दाहाल र देउवा मिल्ने संकेत, भित्तामा पुग्दै ओली !

Nayabimarsha (Weekly Newspaper from Nepal)
अनुसा थापा

बुढापाकाले भन्थे, ‘१२ वर्ष पुगेपछि उँधो बगेको खोलो पनि उँभो फर्किन्छ । बाउबाजेले गरेको पाप नातिलेसम्म भोग्नुपर्छ ।’ २०७४ फागुन ३ गते खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुने बेलामा लिखित सम्झौता भएको थियो । पाँच वर्षमा आधाआधा कार्यकाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र ओलीले चलाउने भनेर सहमति जनाइएको थियो । ३० महिना पुगेपछि दाहालले प्रधानमन्त्री पद मागे । ओलीले सरासर इन्कार गरे । दाहालसंँग गरेको लिखित सम्झौतालाई नै ओलीले मानेनन् ।
न पार्टीको अध्यक्ष छोडे न प्रधानमन्त्री । ओलीबाट भएको विश्वासघातका कारण दाहाल रन्थनिए । ओलीले दाहाललाई भित्तामा पु¥याउन खोजेका थिए तर दाहाल र माधवकुमार नेपाल मिलेर ओलीको पार्टीको सदस्यसमेत खारेज गरिदिए । त्यही झाेंकमा आएर ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरिदिए । प्रधानमन्त्री दाहाललाई दिनुपर्छ, आफ्नो हातबाट पद गुम्ने देखेपछि उनले दुई दुई चोटि प्रतिनिधिसभा विघटन गरे ।
दाहालले आफूले प्रधानमन्त्री खाएनन् । बरु, माधवकुमार नेपाल र दाहाल मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । २०७९ मंसिर ४ गतेको चुनावमा नेकपा (एमाले) लाई जनताले पत्याएनन् । जनताले बहुमत नदिएपछि बनिबनाऊ पाँच दलको गठबन्धन फुटाएर ओलीले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरे । ओली र दाहालको सम्झौतामा आधाआधा कार्यकाल प्रधानमन्त्री खाने भएको बताइन्छ । अन्य पदमा पनि यी दुई दलबाट भागबण्डा मिलेर जाने सहमति जनाइएको एमालेका सांसद्हरु बताउँछन् ।
हिजो ओलीले दाहाललाई दिएको धोकाबाट सबै जानकार छन् । माओवादीका नेतालाई पनि थाहा छ सर्वसाधारणले पनि राम्ररी बुझेका छन् । माओवादीका कार्यकर्ताहरु एमालेलाई सभामुख र राष्ट्रपति दिन नहुने धारणा राख्छन् । साढे दुई वर्षपछि एमालेलाई सरकार हस्तान्तरण पनि गर्नुहुँदैन भन्नेमा कार्यकर्ताहरुको जोड छ । हिजो दिएको धोकाको तिरो एमालेले तिर्नुपर्ने उनीहरु बताउँछन् । माओवादीका कार्यकर्ताले भनेअनुसार र कांग्रेसले दाहाललाई विश्वासको मत दिएअनुसार अब सभामुख वा राष्ट्रपतिमा कांग्रेस आउँछ भन्ने आम बुझाइ रहेको छ ।
माओवादीले कांग्रेसलाई समर्थन गर्ने निश्चित छ । दाहाल र देउवाको आधाआधा सरकार चलाउने भनेर गोप्य सम्झौता भएको भनी कांग्रेसका कार्यकर्ताहरुले बताउँदै आएका छन् । दुई वर्ष दाहाल, दुई वर्ष देउवा र एक वर्ष नेपालले चलाउने सहमति भएको कुरा छ्याप्छ्याप्ती बाहिर आएको छ । कांग्रेसले विश्वासको मत दिँदा दाहाल खुशीले गद्गद् भएका थिए । त्यति खुशी त उनी एमालेले समर्थन गर्दा पनि भएका थिएनन् । समय बित्दै गए पनि दाहालले धोका बिर्सन सकेका छैनन् ।
ओलीको चालदेखि दाहाल पूरै जानकार छन् । माओवादीका कार्यकर्ताहरु एमालेलाई धेरै मन्त्रालय दिन नहुने र विष्णुप्रसाद पौडेललाई अर्थमन्त्रीबाट हटाउनुपर्ने बताउँछन् । कांग्रेसले दाहाललाई समर्थन गरेर विश्वासको मत दिनेबित्तिकै ओलीको अनुहार हेर्नेलायक बनेको थियो । उनी निलोकालो भएका थिए । ओलीले समेत आफू प्रधानमन्त्री पाउँदिन भनेर पत्तो पाइसकेका थिए । ओलीको राजनीति सिद्धिसकेको छ । उनको प्रधानमन्त्रीको यात्रा पनि यहीसम्म थियो ।
दाहाल र देउवा मिलेर ओलीको राजनीति तहसनहस पारिदिए । एमालेलाई भित्तामा पुर्याउन यिनीहरु सफल बने । अहिले प्रदेशमा एमालेका मुख्यमन्त्री आएका छन् । केही महिनापछि मुख्यमन्त्री फेरिने छन् । माओवादी, कांग्रेस वा एकीकृत समाजवादीका मुख्यमन्त्री आउने छन् । सभामुख र उपसभामुख पनि एमालेले पाउँदैन । माओवादीले कांग्रेसलाई मतदान गर्छ । जुन सपना देखेर ओलीले दाहाललाई आफ्नो गठबन्धनमा ल्याएको थियो, त्यो चक्नाचुर भइसकेको छ ।
देउवाले ओलीको सपनामाथि पानी खन्याइदिएका छन् । पाँच दलीय गठबन्धन फुटाएर प्रधानमन्त्री बन्छु भनेर हिँडेका ओलीको जालो देउवाले तोडिदिइसकेका छन् । राजनीतिमा ओलीभन्दा देउवा चतुरे रहेछन् भन्ने स्पष्ट भइसकेको छ । देउवासंँग दाहाल निकै खुसी हुन्छन् । उनको अनुहार कति उज्यालो देखिन्छ । त्यही दाहाल ओलीसँंग बस्दा शिर निहुराएर बस्छन् । कारण त हिजो ओलीले दिएको धोका नै हो । ओलीलाई भ¥याङ बनाएर दाहालले सबैतिरबाट विश्वासको मत लिए ।
कांग्रेस, एमाले, समाजवादीलगायत अन्य दलले उनलाई विश्वासको मत दिए । अब आउने पाँच वर्षको चुनावमा एमालेलाई छ्याप्छ्याप्ती खोज्नुपर्ने हुन्छ । अहिले ७८ सांसद् भएको एमाले पाँच वर्षपछि १८ मा झर्छ । दिँउसै टुकी बालेर एमालेको खोजी गर्नुपर्छ । एमालेसंँगै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सिद्धियो । रास्वपाका सभापति रवि लामिछानेले हिजो तिनै दाहाललाई तथानाम गाली गरेका थिए । माओवादीको विरोध गर्ने रविले दाहाललाई नै विश्वासको मत दिए ।
दाहालकै सरकारमा उनी गृहमन्त्री छन् । पाँच वर्षपछि रास्वपाले यसको नतिजा भोग्नेछ । अहिले २० सीट पाएको रास्वपाले एक सीट पनि पाँउदैन भन्ने कुराको विकास हुँदै गएको छ । राप्रपाले राजतन्त्र र हिन्दु राज्य चाहन्छ । हामी राजतन्त्र फर्काउछौं भनेर जनतासंँग मत माग्यो । अहिले आएर गणतन्त्र ल्याउने, राजा भगाउने र हिन्दु राज्य सखाप पार्ने नेतालाई नै राप्रपाले विश्वासको मत दियो । राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलाई कालोमोसो लगाएर जनताले लखेट्ने छन् । कमलबहादुर थापाको जस्तै हालत यिनको हुने छ ।
२०७० सालको चुनावमा राप्रपाका नेता कमलबहादुर थापाले मुलुकमा राजतन्त्र फर्काउछु । हिन्दु राज्य ल्याउँछु भनेर जनतासँग मत मागेका छन् । उनले त्यतिखेर २४ सीट जितेका थिए । दाहालकै सरकारमा कमल उपप्रधानमन्त्री भए । पटकपटक सरकारमा कमल गएपछि ०७४ सालको चुनावमा राप्रपा शून्यमा झ¥यो । देशभरबाट एउटै राजेन्द्र लिङ्देनले मात्र विजयी हात पारे । अहिले फेरि पनि राजेन्द्रले उही ठोकुवा गरेर जनतासंँग मत मागेका हुन् । उनले दाहाललाई विश्वासको मत दिएका छन् ।
अधिकांश नेताहरु राजनीति सकाउने खुड्किलो चढिरहेका छन् । हिजो अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले व्यापारीहरुसंँग पैसा उठाएर खाए । आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति उनले जोडेका छन् । दाहाल र माओवादीको खुंखार विरोध गर्ने नेतामा पर्छन्, उनी । जुम्लाबाट माओवादीका नेतालाई हराएर संसद्सम्म आए । उनको पनि उही पारा देखियो । अहिले आएर उनले पनि दाहाललाई नै मतदान गरेका छन् । सबैको राजनीति तहसनहस बनाएर माथि पुग्ने नेता बनेका छन् दाहाल र देउवा ।
पाँच वर्षपछिको चुनावमा पहिलो दल कांग्रेस र दोस्रो पार्टी माओवादी हुन्छ । अन्य त बलीको बोका मात्रै बने । कांग्रेस र माओवादीको विरोध गरेर संसद् छिरेका रवि लामिछाने र ज्ञानेन्द्र शाहीजस्ताको हालत पाँच वर्षपछि देखिन्छ । कुन नेताले के बोल्यो ? कस्ता काम ग¥यो ? भनेर सोचविचार गरेर बसेका हुन्छन् । त्यसको नतिजा जनताले चुनाव आएपछि दिन्छन् । एमालेका महेश बस्नेतलाई नै उदाहरणको रुपमा लिऔं । उनले भन्ने गर्थे, ‘एमालेको नेता मै हुँ । एमाले नै मैले चलाएको हुँ । खड्गप्रसाद शर्मा ओली पनि मै हुँ ।’
भक्तपुर क्षेत्र नम्बर २ मा मैले यत्रो विकास गरेँ भनेर मिडियाबाजी गर्दै हिँड्ने बस्नेत अहिले घरमा थन्किएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई गाली गरेको नतिजा उनले गत निर्वाचनमा पाइसकेका छन् । चुनाव हारेपछि उनी घरबाट बाहिर निस्किएका छन् । हिजो ठूल्ठूला दाबा गरेका उनी अहिले आएर लज्जित बन्नुपरेको छ । उनकै बाटोमा हिँडिरहेका छन् अन्य दलका नेताहरु । एमाले, राप्रपा र रास्वपाका नेताहरु पनि घरमै थन्किन्छन् ।
३२ सीट ल्याएको दलको अध्यक्ष अहिले देशका प्रधानमन्त्री छन् । पहिलो नम्बरमा आएको दलसमेत दाहालकै पछिपछि हिँडेको छ । दाहालले यसरी अन्य दलको राजनीति खाइदिन्छन् भनेर कसैले पनि सोचेका थिएनन् । आधाआधा कार्यकाल कांग्रेस र माओवादीले बाँडफाँड गर्छ भनेर जनताले सोचका थिए । त्यस्तै, सभामुख, उपसभामुख, राष्ट्रपतिको भागबण्डा पनि त्यसरी नै होला भनिएको थियो तर ओलीले जालो हालिहाले । उनले आफूपट्टी ताने तर त्यो केही दिनका लागि मात्र हुने भयो ।
कांग्रेसले दाहाललाई विश्वासको मत नदिएको भए ओली सफल हुन्थे तर परिस्थिति फेरिएको छ । ओलीसंँग नैतिकता छ भने सरकारबाट हटेर विपक्षमा बस्नु नै उचित हुन्छ । दाहालले ओलीलाई धोका दिने निश्चित छ । अब उही पुरानो गठबन्धन फर्किन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *