राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भदौसम्म गरेको प्रगति यस्तो

Nayabimarsha (Weekly Newspaper from Nepal)

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत भाद्र महिनासम्म करिब बयान्नब्बे लाख नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाएको जनाएको छ । विभागले उपलब्ध गराएको विवरण अनुसार उक्त अवधिसम्ममा ९१ लाख ९८ हजार छ सय एक जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
माथिको संख्यामा अभियानमार्फत ७२ लाख २२ हजार एक सय ४७ जनाले तथा इकाईमार्फत १९ लाख ७६ हजार चार सय ५४ जनाले राष्ट्रिय परिचयपत्र बनाएको विभागको तथ्यांकले देखाएको छ । उक्त संख्यामध्ये भाद्र महिनामा मात्र छ लाख सात हजार आठ सय ९१ जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।
परिचयपत्र बनाउनका लागि विभागले विभिन्न जिल्लामा अभियान संचालनमा ल्याएको छ । यस क्रममा हाल सुनसरी, मोरङ, ललितपुर, कपिलबस्तु, मुस्ताङ, बर्दिया, दोलखा, काठमाडौं, गोरखा, वाग्लुङ, दार्चुला, दाङ, सिराहा र धनुषामा हाल अभियानअन्तर्गत परिचयपत्र बनाउने कार्य भैरहेको विभागले जनाएको छ । यसैगरी ३८ वटा जिल्लाहरुमा भने अभियान संचालन सम्पन्न भैसकेको विभागले जनाएको छ । यसरी अभियान सम्पन्न भएका जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, झापा, तेह्रथुम, उदयपुर, खोटाङ रहेका छन् । यस्तै सल्यान, गुल्मी, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, कञ्चनपुर, भोजपुर, इलाम, सुर्खेत, कैलाली र स्याङ्जामा पनि अभियान सम्पन्न भैसकेका छन् । यसैगरी भक्तपुर, धनकुटा, सर्लाही, सिन्धुपाल्चोक, रुकुम (पश्चिम), तनहुूँ, पर्वत, सप्तरी, रुपन्देही र वैतडीमा पनि परिचयपत्र बनाउने अभियान सम्पन्न भैसकेको विभागले जनाएको छ ।
यसैगरी पञ्जीकरणतर्फ भएको विवरण पनि विभागले सार्वजनिक गरेको छ । यसअन्तर्गत व्यक्तिगत घटना दर्ताको तथ्यांक प्रशोधन गरी जनसांख्यिक सूचक उत्पादन तथा प्रकाशन गर्नको लागि केन्द्रीय तथ्यांक विभागसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य भएको विभागले जनाएको छ । यसैगरी गृहसचिवको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत संचालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना को पोर्टफोलियो रिभ्यु मिटिङ सम्पन्न भएको छ । यस्तै, स्थानीय तहहरुबाट आएका पत्रहरुको जवाफ तयार गरी पठाउने कार्य पनि विभागले नियमित रुपमा गर्दै आएको जनाएको छ ।
विभागले उपलब्ध गराएको विवरण अनुसार भाद्र महिनामा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरुको संख्या छ हजार चार सय पाँच पुगेको छ । ती वडाहरुले गरेका कार्यहरुलाई हेर्दा उक्त अवधिसम्ममा ४० लाख ११ हजार ५० वटा घटनाहरु दर्ता भएका थिए । यसरी वडा कार्यालयहरुले अनलाइनलाई मान्यता दिएको अवस्थामा उक्त महिनामा एक सय तीनवटा वडाहरुले अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गराएका थिए ।
भाद्र महिनामा जम्मा ७१ हजार छ सय ८६ जनाको जन्मदर्ता भएको विभागको तथ्यांकले देखाएको छ । यसैगरी मृत्यु हुनेहरुको संख्या १६ हजार चार सय ९६, विवाह २६ हजार तीन सय ७४, सम्बन्ध विच्छेद एक हजार सात सय ४६, बसाइसराइ २० हजार आठ सय ३६ वटा घटना दर्ता भएको विभागले जनाएको छ ।
यसैगरी विभागले सामाजिक सुरक्षा कार्यक्रमतर्फको विवरण पनि सार्वजनिक गरेको छ । भाद्र मसान्तसम्मको आँकडालाई हेर्दा ज्येष्ठ नागरिक (६८ वर्षभन्दा माथि) का १४ लाख ११ हजार दुई सय ९८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको देखिएको छ । यस्तै क्षेत्र तोकिएको ६० वर्ष उमेर पुगेका सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या भने १६ हजार नौ सय १६ रहेको जनाइएको छ । यस्तै ज्येष्ठ नागरिक दलित (६० वर्ष उमेर पुगेका) एक लाख ५६ हजार चार सय ९७, ज्येष्ठ नागरिक (एकल महिला) दुई लाख २१ हजार एक सय ११, विधवा तीन लाख ५३ हजार आठ सय आठ लगायत गरी अन्य विधाका समेतलाई जोड्दा यसतर्फका लाभग्राहीको संख्या ३५ लाख, ७३ हजार पाँच सय ९८ रहेको विभागको तथ्यांकले देखाएको छ ।
यसरी तथ्यांक संकलनमा केन्द्रित रहेको जस्तो देखिने विभागले विभिन्न किसिमका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु पनि गरेको छ । सर्लाही, महोत्तरी, चितवन जिल्लाका विभिन्न पालिकाहरुमा छ सय ४२ जनालाई सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अभिमुखी कार्यक्रम गरिएको विभागले जनाएको छ । यस्तै, धनुषा र सिराहा जिल्लामा एक सय ६३ जनालाई राष्ट्रिय परिचयपत्र अभियान सञ्चालनसम्बन्धी जिल्लास्तरीय समन्वय तथा अन्तक्र्रिया कार्यक्रम गरिएको पनि विभागले जनाएको छ । भाद्र महिनामा नौवटा गुनासाहरु इमेलमार्फत प्राप्त भएकामा तिनीहरुमध्ये सबै नै सम्बोधन गरिएको विभागले जनाएको छ । यस्तै, हेलो सरकारमार्फत नौवटा नै गुनासा विभागमा प्राप्त भएकोमा तिनीहरुमध्ये सातवटा फछ्र्यौट भएका तथा दुइटा प्रक्रियामा रहेका भनी विभागले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *