सम्पादकीय
प्रधानमन्त्रीमा आसीन भएका पुष्पकमल दाहालले त्यो बेलाको गठबन्धन तोडी नयाँ गठबन्धनको आधारमा सत्तालाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री बन्नका लागि एउटा गठबन्धन बनाउन पुगेका दाहाल पछिल्लो समयमा अर्को गठबन्धन बनाई प्रधानमन्त्रीमा विश्वासको मत पनि लिइसकेका छन् । उनले सत्तास्वार्थलाई मान्यता दिएका कारण अहिले केन्द्रमा मात्र होइन कि सबै प्रदेश सरकारहरु नै फेरबदल हुने अवस्थामा पुगेका छन् । सबैतिर सत्तास्वार्थमात्र देखिएको छ । यसमा सबै दलहरुको भूमिका उस्तै देखिएको छ । केन्द्रीय सरकारबाट बाहिरिएका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सत्तामोह कायमै देखिएको छ । उनीहरुले एमालेको नेतृत्वमा बनेका प्रदेश सरकारहरुलाई टिकाउन सकिन्छ कि भन्ने खेल खेलिरहेका छन् । नयाँ गठबन्धन बनेको अवस्थामा एमाले नेतृत्वका सबै प्रदेश सरकारहरु अल्पमतमा परिसकेको हालको अवस्थामा पनि एमालेका मुख्यमन्त्रीहरु नैतिकता गुमाएर सरकारमै टाँसिएर बसेका छन् । यसैगरी केन्द्रदेखि सबैतिरको सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरुमा भने सामेलै छ । उता, नेकपा (माओवादी केन्द्र) को नेतृत्व रहेका प्रदेश सरकारहरुबाट राप्रपा बाहिरिएको छ ।
यसरी हेर्दा राप्रपा र एमालेमा सत्तामोहले काम गरिरहेको छ । एमालेका नेताहरुले अरु दललाई सत्तालिप्साको आरोप लगाए पनि पाएसम्म सत्तालिप्सामा एमाले तथा राप्रपा पनि कम नरहेको देखिएको छ । एमाले अझै पनि केही गरी वर्तमान गठबन्धनलाई टुटाउन सकिन्छ कि भनी लागिपरेको अवस्था छ । सबै दलहरु सत्तास्वार्थमा मात्र केन्द्रित देखिएका छन् । साना हुन् कि ठूला दल सबैले सत्तालाई मात्र केन्द्रमा राखेको देखिएको छ । एउटाको गठबन्धन भत्काउन अर्कोसँग जस्तो सुकै साँठगाँठ गर्न पनि पछि नपर्ने खालको क्रियाकलापहरु दलहरुले देखाइरहेका छन् । सरकार गठन र विघटनको खेलमा मात्र दलहरु केन्द्रित रहेका देखिन्छन् । अहिलेको अवस्थामा केही दल मिलेर सरकार बनाए एमालेसहित केही दल वा एमाले सिङ्गो रुपमा प्रतिपक्षमा बसी सरकारलाई सही ढंगबाट संचालन हुन खवरदारी गर्नुपर्ने भूमिकामा रहनुपर्ने हो । त्यस्तो हुन सकिरहेको छैन । सबैले आफ्नो व्यक्तिगत र दलगत स्वार्थलाई मात्र ध्यान दिएर कार्य गरिरहेको स्पष्ट देखिन्छ । दलहरु बनाउने भन्दा पनि कसरी विगार्ने भन्ने कुरामा केन्द्रित रहँदै आएका छन् ।
दलहरुको राजनीतिक स्वार्थलाई हेर्ने हो भने सत्तामा पुग्नु उनीहरुका लागि सबैभन्दा महत्वपूर्ण र उपलब्धीमूलक कार्य पनि होला । यस्तो हुनुलाई राजनीतिक सिद्धान्तको रुपमा ठीकै पनि ठानिएला । नेपालको परिस्थितिमा भने यो कुरा अलि अपच हुने खालको देखिएको छ । विश्व नै आर्थिक मन्दीको मारमा परिरहेको हालको अवस्थामा नेपालको आर्थिक अवस्था पनि नाजूक बन्दै गैरहेको छ । नेपालमा रहेका राजनीतिक दलहरु तथा तिनका नेताहरुले व्यक्तिगत र दलगत स्वार्थ राखिदिनाले समस्या झनै बढ्ने गरेको देखिन्छ । नेपालमा राजनीतिक स्थिरताका लागि दलहरुको भूमिका महत्वपूर्ण हुने हुन्छ । दलहरुले सही कार्य गर्न सकेमा मात्र जनताको भलाइ हुन्छ । यो कुरालाई ख्याल गरी सत्तामा रहेका हुन् वा बाहिर रहेका हुन्, दलहरु र नेताहरुले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठ्नु जरुरी छ । उनीहरुले जनस्वार्थलाई ध्यानमा राखी कार्य गरेमा मात्र मुलुकले केहीमात्रामा सही मार्गमा लाग्ने मौका पाउन सक्छ । यो कुरालाई ख्याल गरी सबै दल तथा तिनीहरुका नेताहरुले जनस्वार्थलाई केन्द्रमा राखी कार्य गर्नु आजको आवश्यकता हो ।