उपनिर्वाचनको तयारी शुरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख १० गते नै बारा–२ र तनहुँ–१ मा पनि उपनिर्वाचन गर्ने भएको छ । तनहूँ क्षेत्र नं.१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं.२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकाले उनीहरुको स्थानमा उपचुनाव सोही मितिमा गर्ने तयारीमा आयोग जुटेको हो । सो उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आयोगले आह्वान गरेको छ ।
सो उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आह्वान गरिएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन क्षेत्र नं.२ मा उक्त मितिमै उपनिर्वाचन गर्ने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्था छ ।
आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुट्याएको हो । यसरी उपनिर्वाचन हुने अवस्था नजिएको स्थितिमा विभिन्न दलहरु आफ्नोतर्फबाट उम्मेदवार बनाउने नेताको चयन प्रक्रियामा केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नं.१ मा उम्मेदवारको चयन प्रक्रियालाई अघि बढाएको छ भने चितवनका लागि प्रक्रिया झनै अघि बढी सकेको स्थिति छ । यसैगरी, बारामा भने कांग्रेसले गठबन्धनको तर्फबाट जनता समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने संभावना रहेको बताइएको छ । त्यस्तो अवस्थामा जसपाले उक्त निर्वाचनमा आफ्नो उम्मेदवार उठाउने तथा हालको सत्ता कित्तामा रहेका दलहरुले जसपाको उम्मेदवारलाई साथ दिने संभावना प्रवल रहेको समाचार स्रोतको दाबी छ ।
उता, बारामा जसपाले सो दलका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने संभावना बढेको चर्चा छ । त्यसो त रामसहायप्रसाद यादवसँग निकटतम् प्रतिस्पर्धी रहेका नेकपा (माओवादी केन्द्र) का तात्कालीन उम्मेदवारले पनि आफ्नो उम्मेदवारी रहने बताएका छन् । चार सय मतान्तरले पराजित रहेका माओवादी केन्द्रका उम्मेदवारले यस पटक पनि आफू उम्मेदवार बन्ने भने पनि उनको दलले उम्मेदवारीका विषयमा कुनै निर्णय गरेको छैन ।
उता, अघिल्लो निर्वाचनमा बारा क्षेत्र नं.२ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई आफ्नोतर्फबाट उम्मेदवार बनाएको नेकपा (एमाले) ले अहिले भने आफ्नो छुट्टै उम्मेदवार बनाउने अवस्था आएको छ । त्यो बेलामा एमाले र जसपाले तालमेल गरेका थिए । पछिल्लो अवस्थामा जसपा एमालेबाट अलग भएको छ । सो निर्वाचन क्षेत्रमा अघिल्लो पटक कांग्रेसले उम्मेदवारी दिएको थिएन । कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीले संयुक्त रुपमा माओवादी केन्द्रका उम्मेदवारलाई साथ दिएका थिए । अहिले पनि ती दलको समर्थन जसपालाई रहने तथा एमालेले छुट्टै उम्मेदवार बनाउने संभावना रहेको बताइन्छ ।
एमालेले भने यी तीनै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार बनाउने तयारी गरेको छ । तनहूँ क्षेत्र नं.१ मा रामचन्द्र पौडेलको विरुद्ध कांग्रेसबाट विद्रोह गरी उठेका पूर्वमन्त्री गोविन्दराज जोशीलाई एमालेले सहयोग गरेको थियो । अब हुने निर्वाचनमा जोशी उम्मेदवार बन्ने वा नबन्ने निश्चित नभएको अवस्था छ । यस्तो अवस्थामा एमालेले आफ्नै छुट्टै उम्मेदवार बनाउने संभावना प्रबल रहेको बताइन्छ । यस्तै, चितवनमा पनि एमालेले आफ्नै उम्मेदवार बनाउने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *