हाइकु साधना र अध्ययन केन्द्र बनाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काभ्रेपलाञ्चोक/ नेपाल हाइकु केन्द्र (नेहाके) ले काभ्रेपलाञ्चोकको बनेपामा रहेकोे अक्षरधाममा निर्माण गरेको हाइकु–राम–झुपडीको शनिबार उद्घाटन गरिएको छ ।
हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह “हाइकु बड’’, डा. यादव ढुङ्गानाको “नेपाली सुनौलो शिर’’ र चन्द्रकला शाहको “कोसेली’’ विमोचन समेत गरिएको छ । बाह्र वर्षअघि परिकल्पना र निर्माण प्रारम्भ गरेर संचालनमा ल्याइएको अक्षरधाम विकासमा क्रियाशील दुई संस्थामध्ये शब्द साधकका अध्यक्ष हरि मन्जुश्रीले आफ्नो पत्रकारिता तथा साहित्यिक अनुभवबाट नै एउटा गतिलो साहित्यक गन्तव्यस्थल निर्माण गर्ने प्रेरणा प्राप्त भएको जानकारी गराए । सो क्षेत्रलाई विकास र विस्तार गर्न निरन्तर लागेको स्मरण उनले गरे । त्यस्तै अर्को संस्था नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइँकेलले साहित्यक अध्ययन तथा अनुसन्धानसहित एउटा सिर्जनात्मक साहित्यिक गन्तव्यस्थलका रुपमा विकास गरिएको अक्षर धाममा नेहाकेले हाइकु अध्ययन, अनुसन्धान तथा साधना स्थलका रुपमा सो क्षेत्रलाई थप बिस्तार गर्ने उद्देश्यले सहकार्य शुरु गरेकोमा खुसी व्यक्त गरे ।
नेहाकेका अध्यक्ष पाँडेले अन्तर्राष्ट्रिय कविताका रुपमा परिचित हाइकुलाई संस्थागत विकास गर्ने क्रममा उचित ठाउँ र परिवेश पाएकोमा गर्व लागेको बताउँदै भविष्यमा नयाँ साहित्यक पुस्ताका लागि एउटा तीर्थस्थका रुपमा हस्तान्तरण गर्न लायक ठाउँ बनाउन सकिने उल्लेख गरे । उनले नेहाकेका तर्फबाट सोही दिन कार्यक्रमस्थलमा संकलित रु.एक लाख समेत हस्तान्तरण गरे ।
डा.ढुङ्गानाले जिमोचित पुस्तकबारे जानकारी गराउँदै साधना र प्रकृतिको घनिष्ठ सम्बन्ध रहेको बताए । डा. बमबहादुर थापा जितालीले सरकारको मुख ताक्नुभन्दा आफैं क्रियाशील हुन सके चाँडै विकास हुन सक्ने हुँदा आफ्नो क्षेत्रको हितका लागि स्वयं साहित्यकार नै जुटुनुपर्ने धारणा राखे । साहित्यकार तथा संचारकर्मी शिरोमणि दवाडीले अन्तर्राष्ट्रिय हाइकु सम्मेलनको तयारी तथा अन्य साहित्यक अभियान र भावी योजनाबारे जानकारी गराए ।
बुलु मुकारुङ, पुष्कर लोहनी, शान्ति सापकोटा, मातृका पौडेल, अच्युत घिमिरे, सरस्वती पन्त, शिव गौतम लगायतका कवि, लेखक तथा सांगीतिक श्रष्ठाहरूको उपस्थिति रहेकोे कार्यक्रमका क्रममा वृक्षरोपण, स्वस्तिवाचन र सांगीतिक तथा साहित्यिक प्रस्तुतिहरू गरिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *