उमेरले डाँडो काटे पनि राजनीतिमा चासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एक सय ६५ सिटका लागि दुई हजार चार सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो चुनावमा अधिकांश उम्मेदवार ४० देखि ६० वर्ष उमेर समूहका छन् भने मुस्ताङबाट काँग्रेसको उम्मेदवार बनेका योगेश गौचन थकाली २९ वर्षमा नै सांसद बनेर काँग्रेसको पहिलो खाता खोलेका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट विजयी काँग्रेस उम्मेदवार पनि ५० वर्ष मुनिकै छन् । यसरी राजनीतिमा युवाहरुको लहर चलेको बेला पुराना र प्रमुख दलबाट ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो रहेको छ ।
यता प्रमुख दलका केही शीर्ष नेताहरु भने ७० वर्ष काटी ८० वर्ष पुग्दा पनि चुनावी मैदानमा उत्रिएका छन् । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिनेहरुमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ (समानुपातिक सूचीमा) काँग्रेस नेता अर्जुननसिंह के.सी., रामशरण महत (समानुपातिक सूची), कृष्णप्रसाद सिटौला, पद्मनारायण चौधरी, शेखर कोइराला, नारायण खड्काले ७० वर्ष काटिसकेका छन् ।
काँग्रेसमा देउवा र वरिष्ठ नेता पौडेल सबैभन्दा बढी उमेरका उम्मेदवार हुन् । यसैगरी नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली, जालिम मियाँ र मंगलप्रसाद गुप्ता ७० वर्ष माथिका नेता हुन् ।
माओवादीको चुनाव चिन्हबाट उम्मेदवर बनेका महेन्द्रराय यादव ८० माथि लागिसकेका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के.सी. र काँग्रेस (बि.पी.) ले गोरखा २ बाट उठाएको टीकादत्त पोख्रेल सय वर्ष रहेको समाचार स्रोतले बताएको छ । नेकपा एकीकृत समाजवादीबाट सम्मानित नेता झलनाथ खनाल मात्र ८० बर्ष माथि छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले पनि उमेरले डाँडो काटिसकेका छन् ।
यसरी उमेरले डाँडो काटेका विभिन्न दलका नेताहरुको चासो र सक्रियता राजनीतिमा रहनुलाई अर्थपूर्ण ठानिएको छ । चुनाव जितेपछि कसैलाई प्रधानमन्त्री, कसैलाई मन्त्री र केहीलाई आफ्नो दूनो सोझ्याउने सपनाले ग्रसित बनाएको छ । देशको विकास गर्ने, बेरोजगारी अन्त्य गर्ने, गरिबी हटाउने र महँगी नियन्त्रण गरी जनतालाई राहत दिने कुरामा ती नेताहरुको कहिल्यै ध्यान नगएको भुक्तभोगीहरुले बताएका छन् । यी नेताहरुको कार्यकाल यही नै अन्तिम हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *