गृहमन्त्री लामिछानेको अग्नि परीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सचालकबाट छोटो समयमा राजनीतिमा प्रवेश गरी चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मुलुकको चौथो ठूलो दलको सभापति बनेका छन् ।
प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट प्राप्त गरेको लामिछानेको पार्टीले मुलुकमा पुराना स्थापित पार्टीहरुलाई आच्छु–आच्छु पारेर चौथो स्थान ओगट्न सफल भएको हो । चितवन–२ बाट प्रत्यक्ष निर्वाचन जितेका लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सात दलीय गठबन्धनको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
सत्ता बाहिर हुँदा लामिछानेले नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उछितो काढेका थिए । भ्रष्टचारीहरुलाई टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्ने उद्घोष गर्दै कैयाँै विकृति र विसंगतीविरुद्ध आफ्नो पार्टी लाग्ने बताएका थिए । आज तिनै लामिछाने गृहमन्त्री बनेका छन् ।
उनी अब सिडिओहरु र प्रहरी प्रमुखहरुको सरुवामा मात्र केन्द्रित हुन्छन् कि गृहमन्त्री बनेर निमुखालाई न्याय दिने नीति र थिति बसाल्छन् त्यो हेर्न बाँकी छ । सत्ता बाहिर हुँदा तीन हातमाथि उफ्रेर नेताहरु र वर्तमान पद्धति एवं प्रणालीलाई सराप गर्ने लामिछाने सत्तामा गएपछि केही गर्छन् कि भन्ने आशा पलाएको छ । कुशासन, भ्रष्टाचार र महँगीले जरा गाडेको वर्तमान अवस्थामा गृहमन्त्री लामिछानेले कसैको दबाब र प्रभावमा नपरी अघि बढ्नु पर्ने जानकारहरुले बताएका छन् । गृहमन्त्रीले आसचपु अन्तर्गतको दैनिक पाँच लाख रुपियाँसम्म बाँड्ने परिपाटी तुरुन्त बन्द गरी मासिक तलब खाने कर्मचारीले लिने भत्ता समेत बन्द गर्नुपर्ने चर्चा चलेको छ ।
मन्त्री र सचिवले एउटाभन्दा धेरै गाडी राख्ने कार्य तुरुन्त हटाई बलात्कारी र अपराधीहरुलाई कडा सजाय दिई कठघरामा उभ्याउन सके मात्र गृहमन्त्री लामिछानेको पार्टीलाई जनताले जयजयकार गर्लान् नत्र गृहकै कमिशनमा पछि लागे राष्ट्रिय स्वतन्त्र पार्टी अर्को चुनावमा रसातलमा जाने सर्वसाधारणले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *