मुख्य समाचार
भक्तपुर\ मुलुकमा व्याप्त राजनीतिक तथा भ्रष्टाचारजन्य समस्याले विकराल रुप लिंदै गएको छ । यस्तो अवस्थामा मुलुकका ठूला राजनीतिक दलहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा उनीहरुको गतिविधि उल्टो दिशामा दगुरिरहेको पाइएको छ । मुलुकमा समस्या उत्पन्न भएको हालको अवस्थामा ठूला दलका नेताहरुले आफ्नो छविमा असर पर्ने तथा भूमिका प्रभावकारी हुन नसक्ने देखी समस्यालाई समाधानतिर लाने भन्दा पनि थामथुम पार्ने खेलमा लागेको देखिएको छ ।
पछिल्लो समय खासगरी मुलुक नक्कली भूटानी शरणार्थी प्रकरण, पशुपतिनाथको मन्दिरमा चढाइएको सुनको जलहरी काण्ड तथा प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा रहेका छन् । यी प्रकरणहरुमा मुलुकका ठूला दलहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाए पनि सबैजसो दलहरु यी प्रकरणहरुका क्रमिक रुपमा जोडिने गरेका कारण उनीहरुको मिलीभगतमा गुपचूप पार्ने कार्य भैरहेको समाचार स्रोतले दाबी गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले), नेपाली कांग्रेसका नेताहरु जोडिएको अवस्था छ । यसैगरी पशुपतिनाथको जलहरि काण्डमा एमालेका नेताहरु जोडिएका छन् । यस्तै, भारत भ्रमण प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल जोडिएका छन् ।
यसरी हरेकजसो प्रकरणहरुमा ठूला दलका नेताहरु जोडिएकाले उनीहरुले जनताको आँखामा छारो हाल्नका लागि अर्को दलको विरोध गरे जस्तो भने गरिरहेका छन् । यस्तो अवस्थामा जनतालाई भ्रममा पार्ने कार्य भैरहे पनि एक अर्को दल नांगिन थालेका कारण तीन ठूला दलका नेताहरु भित्रभित्रै आफ्ना कर्तुतहरुलाई लुकाउने पक्षमा लागेका बताइएको छ । यसमा खासगरी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको भूमिका बढी शंकास्पद देखिएको छ ।
एउटा प्रकरणलाई लुकाउने कर्मका लागि अर्को प्रकरणलाई लेनदेनमा परिणत गर्ने कार्यमा दलका शीर्ष नेताहरु लागि परेको अवस्था छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका अध्यक्ष ओली स्वयम् समेत जोडिने खतरा बढेकाले उनले टोपबहादुर रायमाझीलाई जोगाउने नाममा ठूलो दौडधूप गरेका थिए । यसैगरी पशुपतिनाथको जलहरी काण्डमा समेत ओली मुछिने अवस्थामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बैठक गरी उक्त प्रकरणलाई सामसुम पार्न अनुरोध गरेका बताइएको छ ।
उता, ओलीले पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको विषयलाई देखावटी रुपमा विरोध गरेजस्तो गरे पनि त्यसलाई सामसुम पार्ने भन्ने कुरामा सहमति जनाएको बताइएको छ । संसदमा उभिएर ओलीले केही आगोहरु ओकले पनि त्यसमा खासै दम नभएको बताइएको छ । उनले दाहालसँग मिलेमतो गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको बताइएको छ ।
यसरी ठूला दलहरु आपसी लेनदेनमा व्यस्त रहेका कारण मुलुकको समस्या भने ज्यूँका त्यूँ रहेको छ । सबै समस्यालाई समाधान गराउने भन्दा पनि गिजोल्ने कार्यमा दलहरु लागिपरेका छन् । यसरी ठूला दलहरु आपसी विवाद तथा एकअर्को समस्या देखाउँदै आफ्नो समस्यालाई टालटुल गर्ने कार्यमा लागिरहेको स्थिति छ । यस्तो अवस्थामा साना दलहरुको भूमिका प्रभावकारी हुनुपर्ने आवाज जनस्तरबाट उठिरहे पनि त्यसले खासै महत्व पाउन सकेको देखिदैन ।
साना दलहरु खासगरी राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीले प्रतिपक्षी भूमिका प्रभावकारी रुपमा निभाउने अपेक्षा गरिए पनि उनीहरुको भूमिका पनि खासै राम्रो देखिएको छैन । संसद्मा एउटा विषयमा छलफल चलिरहेको अवस्थामा उनीहरु भने विषयान्तर भएर टिकटकमा भाइरल हुनका लागि बोलेजस्तो गरी बोल्ने गरेका छन् । उनीहरुको प्रस्तुती जनताका लागि भन्दा पनि प्रचारका लागि बढी मात्रामा हुने गरेको देखिएको छ ।
साना दलहरुमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बाहेक अन्य दलका सांसदहरुको प्रस्तुति फितलो देखिएको छ । रास्वपाका रवि लामिछानेलगायत तथा राप्रपाका ज्ञानेन्द्र शाहीहरुले घाँटीको नसा फुलाई फुलाई कराए पनि उनीहरुको प्रस्तुति पनि विषयबस्तुभन्दा बाहिरको रहन पुगेको छ । उनीहरुले व्यक्तिगत प्रचारलाई महत्व दिंदै आफूलाई केन्द्रित गरेर प्रस्तुत गर्ने गरेका छन् ।
उता, बजेट भाषणको कुरा पनि ठूला दलको मिलेमतोमा पारित हुने अवस्थामा पुगेको छ । बजेटमा अर्थमन्त्रीको जिल्ला नुवाकोट, प्रधानमन्त्री निर्वाचित भएको जिल्ला गोरखा र कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएको डडेलधुरा जिल्ला प्राथमिकतामा परेको आरोप लगाइएको छ ।
बजेटको विषयमा एमालेका नेताहरुले विरोधको आवाज उठाएको अवस्थामा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अर्थमन्त्रीसँग भेट गरेपछि भने उनीहरुको आवाज पनि मथ्थर हुन पुगेको छ ।
उता, भारत भ्रमण सकी फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको विषयलाई मजाकको रुपमा संसदमा उठाउने कार्य मात्र भएको छ । सबै दलका नेताहरुले भ्रमणको गाम्भीर्यतामा भन्दा पनि विभिन्न किसिमका मजाकका विषयहरुलाई मात्र उठान गरी भ्रमणको मुख्य विषयबस्तुहरुलाई नै ओझेलमा पार्ने कार्य भैरहेको छ ।
गाईजात्रा महोत्सवमा प्रस्तुत हुने खालको प्रहसन संसदमा देखिन थालेको छ । संसदीय मर्यादा तथा भूमिकालाई ख्याल नगरी विभिन्न किसिमका उखान तुक्का सुनाउने थलोको रुपमा संसद परिणत हुन थालेको छ ।