उपेन्द्र यादवलाई झनै सकस

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ बारा जिल्लाको क्षेत्र नं.२ मा आगामी बैशाख १० गते हुने उपचुनावमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चासँगै उनलाई सकस पर्ने विश्लेषण गर्न थालिएको छ । यादवले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न चाहेको हालको अवस्थामा उनका लागि त्यस्तो अवस्था बन्न झनै सकसपूर्ण कार्य हुने बताइन्छ ।
गत निर्वाचनमा सप्तरी क्षेत्र नंं.२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सि.के.) राउतसँग नराम्रोसँग पराजित भएका यादवले हाल रिक्त रहेको बारा क्षेत्र नं.२ मा आफूले उम्मेदवारी दिने गरी तयारी थालेका छन् । उनले आफूलाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउने अपेक्षा गरे पनि अवस्था त्यस्तो सहज नबनेको बताइन्छ ।
सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) मा मात्र होइन कि तराईलाई आधार बनाएर राजनीति गर्दै आएका जनमत र लोकतान्त्रिक समाजवादी पार्टीमा समेत यादवलाई साझा उम्मेदवार बनाउन नसकिने आवाज उठ्न थालेको छ । आफू उपनिर्वाचनमार्फत संसदमा प्रवेश गर्ने योजनासहित यादवले उपराष्ट्रपतिमा आपूm निकटका रामसहायप्रसाद यादवलाई निर्वाचित गराउन सफल भएका थिए ।
सत्ता गठबन्धनबाट जसपाले यसअघि जितेको स्थानमा जसपालाई नै छाडिदिने भन्ने बुझाइमा रहेका उपेन्द्र यादवकै कारण त्यहाँ साझा उम्मेदवार बनाउन समस्या हुने देखिएको समाचार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जसपालाई छाड्न सत्तारुढ गठबन्धन तयार देखिए पनि उपेन्द्रका हकमा उनीहरु सहमत हुन नसक्ने संकेत गरेको बताइएको छ ।
यादवलाई जनमत पार्टी र लोसपाले नस्वीकार्ने अवस्था छ । जनमत पार्टीले आफ्नो दलका तर्फबाट उम्मेदवार बन्ने घोषणा गरिसकेको छ भने लोसपाले पनि उनलाई सहजै स्वीकार्ने अवस्था नरहेको भन्ने गरिन्छ । यसैगरी गठबन्धनकै कारण बारा जिल्लामा गत निर्वाचनमा शून्यको अवस्थामा पुगेको कांग्रेस पनि सो क्षेत्रमा आफ्नो उम्मेदवारलाई उठाएर जिताएर जिल्लामा शून्य हुनबाट जोगिन चाहिरहेको छ ।
बारा कांग्रेसले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन दबाब दिंदै आएको छ । मित्रवत् रुपमा सबै दलका उम्मेदवारहरुका बीचमा स्वस्थ प्रतिस्पर्धा हुँदा कांग्रेसका उम्मेदवारले सहज जित निकाल्ने विश्लेषण बारा कांग्रेसले गरेको छ । उनीहरु पनि अरुलाई छोडे पनि उपेन्द्र यादवलाई छोड्न नसक्ने, छोडे पनि उनले जित निकाल्न नसक्ने भन्ने पक्षमा देखिएका छन् ।
यसैगरी गत निर्वाचनमा कांग्रेस– माओवादी केन्द्रका साझा उम्मेदवारका रुपमा रहेका शिवचन्द्रप्रसाद कुशवाह पनि उम्मेदवार बन्ने पक्षमा रहेका छन् । रामसहायप्रसाद यादवले १३ हजार आठ सय २२ मत ल्याएर जित्दा कुशवाहाले १३ हजार चार सय ६८ मत ल्याएका थिए । यसरी तीन सय ५४ मतान्तरमात्र पराजित बनेका कुशवाहा यस पटक आफू जसरी पनि उम्मेदवार बन्ने बताउँदै आएका छन् । उनले माओवादी केन्द्रले उम्मेदवार नबनाउने उनले जनमत पार्टीमा बुधबार प्रवेश गरी उम्मेदवार बन्ने बाटो खोलेका छन् ।
यसअघि जसपालाई समर्थन गर्दै उम्मेदवारी नदिएको एमालेले भने यस पटक आफ्नै उम्मेदवार बनाउने संभावना बढेको बताइन्छ । एमाले अहिले सत्तारुढ गठबन्धनमा नरहेका कारण पनि उसले छुट्टै उम्मेदवार बनाउने संभावना बढेको हो ।
सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादवलाई उम्मेदवार बनाइए पनि गत निर्वाचनको मत परिणामलाई हेर्दा सहज अवस्था भने नदेखिने बताइन्छ । अघिल्लो निर्वाचनमा एमालेसमेतको साझा उम्मेदवार बन्दा जसपाका उम्मेददवार कांग्रेस–माओवादीको साझा उम्मेदवार बनेका कुशवाहाभन्दा तीन सय ५४ मतान्तरले विजयी भएका थिए ।
यस्तो अवस्थामा कांग्रेस माओवादीको साथ पाएको अवस्थामा उपेन्द्रले कुशवाहाको भन्दा केही हजार मत मात्र बढी प्राप्त गर्ने अवस्था रहन्छ । यसरी मत प्राप्त गर्दा पहिले जसपाले पाएको मतबाट एमालेको मत घट्ने हुन्छ । त्यसमाथि जनमत, लोसपाले आफ्नै उम्मेदवार उठाएका खण्डमा त्यो मत घट्ने मात्र होइन कि उनीहरुले उम्मेदवार नउठाएको खण्डमा उनीहरुले उपेन्द्रलाई पराजित गर्नका लागि एमालेका उम्मेदवारलाई भित्री रुपमा मतदान गरी सहयोग गर्न सक्ने संभावना पनि रहेको समाचार स्रोतको आंकलन छ ।
यसैगरी अघिल्लो निर्वाचनमा सो क्षेत्रमा तेस्रो हुने स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गरेका थिए । चौथो हुने स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार सात सय ५० मत पाएका थिए । यसैगरी पाँचौं हुने स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले सात हजार छ सय ९८ तथा छैटौं हुने जनमतका राजेश साहले दुई हजार सात सय २५ मत पाएका थिए ।
पछिल्लो अवस्थामा त्यो बेला स्वतन्त्र उम्मेदवारहरुले पाएको मत अबको निर्वाचनमा कता जाने भन्ने कुरा निर्णायक भएर आउने अनुमान गरिएको छ । त्यो मत कता जाने र अन्य उम्मेदवार को बन्ने भन्ने कुराले समेत अर्थ राख्ने अवस्था रहेका कारण उपेन्द्र नै उठेको अवस्थामा पनि जित निकाल्न भने सहज अवस्था भने माथिको आंँकडाले स्पष्ट रुपमा नरहेको देखाउने भनी विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *