भक्तपुर/ भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्वप्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उनले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उनका परिवारजनले प्रकाशन गरेका छन् । २०७८ साल असोज ३ गते निधन भएका स्व. अमरबहादुरको सम्झनामा उनको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर काकीको स्मृति पुस्तक प्रकाशन गरिएको हो । उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।
उक्त पुस्तक सुतार कार्की अभिभावक वयोवृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मा.वि. आमचोक–१ का पूर्वप्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गा.पा.का पूर्वउपप्रधानपञ्च पशुपति कार्की, उनका धर्मपत्नीहरु वसन्तदेवी कार्की, रामकुमारी कार्कीलगायत उनका परिवारले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
दुई सय ७० पृष्ठको पुस्तकमा स्व.अमरबहादुर कार्कीले सात बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकमा स्व. अमरबहादुरको जीवनी, उनका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताए । पुस्तकमा सुतार कार्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् । बार्षिक तिथिमा पुराण लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिब असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्व.पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने बताइएको छ ।
पुस्तकका संरक्षक विश्वराम कार्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उनले पढेको विद्यालय र पढाएको विद्यालय तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताए । पुस्तक प्रकाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप परिस्कृत र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा स्व.अमरबहादुरका भाइ तीर्थराज कार्कीसँगै एउटै विद्यालय अध्ययन गरेका पुण्यप्रसाद पराजुली, पशुपति कार्कीले स्व.अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उनले गरेका योगदान र गतिविधिबारे चर्चा गदैं उनको जीवनी स्मरण गराएका थिए । हालको पञ्चकन्या माध्यमिक विद्यालयका तात्कालिन शिक्षक, गाउँ पञ्चायत प्रमुख, जिल्ला सदस्य भई सक्रिय सामाजिक अभियन्ता कार्कीको २०७८ असोज ३ गते मृत्यु भएको थियो । उनले लामो समय लगाएर सुतारहरुको वंशावली संकलन गरेका थिए । वंशावलीसँगै उनका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।
स्व.कार्कीको चिनारी
राणा शासनबाट जनता अघाउँदै आएको अवस्थामा करीब करीब दास युगको अन्त्यतिरको समय थियो । त्यस बेला कट्टरपन्थी राणा पद्मशम्सेर मुलुकका प्रधानमन्त्री थिए । यही समयमा पूर्वको विकट जिल्ला भोजपुरको आमचोक वासिङ थर्पू–१ सिमन्तुवामा अमरबहादुर कार्कीको जन्म भएको थियो । पिता गुमासिंह (केशरजंग) कार्की र माता रत्नमाया कार्कीको कोखबाट वि.सं.२००४ चैत ४ गते उनको जन्म भएको थियो । त्यसबेला शिक्षा अत्यन्त दुर्लभ रहेको बेला उनले कक्षा पाँचसम्म स्थानीय भवानी प्रा.वि. (हाल पञ्चकन्या मा.वि.) वासिङ थर्पूमा अध्ययन गरे । कक्षा ६ देखि ९ सम्म भोजपुरको विद्योदय मा.वि.मा कक्षा ९ सम्म अध्ययन गरे । त्यहाँभन्दा उनको शिक्षा अगाडि बढ्न सकेन । विभिन्न व्यावहारिक र घरायसी कामले उनले अध्ययनलाई अगाडि लैजान सकेनन् । उनी अत्यन्त धार्मिक व्यक्ति थिए । पण्डित डिल्लीराम पराजुली, प्राध्यापक कुलप्रसाद पराजुली, डम्बरुबल्भव कोइराला, पण्डित छविलाल पोखरेललगायतको संगतले सँस्कृत शिक्षा पनि हासिल गरेका थिए । उनले औपचारिक संस्कृत शिक्षा नलिए पनि बनारस, अयोध्यालगायत भारतका धामहरुमा बसेर संस्कृत शिक्षा आर्जन गरेका थिए ।
प्राथमिक शिक्षा हासिल गर्दासम्मको छात्रजीवनमा उनी एक शान्त, लजालु, एकान्तप्रिय, कम बोल्ने स्वभावको भएको उनका साथी पुण्यप्रसाद पराजुली बताउँछन् । औसत रूपमा आफ्नो गाउँ पञ्चायतका साधारण स्थानीय जनजीवनको प्रतिनिधित्व गर्नेको लवज त्यति आकर्षक नहुँदा अरु विद्यार्थीको जस्तै उनको पनि रहेको पराजुली बताउँछन् । विद्यालयमा पछाडिको कुनामा बस्न रुचाउने उनी शिक्षकले सोधेका प्रश्नको उत्तर भने सटीक दिन्थे । अलिकति टेढो बसेर घुँडामा कापी राखी ढिलो लेख्ने बानी भए पनि कसिला कलात्मक अक्षर लेख्ने भएकाले उनका लेखाइ अब्बल हुन्थे । पातलो र औसत रूपमा सर्वसाधारण विद्यार्थीभन्दा केही अग्लो र गोरो भौतिक शरीरका धनी, प्रायः निधारमा टपक्क टीको लगाएर सफा पोशाकमा हिंड्ने चलन उनको थियो ।
उनी विकट पहाडी जिल्लाको एउटा गाउँमा बसे पनि तराई निरन्तर झर्ने गर्दथे । शहरमा आउने नयाँ सामान र खानेकुराको नयाँ स्वाद उनी परिवारलाई चखाउँथे । घरमा जस्तापाताको छाना लगाउने सम्भवतः उनी नै गाउँको पहिलो व्यक्ति थिए । तराईबाट सिमेन्ट बोकाएर लगी घरमा प्रयोग गरेका थिए । त्यस बेला उनले आधुनिक किसिमका घर बनाउनु भएका थिए । घरमा कपडामा लगाउने आइरन उनले मात्र राखेका थिए । गाउँभरिका जनतालाई आइरन प्रयोग गर्न दिने गरिएको थियो । कपाल काट्ने कैंची गाउँमा बिरलै पाइन्थ्यो । आधुनिक किसिमको कैंची उनले तराईबाट ल्याएका थिए । त्यो कैंची गाउँभरिकालाई कपाल काट्न प्रयोग गरिन्थ्यो ।
बाइस वर्षको अल्लारे उमेरमा उनले गाउँ पञ्चायतको सचिवको रुपमा सेवा गरे । उनले झापाको चन्द्रगढीमा तीन महिने तालीम समेत लिएका थिए । उक्त तालीमबाट श्रेस्ता नियम कानून, जनताका सेवा, कामको तौरतरिकाबारे जानकारी लिएर उनले स्थानीयको सेवा गरेका थिए । वि.सं. २०२६ देखि २०२८ सालसम्म सचिव भएर काम गरे । उनी भोजपुरका ६५ गापमध्ये दोश्रो नं मा उनको कामको चर्चा हुने गरेको थियो । उनी वि.सं. २०३१ साल मङ्सिर २७ गतेबाट केही समय श्रीपञ्चकन्या नि.मा.वि.को सहायक शिक्षक पनि भए । २०५४ सालमा जिल्ला शिक्षा कार्यालय भोजपुरबाट पञ्चकन्या नि.मा.वि.को विद्यालयल व्यवस्थापन समितिको सदस्यमा मनोनित भए ।
उनको सचिव हुँदाको कामले २०२९ सालको निर्वाचनमा गा.प.को प्रधानपञ्चको उम्मेदवार भई प्रतिद्वन्द्वी सिंहराज राईलाई भारी मतले पराजय गरी गाउँ सरकारको भूमिकामा आए । पाँच वर्ष प्रधानपञ्च भएर उनले सेवा गरे । २०२९ मङ्सिर २८ देखि २०३५ माघसम्म वासिङ थर्पू गाउँ पञ्चायतको प्रधानपञ्च हँुदा विकास निर्माणका काम गरे । उनको पालामा वासिङ थर्पूको पञ्चकन्या प्रा.वि. बनेको थियो । त्यहींदेखि मुनि गा.प. भवन निर्माण भएको थियो । त्यसपछि उनी जिल्ला पञ्चायतको सदस्यमा निर्वाचित भए ।
परम्परादेखि नै वैदिक सनातन हिन्दू धार्मिक सामाजिक परम्परा अङ्गीकार गरेको परिवारका एक सदस्य स्व. अमरबहादुर कार्कीमा पनि सो धार्मिक सामाजिक चेत र व्यवहार रहेको थियो । उनी बिहान–बेलुका नित्य पूजा—आराधना गर्दथे । पूजा आराधनाको मन्त्र उनलाई सबै कण्ठ हुन्थे । विशेष स्नान—दान, विभिन्न पुराणको आयोजना, श्राद्ध, रुद्री, अतिरुद्री, विभिन्न देवीदेवताको उपासना, पूजा, कुलपूजा आदि धार्मिक आराधना र साँस्कृतिक एवं सामाजिक कार्यहरू उनी गरिरहन्थे । जिल्लाका विभिन्न निकायबाट आएका विशेष अतिथिको सेवा— सत्कार र साथीभाइ तथा कार्यकर्ता भेला, भेटघाट, चियापान, खानपिन, ब्राह्मणहरूको सेवा—सत्कारसहित भोजन गराउनेजस्ता कार्यले उनीभित्रको सेवाभाव पनि प्रष्टिन्छ ।
वि.सं. २०४६ साउन १९ गतेदेखि सोही महिनाको ३० गतेसम्म आफ्नै निवास सिमन्तुवामा अतिरुद्री महायज्ञ सम्पन्न गरेका थिए । अतिरुद्री महायज्ञमा रुद्री, चण्डी, शिव मन्त्र, शिव गायत्री ब्रह्मा गायत्री, विष्णु मन्त्र र गायत्री गीता आदिको पाठ गरी सम्पूर्ण सुतार कार्कीका पितृ र कुलको उद्वार गर्ने काम भएको थियो । महायज्ञमा सम्पूर्ण सुतार कार्की, वासिङ थर्पूवासी, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर लगायतबाट विभिन्न व्यक्तित्वहरु सहभागी थिए । महायज्ञमा पण्डित १५ जना र पुरोहित ३२ जना साथै भान्सेहरु चारजना सहभागी थिए ।
अमरबहादुर कार्कीको इच्छाअनुसार होम गरेको भागलाई शिव मन्दिरमा रुपान्तरण गरिएको छ । उनको जेठा छोरा शङ्कर कार्कीको सक्रियतामा उनी जीवितै हुँदा २०७५ साल भदौ १३ गते हरितालिका तीजका दिन मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । उनको निजी जग्गामा मन्दिर स्थापना गरिएको छ । मन्दिरमा बेलाबखत दर्शनार्थीको भीड हुँदै आएको छ । उनका धर्मपत्नीहरु वसन्तदेवी कार्की र रामकुमारी कार्कीले मन्दिर उद्घाटन गरेका थिए ।
सुतार कार्कीको वंशावली पुस्तक सार्वजनिक
Facebook Comments Box