिबद्धता दर्शाउँदै संसद्मा गरेको भाषण कमैले बिर्सिएका होलान् । स्कटिश जनमत सङ्ग्रहको पूर्वसन्ध्यामा उनले बाल्मोरलमा शुभेच्छुकहरूसँग कुरा गर्दै जनताले आफ्नो भविष्यबारे अत्यन्तै सावधानीपूर्वक ख्याल गर्ने अपेक्षा गरेको बताएकी थिइन् । मतपरिणाम आएपछि उनको सार्वजनिक वक्तव्यमा संयुक्त अधिराज्य एक ढिक्का रहेकोमा उनले राहत महसुस गरेको झल्कन्थ्यो ।
बद्लिँदो राजनीतिक अवस्थालाई उनले बुझेकी थिइन् । सन् २०१५ सेप्टेम्बर ९ मा उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने महारानी बनिन् । योसँगै आफ्नी जिजुहजुरआमाकी पनि हजुरआमा रानी भिक्टोरियाको इतिहास उनले तोडिन् । एप्रिल २०१६ मा उनले आफ्नो ९०औँ जन्मोत्सव मनाइन् । महारानीको शासनकालको शुरूवातमा जस्तो अहिले राजतन्त्र बलियो नभए पनि ब्रिटिश जनताको हृदयमा रानीप्रति स्नेह र सम्मान निरन्तर पाइन्छ ।
खासगरी ड्यूक अफ एडिनबराले सन् २०१७ मा अवकाश लिएपछि उनले ९० को दशकको उमेरमा पनि एक्लै आफ्नो सार्वजनिक दायित्व निर्वाह गरिरहिन् । त्यसैबीच परिवारमा तनाव उत्पन्न हुने कार्य पनि भइरहे । जस्तो कि उनका श्रीमान्को कार दुर्घटना, द ड्यूक अफ योर्कको अपराधी घोषित गरिएका अमेरिकी व्यवसायीसँगको मित्रता र प्रिन्स ह्यारीको शाही परिवारिक जीवनप्रतिको अस्पष्टता ।
अझ पनि स्थिति आफ्नो नियन्त्रणमा राखिरहेकी महारानीको नेतृत्वमा ती केही व्यग्र बनाउने घटनाहरू थिए । उनको हीरक जयन्तीका बेला उनले पहिले दक्षिण अफ्रिका भ्रमणका बेला गरेको प्रतिबद्धता स्मरण गरिन् । ‘‘मैले २१ वर्षको उमेरमा मेरो जीवन हाम्रा जनताका प्रति समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिएँ र ईश्वरसँग मेरो प्रतिबद्धता कायम गर्न सक्षम बनाऊन् भनेर प्रार्थना गरेकी थिएँ । मैले मेरो जवानीका बेला गरेको त्यो प्रतिबद्धताबाट एक कदम पनि म पछाडि हटेकी छैन र मलाई त्यसको पछुतो पनि छैन ।’’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *