जुत्ताचप्पल उत्पादक संघमा भाँडभैलो

Nayabimarsha (Weekly Newspaper from Nepal)
विष्णु गिरी निश्चल

काठमाडौं/ पेशागत हकहितका लागि स्थापित भनिएको जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ ।
संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् । मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको आरोप उनीहरुले लगाएका छन् । त्यसको हिसाबकिताब साधारणसभामा हुने भन्दै उनीहरुले आक्रोस व्यक्त गरेकाले पनि यो कुरा कति विवादित रहेछ भन्ने कुराको प्रमाणको रुपमा रहेको चर्चा छ ।
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै बर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । आफैंले बैशाखयता छपटक मेला आयोजना गरिसकेका कारण उसैको निर्णय नै विवादित बन्न पुगेको हो । संघमा गुट बनेपछि एउटा समूहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला हुँदै आएका छन् । संघले यही बर्ष छपटक मेला गरिसकेको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर भृकुटीमण्डपको चौर बुक गरिसकेको छ ।
संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । उनीहरुलाई विधान नमानेको संघको आरोप छ जबकि संघका पदाधिकारी आफैंले यही बर्ष छ पटक मेलामा सहभागिता जनाइसकेका छन् । संघको विधानले बर्षको दुईपटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको थियो । सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरुमाथिको कारबाही फुकुवा गर्नुपर्ने सर्त राखेका थिए ।
संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएकाहरुले मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो । संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् ।
उता, सानो चौरमा भएको मेलामा सहभागिता जनाउनेहरुलाई पाखा लगाउने नियत संघको देखिन्छ । संघको विधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्मा विधानमा बार्षिक रूपमा दुईपटक सेल मेला र एक पटक बार्षिक मेला गर्ने गरी मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट हर बखत ब्यानर मेला लगाई मेला लगाइको बताउँछन् । बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुषको आजसम्म संघले गरेको मेला विधान सम्मत नभएको उनको दाबी छ ।
हिजो भृकुटी मण्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला विधान विपरित भयो भनेर संघका सदस्यहरुलाई कार्बाही गरिएको भनेर प्रचार गरिएको थियो, उनले भने, आजसम्म संघको नाममा लगाएको मेला के विधान सम्मत छ ? यसरी असन्तुष्टी व्यक्त गर्न शर्मा मात्र हैन, धेरै सदस्य छन् । महासंघले एउटा गुटलाई मात्र प्रश्रय दिएको उनीहरुको आरोप छ । त्यसैले पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर, क्यालिबर, मकालु, हाइलाइफ, स्काइ, लेदर विङ्स, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, टाकुरा लगायतका कम्पनीले अहिलेसम्म बुकिङ गरेका छैनन् । ती ब्राण्डको सहभागिता नहुने सम्भावना बढेको छ ।
मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । शिखर सुजलगायतका जुत्ताकम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय ग¥यो ।
केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्र्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादक चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । सानो चौरमा मेला गर्नेहरुलाई चाहिँ उनीहरु विक्रिति भित्र्याएको आरोप लगाउँछन् । अहिले संघको अध्यक्ष नानीराज घिमिरे छन् । उनलाई संघको विवादबारे कुरा गर्न पटकपटक सम्पर्क गर्दा फोन उठाएनन् । संघका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जाडेले भने मेलामा सहभागी हुन कसैलाई रोकतोक नरहेको बताए ।
यसअघि संघले लगाउने मेलामा सबै जुत्ताचप्पल उत्पादकलाई समेट्नुपर्ने भएकाले टाइटल स्पोन्सर कसैलाई नदिने निर्णय कार्यसमितिले पारित गरेको थियो । जुत्ताचप्पल मेला गर्नुअघि सदस्यहरुको भेलाआयोजना गरेर टाइटल स्पोन्सर कसैलाई दिने नदिने निर्णय गरिन्थ्यो । अहिले आएर त्यसलाई मिच्दै केही पदाधिकारीले अवैध निर्णय गरेर २१ गतेदेखि हुने मेलाको टाइटल स्पोन्सर किरण सुज मेनुफेक्चररको गोल्डस्टार सुजलाई दिइएको छ । आफ्नै निर्णय मिच्ने संघको यो कदमको पनि सबैतिर विरोध भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *