डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट उठ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि अन्तिम पटक भन्दै जनताको घरदैलोमा पुगेर मत मागी रहेका छन् ।
विकास, सम्बृद्धि र सुशासन एवं संविधानको रक्षाका लागि काँग्रेसका उम्मेदवारहरुले जनता (मतदाता) लाई आश्वस्त पार्दै प्रचार प्रसार तीब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिदा पाका नेताहरुलाई चुनाव हार्ने डरत्रास बढेको देखिन्छ ।
काँग्रेसबाट टिकट पाएर निर्वाचनमा होमिएका नयाँ अनुहारहरुमा धनराज गुरुङ स्याङ्जा २, प्रदीप पौडेल काठमाडौं ५, विश्व पौडेल चितवन १, सन्तोष चालिसे काठमाडौं ३, उमेश श्रेष्ठ चितवन २ (गठबन्धन सरकारको राज्यमन्त्री), डम्बर खड्का इलाम २ रहेका छन् । त्यसैगरी मोहम्मद फि आलाम रौतहट २, श्याम घिमिरे सिन्धुली १, दुर्लभ थापा भक्तपुर २, ज्ञानबहादुर गाहा पाल्पा १, किशोरदत्त बराल कास्की १, विनोद चौधरी पश्चिम नवलपरासी १ रहेका छन् ।
सुदीप राणा बाँके २, योगेश गौचन मुस्ताङ, खुमबहादुर गर्वुजा म्याग्दी र किशोरसिंह राठौर बाँके ३ रहेका छन् । नयाँ अनुसारहरुमा अधिकांश उम्मेदवारहरु युवा रहेको समाचार स्रोतले बताएको छ । उता, काँग्रेसबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शंकर भण्डारी, रमेश लेखक जस्ता युवाहरुले टिकट पाएपछि काँग्रेसप्रति आस्था राख्नेहरु उत्साहित बनेका छन् ।
गठबन्धन नेतृत्वको सरकारमा काँग्रेसले सय बढी सिट प्राप्त गर्ने जानकारहरुको प्रक्षेपण रहेको छ । काँग्रेसबाट शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला जस्ता पाका र अनुभवी नेताहरुमध्येबाट आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
काँग्रेसमा पुराना र नयाँ युवा नेताहरुको आगमनले मुलुकले काँचुली फेर्ने र पार्टीले गति लिने आशा एवं विश्वास जनताले गरेका छन् । स्वास्थ्य, शिक्षा, रोजगार, गरिबी, विकास निर्माण र भ्रष्टाचार एवं कुशासनलाई काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्त्य हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *