राष्ट्रपति निर्वाचनमा काँग्रेसले गोल हान्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ऐन कानूनमा देखिएको समस्या समाधान गरेपछि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका प्रकाशित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आगामी फागुन २८ मा सकिने भएपछि निर्वाचन आयोगले आगामी २०७९ फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ ।
गत २०७९ पौष १० गते एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवास बालकोटमा भएको मौखिक सहमति अनुसार राष्ट्रपति र सभामुख एमोललाई दिने सहमति भएको भनेर एमालेले आफ्नो उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । हाल प्रतिनिधिसभामा कायम रहेका स्वतन्त्र बाहेक राजनीतिक दलहरुमध्ये सातवटा दल सरकारमा सहभागी हुने बताइए पनि पाँचवटा मात्र माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत सरकारमा रहेका छन् । जनता समाजवादी पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेर पनि आफ्नो माग मुद्दा सम्बोधन नभएको भन्दै सरकारमा गएका छैनन् ।
प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको काँग्रेसले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने घोषणा गरेको छ । प्रधानमन्त्री दाहालले पनि सहमतिका आधारमा राष्ट्रपति बन्नुपर्ने भन्दै काँग्रेसलाई घुमाउरो तरिकाले समर्थन गर्ने बताएपछि एमाले झस्किएको छ । मतभारका हिसाबले काँग्रेससँग १६ हजार बढी मत छ । माओवादीको सात हजार सात सय ४५, अन्य साना दलले समर्थन गरे काँग्रेसले २७ हजार बढी मत ल्याउने जानकारहरुले बताएका छन् ।
यसरी मेसी बनेर गोल हान्ने रणनीतिमा लागेको काँग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, कूलबहादुर गुरुङ र मानबहादुर विश्वकर्मामध्येबाट एकजना उम्मेदवार बनाउने चर्चा चलेको छ । त्याग र निष्ठाका हिसावबे पौडेलको नाम अग्रपंक्तिमा रहेको जानकारहरुले बताएका छन् ।
हाल काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र उन्मुक्ति पार्टीको मतभार र माओवादी केन्द्रका समेत गर्दा काँग्रेसले राष्ट्रपति पाउने राजनीतिक वृत्तमा चर्चा चलेको छ । हाल जसपा दुई हजार एक सय ४५, नेकपा एस दुई हजार पाँच सय ७४, जनमत एक हजार दुई सय ४२, लोसपा नौ सय ७१, नागरिक उन्मुक्ति आठ सय ९२, जनमोर्चाको दुई सय छ मतभार रहेको अवस्थामा माओवादी निर्णायक मानिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *