विश्वासको मतको भारमा दाहाल : कांग्रेसको रणनीति , ओली झसङ्ग

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर / नेपाली कांग्रेसले समेत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसलगायत सबैजसो दलको विश्वास प्रधानमन्त्री तथा वर्तमान सरकारलाई रहने भनी विश्वासको मत दिंदा वर्तमान सरकारको थाप्लामा भार थपिएको छ । ९९ प्रतिशतको हाराहारीमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत मिलेको अवस्था छ । उक्त दिन विहानसम्म कांग्रेसले के निर्णय लिने हो भनी नेपालको राजनीतिमा व्यग्र प्रतिक्षा रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको थियो ।
उक्त दिन प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको सम्बोधन महत्वपूर्ण थियो । दुर्इृ हप्ताअघि मात्र आफ्नो नेतृत्वको गठबन्धन भत्काएर विपक्षीसँग गठबन्धन बनाउन पुगेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने पक्षमा देउवा देखिने अपेक्षा थियो । त्यसविपरित देउवाले ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने उक्तिलाई साबित गर्दै दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय आफ्नो दलले गरेको भनी प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेका थिए ।
देउवाले विश्वासको मत दिए पनि आफ्नो दलले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु यो गरिमामय संसदको एक महत्वपूर्ण काम हो’, भन्दै उनले ‘यसका साथै सरकारका माथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकंन गर्नु, सरकारका गुण र दोष केलाउनु पनि यसै गरिमामय संसदको कर्तव्य हो ।’ भन्ने धारणा राखे ।
उनले ‘देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसदको क्षेत्राधिकार हो । संसदमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारमाथिको निगरानी र अनुगमनको पद्धति कमजोर हुन्छ ।’ भन्ने धारणा राख्दै ‘सरकारको गुण र दोषका विषयमा छलफलको अभाव हुन्छ । सरकारको उचित मूल्याकंन हुन सक्दैन’ भन्ने धारणा राखेका थिए । उनले कांग्रेस प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराए ।
देउवाले प्रतिपक्षमा रहँदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन नगर्ने जानकारी गराउँदै सरकारका काम कारबाहीहरूको सुक्ष्म रुपले मूल्यांकन गरी गुण र दोषका आधारमा विश्लेषण गरी आफ्नो धारणा बनाउने स्पष्ट पार्दै सोहि आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने पनि स्पष्ट पारे । उनले ‘मुलुकमा दिगो शान्ति, सुशासन, बिकास र संमृद्धि हामी सबैको साझा लक्ष्य हो । यसमा सरकार इमान्दार भई काम गर्न जरुरी छ । छिमेकी देश र मित्र राष्ट्रहरुसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नु पर्दछ ।’ भन्दै उनले अर्थतन्त्रलाई उकास्ने ठोस नीति, योजना र कार्यान्वयन ठोस प्रतिवद्धताको आवश्यकता रहेको औंल्याए ।
उनले भने, ‘संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ । सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप विघटित संसदको पुनःस्थापना गरेको थियो । आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परीक्षणको घडी हो ।’
सम्बोधन भाषण गर्ने कुरालाई खासै प्राथमिकतामा नपार्ने देउवाले उक्त दिन करिब १० मिनेटमा आफ्ना कुराहरु जति स्पष्ट रुपमा राखे त्यसबाट नेकपा (एमाल) तथा त्यस दलका अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने झस्किन पुगेका छन् कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि एमालेभित्र खैलाबैला भएको छ । कांग्रेसले रणनैतिक रुपमा एमालेभित्र आगो लगाइदिएको भनी विश्लेषण हुन थालेको छ ।
देउवाको तीर
कांग्रेसले विश्वासको मत दिने वा नदिने भन्ने कुरामा कांग्रेस भित्र पनि विवाद थियो । देउवा विश्वासको मत दिने पक्षमा थिए भने कांग्रेसका महामन्त्रीद्वय भने विश्वासको मत दिनु नहुने पक्षमा थिए । उनीहरुको तर्क भर्खरै आफ्नो दल तथा गठबन्धनलाई धोका दिएर विपक्षीसँग गठबन्धन गर्न पुगेका दाहाललाई विश्वासको मत नदिई प्रमुख प्रतिपक्षी भूमिकामा रहनुपर्छ भन्ने थियो ।
कांग्रेसजनमा महामन्त्रीद्वयको धारणाका पक्षधर बढी रहे पनि देउवाले विश्वासको मतलाई रणनीतिक रुपमा अघि सारेका देउवा निकटको समाचार स्रोतले जानकारी दिएको छ । राजनीतिका चतूर खेलाडीमध्येमा पर्ने देउवाले अहिलेको अवस्थामा सत्तारुढ गठबन्धनमा विश्वासको मत लिंदासम्म समस्या नआउने स्थितिको विश्लेषण गरी यो निर्णयमा पुगेको बताइएको छ । सत्तारुढ गठबन्धनको मत नै विश्वासको मतका लागि पर्याप्त रहेको अवस्थामा कांग्रेसले मत नदिनुभन्दा दिनु चाहीँ रणनीतिक रुपमा सही हुने आफ्नो धारणा कांग्रेसको बैठकमा राखेका थिए ।
देउवाले विश्वासको मत दिएको खण्डमा माओवादी केन्द्रसँग आफ्नो दलको सम्बन्ध नकारात्मक नरहेको सन्देश जाने बताए । यस्तो अवस्थामा प्रधानमन्त्री दाहाल आफ्नो दलसँग पनि सकारात्मक नै हुने बुझाइमा देउवा रहेका थिए । उनले उस्तै परे हालको अवस्थामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सकिने वा सभामुख भए पनि कांग्रेसले पाउन सक्ने अवस्था बताएको समाचार स्रोतले जानकारी दिएको छ । यसैगरी केन्द्रमा माओवादीसँग नकारात्मक नबन्दा विभिन्न प्रदेशमा बन्ने नयाँ सरकारको रुपरेखा समेत बदल्न सकिने विश्लेषण देउवाले गरेका थिए ।
यसैगरी देउवाको मूल ध्येय भने एमालेका अध्यक्ष ओलीको बलमिच्याइँलाई रोक्नु रहेको स्रोतको दाबी छ । कांग्रेस र माओवादी केन्द्रका बीचमा तिक्तता रहेको सन्देश गएको खण्डमा ३२ सिटे माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालमाथि ओली सधैं हाबी हुने तथा संविधानलाई कुल्चिएर फेरि पनि प्रतिनिधिसभा विघटन गराउन सक्ने अवस्थालाई पनि देउवाले विश्लेषण गरेको बताइन्छ । स्रोतका अनुसार ओलीलाई हाबी हुनबाट रोक्नका लागि पनि दाहाललाई कांग्रेस दह्रो विकल्पको रुपमा रहेको छ भन्ने देखाउनु देउवाको चाहना रहेको बताइन्छ ।
यसैगरी यो निर्णयले गर्दा वर्तमान सरकार अस्थिर वा स्थिर जे पनि बनाउन कांग्रेसको हात हुने सोचाइमा देउवा पुगेका थिए । उनका अनुसार उस्तै परे एमालेलाई सरकारबाट बाहिर पु¥याएर कांग्रेस– माओवादी केन्द्र सहितको सरकार फेरि पनि बनाउन सकिने अवस्था रहन्छ । त्यसैगरी एमाले र माओवादीका बीचमा तिक्तता आएमा वा एमालेका अध्यक्ष ओलीको हेपाहा प्रवृतिलाई दाहालले सहन गर्न नसकेमा पनि कांग्रेस माओवादी केन्द्र सहितको सरकार बन्न सक्ने बुझाइमा देउवा पुगेका पनि बताइएको छ ।
यसैगरी माओवादी र एमालेका बीचमा तिक्तता आएको अवस्थामा एमालेले वर्तमान सरकालाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था पनि आउन सक्ने बुझाइमा देउवा पुगेको स्रोतको दाबी छ । त्यस्तो अवस्थामा कांग्रेस र माओवादी केन्द्रसहितको सरकार बन्ने संभावना जति रहन्छ त्यति नै कांग्रेस– एमालेको सरकार पनि बन्न सक्ने अवस्था रहन्छ ।
देउवाको विश्वासको मतको तीरले अर्को पनि संभावनाको ढोका खोलेको राजनीतिक विश्लेषक रामेश्वर ढकाल गर्दछन् । विश्लेषक ढकालका अनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्थामा भोलिका दिनमा कुनै पनि बेला आफ्नो पक्षमा माहोल बनेका खण्डमा विश्वास फिर्ता लिन सक्ने अवस्था रहन्छ । त्यसरी कांग्रेसले विश्वास फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री दाहालले फेरि पनि विश्वासको मत लिनुपर्ने अवस्था आउँदाका बीचमा राजनीतिमा धेरै परिवर्तन आउन सक्ने अवस्था पनि हुनसक्छ । कांग्रेसले विश्वासको मत दिनुको साटो नदिएको भए कांग्रेस प्रतिपक्षी दल हो वा होइन भन्ने कुरा विवादमा अहिले नआउने स्थिति रहेको पनि ढकाल बताउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *