सांसद बन्न नागरिकता चाहिँदैन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
अघिल्लो सदनले दुई पटक नागरिकता विधेयक पारित ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरिदिँदा त्यो थन्किएर बसेको छ । नेपालमै जन्मेका, हुर्केका र पढे लेखेका नेपाली नागरिकता पाउनबाट वञ्चित छन् । जसले गर्दा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । उच्च शिक्षा हासिल गर्न, विदेश जान, सिमकार्ड निकाल्न, बैंकमा खाता खोल्नलगायत धेरै सेवासुविधाबाट उनीहरु वञ्चित छन् ।
रवि लामिछानेसँंग नेपाली नागरिकता छैन भन्ने कुरा आयो, अर्थात जे छ त्यो विवादित अवस्थामा छ भन्ने कुरा आएको छ । नेपाली नागरिकता त्यागेका उनी सांसद् बनेर सदनमा जाँदैछन् । न उनले नेपाली नागरिकता निकाल्न कुनै प्रक्रिया नै चालेका छन् । जोसंँग नेपाली नागरिकता छैन, ऊ संसद्मा छिर्दैछ । एउटा विदेशी नागरिकलाई चितवन क्षेत्र नम्बर २ का जनताले मतदान गरेर जिताए । चितवनका जनताले बुझ्दै नबुझी लामिछानेलाई मत दिएका भन्ने पनि आएको छ ।
विदेशी नागरिकता त्यागेको भनी उनले परराष्ट्र मन्त्रालयमा कुनै प्रमाण दिएका छैनन् । यता, नेपाली नागरिकताको प्राप्तिका लागि निवेदन पनि हालेका छैनन् । पहिलो कुरा त रवि लामिछाने नेपाली नागरिक नै होइनन् । अनि उनी कसरी चुनाव लडे ? उनलाई नेपालमा बस्ने अधिकारसमेत छैन । परराष्ट्रले रविलाई नयाँ नागरिकता दिनु भनेर गृह मन्त्रालयलाई पत्र लेखेको छैन ।
यता, गृहले जिल्ला प्रशासन कार्यालयलाई उनको नागरिकता पुनः कायम गर्न पत्र काटेको छैन । अध्यागमन विभागले रविलाई समातेर अमेरिका नै पठाइदिनुपर्छ । विदेशी नागरिक नेपाल आउँदा भीजा लगाएर आउनुपर्छ । भीजा अवधिभरि मात्र ऊ नेपालमा बस्न पाउँछ । भीजा सकिएर पनि नेपालमै छ भने उसलाई जरिवाना गरेर फेरि आफ्नो मुलुक फिर्ता पठाउने कानूनी व्यवस्था छ । अध्यागमनका प्रमुख ऋषिराम तिवारीले तुरुन्त रविलाई अमेरिका फिर्ता पठाउनुपर्छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने उल्लेख छ । उनले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाल सरकारलाई बुझाएका छैनन् भनिन्छ ।
जसलाई नेपालमा बस्ने अधिकार नै छैन उनलाई कसरी संसद्भित्र प्रवेश गर्न दिने ? जोसंँग नेपाली नागरिकता छैन, उसले राष्ट्रियताको कुरा गर्न सुहाउँछ ? नेपालमै जन्मिएको भए पनि नेपाली नागरिकता नभएर विवश भएर बसेका लाखौं जनता छन् । विदेशी आएर नेपालमा चुनाव लडिदिन्छन् । अमेरिकी सरकारले नेपाली नागरिकता खारेज गरेर न आफ्नो देशको नागरिकता दियो ।
एउटै व्यक्तिले दुईवटा नागरिकता बोक्न मिल्दैन । उनले अमेरिकी नागरिकता लिनेबित्तिकै नेपाली नागरिकता खारेज भइसकेको छ । उनले प्रष्ट रुपमा आफूले नेपाली नागरिकता लिनका लागि कुनै प्रक्रिया अघि नबढाएको भनिसकेका छन् । नागरिकताको विषय वर्षौं अघि सल्टिकेको उनले बताउँदै आएका छन् । सरकारलाई कुनै प्रमाण नदेखाइकन उनको नागरिकताको विषय कसरी सल्टियो ?
कि कानून पनि व्यक्तिपिच्छे फरक फरक छ ? कसैले नागरिकता नभएर एउटा सिमकार्ड निकाल्न सकेको छैन, कोही चुनाव लडेका छन् । पहुँच, प्रभाव र पैसा नभएकालाई कानूनले पनि भेदभाव गर्दो रहेछ भन्ने यहीबाट स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले उनलाई चुनाव जितेको प्रमाणपत्र दिनुहुँदैन । आयोगले के हेरेर रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता ग¥यो ?
दल दर्ता गरे पनि नागरिकताको विषयलाई लिएर विवाद बाहिरिएपछि किन छानविन भएन ? यसमा त आयोगका पदाधिकारीको पनि मिलोमतो रहेको देखियो । नागरिकता भनेको एकदम गम्भीर विषय हो । आयोग मौन रह्यो, किन ? नागरिकतामाथि नै प्रश्न उठ्दाउठ्दै पनि कुनै निकायले अनुसन्धान अघि बढाएन । आयोगका कारण विदेशी नागरिकले सदन छिर्ने मौका पाउँदैछन् ।
नेपालको कानूनले विदेशी नागरिकलाई सदन छिर्न इजाजत दिएको छ ? रविको नेपाली नागरिकता छैन भनेर उजुरी पर्दा पनि चितवन क्षेत्र नम्बर २ का जनताले उनलाई मत दिए । देशभरका सञ्चारमाध्यमले रवि नेपाली होइनन्, उनले नेपाली नागरिकता लिएका छैनन् भन्ने कुरा उठाउँदा उठाउँदै पनि चितवनका जनताले उनलाई सांसद् बनाए । ती मत दिने जनतालाई राष्ट्रको अलिकति पनि माया रहेनछ भन्ने खालको सन्देश गएको छ ।
अर्कोतिर पत्रकार शालिग्राम पुडासैनी पनि चितवनमै गएर झुण्डिएका थिए । उनले मर्ने बेलामा रविको कारण आफू आत्महत्या गर्न बाध्य भएको भन्दै भिडियो रेकर्ड गराएका थिए । यति हुँदाहुँदै पनि चितवनका जनताले उनलाई चुने । एकातिर नेपाली नागरिकता छैन, अर्कोतिर कसैलाई मर्न बाध्य बनाएका व्यक्तिलाई मत दिनुले चितवनका जनतामाथि नै प्रश्न उठेको छ ।
नेता गणेशमान सिंहले नेपाली जनता भेडाबाख्रा हुन् भनेका थिए, जुन चितवनका जनतामा लागू भएको भन्ने कुरा पनि आउने गरेको छ । उनले चुनाव जितिसकेका छन् । अब उनीमाथि कारबाही कसले अघि बढाउने ? उनी नेपाली होइनन् भनेर कसले अदालतमा मुद्दा हाल्ने ? सरकार रविको अगाडि निरीह छ । अन्य जनतामाथि यो आरोप लागेको भए सम्बन्धित निकायले समातेर कारबाही अघि बढाइसकेको हुन्थ्यो ।
राजनीतिक दलदेखि लिएर मिडिया सबै उनको सामु गुमसुम छन् । लाखौं नेपालीले आफ्नो जन्मभूमिको नागरिकता त्यागेर विदेशी नागरिकता लिएका छन् । कतिपयले नेपाली नागरिकता त्यागेर भारतीय नागरिकता लिएका छन् । कतिपयले अन्य मुलुकको नागरिकता लिएका होलान् । अब ती सबै मुखले आफूले विदेशी नागरिकता त्यागेको भनेर नेपालमा आएर बस्दा भइहाल्यो ।
रविले मिल्छ भने अरुले किन मिल्दैन ? कानून प्रक्रियाको खाँचो छैन । बेकारमा कानून छ नौटंकी किन देखाउने ? रविले जस्तै सबैले उही कदम चाले भने देशको हालत के हुन्छ ? नेपालको कानून र सरकारलाई रविले चुनौती दिए । उनले अमेरिकाको नागरिकता त्यागेको प्रमाण त अमेरिकी सरकारले अवश्य पनि दिएको होला । सरकारलाई उक्त प्रमाण बुझाउन किन हिच्किचाइरहेका छन् रवि ?
कि अमेरिकी नागरिकता नै नत्यागिकन मुखले मात्र भट्याइरहेका छन् ? राष्ट्रियतामाथि रविले खेलबाड गरेका छन् । यस्तो व्यक्तिलाई सदनमा छिर्नबाट रोक लगाउनुपर्छ । सरकारले कुनै पनि हालतमा उनलाई सदनमा छिर्न दिनुहुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गरेकी छैनन् । उनले राष्ट्रियता जोगाउनका लागि नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने बताएकी थिइन् ।
विदेशी नागरिक संसद् छिर्न लाग्दासमेत के हेरेर बसिरहेकी छिन्, राष्ट्रपति भण्डारी भनी वौद्धिक जगतमा प्रश्न उठ्न थालेको छ । कहाँ गए राष्ट्रियताका ठूल्ठूला कुरा ? राष्ट्र र राष्ट्रियताका ठूल्ठूला गफ दिने रविले नयाँ नागरिकता नेपाली जनतालाई देखाउनुपर्छ । कुन जिल्लाबाट कति गते नागरिकता लिएको ? नागरिकता नम्बर जनतालाई देखाउनुपर्छ । होइन भने तत्काल नेपाल छोड्नुप¥यो । छानबिन प्रक्रिया अघि बढाउन नसक्ने नेपाल सरकारका पदाधिकारीहरुमाथि पनि कारबाही अघि बढाउनुपर्छ ।
गृह मन्त्रालय के हेरेर बसेको छ ? नेपाल सरकारका कर्मचारीहरु किन हात बाँधेर बसेका छन् ? कि उनीसंँग प्रश्न गर्न सक्ने कुनै पदाधिकारी नै छैनन् ? गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव विनोदप्रकाश सिंह के हेरेर बसेका छन् ? राष्ट्रियतामाथि औंला उठिसकेको छ तर सरकार निदाएर बसेको छ । साँसद् हुनेबित्तिकै रविले रातो पासपोर्ट पाउँछन् । संसद् सचिवालयले के आधारमा रविलाई रातो पासपोर्ट दिने ? निर्वाचन आयोगले के हेरेर सांसद्को प्रमाणपत्र दिने ?
विदेशीलाई कुन आधारमा सांसद् प्रमाणपत्र दिने ? सरकारले यो कुराले ख्यालख्याल गर्ने कि तत्कालै ‘एक्सन’ मा जाने ? संसद् सचिवालय, निर्वाचन आयोग, गृह मन्त्रालय, अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयले तत्काल अनुसन्धान अघि बढाउनुपर्छ । सरकारले २४ घण्टाभित्र छानबिन प्रक्रिया अगाडि बढाउनुपर्छ । यो ‘पर्ख र हेर’ भन्ने विषय होइन । यो कुरा यसरी बाहिर आउँदा पनि सरकार हात बाँधेर बस्नु भनेको उनलाई समर्थन गर्नु हो ।
सरकारले नै उनलाई जोगाइरहेको देखिन्छ । रविमाथि जनताले प्रश्न उठाइसकेका छन् । सञ्चारमाध्यमभर यो विषय छ्याप्छ्याप्ती भइसकेको छ । उनीविरुद्ध उजुरी नै पर्दा पनि केलाई छानबिन भएन ? पत्रकारसमेत रहेका उनलाई प्रेस काउन्सिलले के हेरेर प्रेस कार्ड दियो ? नागरिकता नै नहेरिकन प्रेस कार्ड दिइएको हो ? रविले कति ठाउँमा लगानी गरेका होलान् ? कतिपय व्यापार व्यवसाय पनि सञ्चालन गरेका होलान् ? उनले घरजग्गा पनि किनेका होलान् ? यो कसरी सम्भव भयो ? यो विषयमा छानबिन हुन जरुरी छ । यदि उनको दाबी ठीक छ भने सरकारले त्यो ठीक छ भन्नु पर्‍यो । होइन भने उनको विषयलाई जनतासमक्ष सार्वजनिक गर्नु जरुरी छ (लेखिकाको यो विचार व्यक्तिगत हो, यसमा पत्रिकाको कुनै आग्रह पूर्वाग्रह छैन)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *