विचौलियाको बिगबिगी रोर्कौ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई लिएर सधैंजसो गुनासा आउने गरेका छन् । देशैभरी रहेका यस्ता कार्यालहरुमा विचौलियाहरुको असर नराम्ररी बढिरहेको भनी गुनासाहरु आउने गरेका हुन् । प्रहरीले विभिन्न समयमा विचौलियालाई समातेर कारबाही चलाए पनि उनीहरुको असर तगा प्रभाव झनै बढिरहेको गुनासाहरु आउने गरेका छन् । सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँचजनालाई र फर्जी स्वास्थ्य परीक्षण प्रतिवेदन बनाउने कार्यमा सम्लग्न दुईजनालाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीको प्रक्रियामा लगेको छ । रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सीताराम रिजालले बताए अनुसार उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुना यातायात व्यवस्था कार्यालय र काठमाडौँको ठूलोभ¥याङ तथा चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पु¥याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको गुनासा आएपछि प्रहरीले यस विषयलाई अनुसन्धानको दायरामा राखेको थियो ।
यस्ता विचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताइएको छ । यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । यो त भयो प्रहरीतर्फको कुरा । सेवाग्राहीले दुः ख पाएको भनी कुनै बेला प्रहरीले अनुसन्धान थालेको अवस्थामा मात्र यस्तो कुरा आएको हो । यो त अनुसन्धानको दौरान देखिएका, भेटिएका अवस्था हुन् भने दैनिक यस्तो समस्यामा सेवाग्राहीहरु कसरी रुमलिएका होलान् भनी सोचनीय अवस्था सिर्जना गरिदिएको छ । उनीहरुले पाएको सास्ती तथा अनावश्यक खर्च आदि के कति भएका होलान् त्यसको लेखाजोखा नै छैनन् ।
यसरी सरकारी निकायमा हुने यस्ता कुकर्मले एकातिर कर्मचारी बदनाम भएका छन् भने अर्कातिर सेवाग्राही प्रत्यक्ष रुपमा समस्यामा छन् । यो सेवाग्राही, सरकार र विचौलियाको मात्र कुरा होइन । यसले कस्तो असर पार्छ भन्ने कुरा बढी महत्वको हुने हुन्छ । उदाहरणको लागि भनौं कसैले पैसा लिएकै आधारमा स्वास्थ्य अवस्था समेत ठीक छ भनी प्रमाणित भएको कागज दियो र त्यसैको आधारमा सवारी चालक अनुमतिपत्र बनेका खण्डमा त्यसले कस्तो प्रभाव र असर गर्दछ भन्ने हो । यदि अस्वस्थ मानिसलाई समेत स्वस्थ भनी चालक प्रमाणपत्र दिइएको खण्डमा आँखामा कमजोरी भै रंग छुट्ट्याउन नसक्ने अवस्थाको मानिसले सवारी चलाएको खण्डमा त्यसबाट दुर्घटना हुने संभावना प्रवल रहन्छ । यसैगरी अन्य कुनै स्वास्थ्यको कारण सवारी चलाउन दिन नहुने खालका मानिसले चलाउन नमिल्ने वा नसक्ने खालको सवारीको अनुमतिपत्र पाएर उसले त्यस्ता सवारी सडकमा लिएर हिंडेको खण्डमा दुर्घटना पर्ने खतरा बढी नै हुन्छ । त्यसैले यस्तो संवेदनशील क्षेत्रमा विचौलियाको प्रवेश भएका खण्डमा सेवाग्राही बढी तिराइमा पर्ने मात्र होइन कि उस्तै पर्दा दुर्घटनाको बढोत्तरी हुने अवस्था रहन्छ । त्यसैले यस्ता ठाउँहरुका कुनै बेलामा पटके कारबाही गर्ने भन्दा पनि यस्ता ठाउँहरुलाई एकदमै संवेदनशील रुपमा लिई सबैले यस्ता कुकर्म हुनबाट जोगाउनु उचित हुने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *