सरकार ढाल्ने खेल असफल : एमाले आत्मरतिमा कांग्रेस जोखाना हेर्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढाल्ने योजनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पछिल्लो प्रयास असफल भएको छ । एमालेले वर्तमान सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेट पारित हुन नदिने योजनाका साथ वर्तमान सरकारलाई ढाल्ने खेल खेले पनि त्यसले सफलता पाउन सकेन । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसका लागि आफ्नो न्वारनदेखिको बल लगाए पनि उनी बजेटको पक्षमा कम मत परेको भन्दै आत्मरतिमा मख्ख देखिएका छन् । ओलीले वर्तमान सरकारमा सामेल दलका सांसदहरुले संसदमा राखेका धारणाका आधारमा वर्तमान सरकारलाई बजेट पास हुन नदिएर ढाल्ने सपना देखेका थिए । त्यसका लागि ओलीले सारा प्रयास गर्दा पनि प्रधानमन्त्री दाहालको सक्रियता तथा कांग्रेसको इमान्दारिताका कारण ओलीको प्रयासले सार्थकता पाउन नसकेको बताइएको छ ।

हालको बजेट जस्ताको त्यस्तै पारित गर्न नसकिने भनी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत भनेका थिए । यसैगरी उक्त दलका सांसदहरुले संसदमा धारणा राख्दै यो बजेट केही जिल्लामा मात्र सीमित भएको भन्दै यसलाई संशोधन गरिनुपर्ने माग गर्दै आएका थिए । यसैगरी उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीका सांसदहरुले समेत ‘बरु औंला काट्ने तर यो बजेटको पक्षमा मतदान नगर्ने’ भनी अड्डी कस्दै आएका थिए । यसैगरी सरकारलाई दिएको समर्थन कायमै राखेको जनमत पार्टीका सांसदहरु पनि बजेको विपक्षमा देखिएका थिए ।

यसरी सरकारमा रहेका दलहरुका सांसदहरुले नै बजेट पास गर्न नसकिने भन्दै आएका कारण प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली निक्कै नै उत्साहित देखिएका थिए । उनी मख्ख पर्नुमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मात्र नभई ती दलले संस्थागत रुपमै बजेटको विपक्षमा आफूलाई उभ्याएकै थिए । यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले समेत कतिपय अवस्थामा बजेटप्रति असन्तुष्टि राख्दै आएको बेलामा ‘धमिलो पानीमा माछा मार्ने दाऊ’ मा ओली तथा उनको दल एमाले लागिपरेको बताइन्छ ।

यस्तो अवस्थामा बजेटको विपक्षमा बहुमत सांसदहरु उभिने तथा मतदानमा लग्न सकिएको खण्डमा आवश्यक बहुमत प्राप्त हुन नसक्दा बजेट पारित नह्ने अवस्थाको विश्लेषण ओलीको थियो । उता, प्रधानमन्त्री दाहाल पनि यस अवस्थाप्रति जानकार नै थिए । ओलीले चालेको रणनीति राम्रैसँग बुझेका दाहाल जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमै पुगेर बजेटप्रति उनीहरुको असहमतिलाई आफूले सम्बोधन गर्ने भनी सहमति जनाएका थिए ।

जसपाले मात्र विपक्षमा मतदान गरेको भए पनि बुधबार बसेको बजेटको निर्णय गर्ने बैठकले बहुमत जुटाउन नसक्ने अवस्था थियो । दलगत रुपमा सांसदहरुको संख्या हिसाब गरिएको अवस्थामा सरकारमा रहेका कतिपय सांसदहरु बैठकमा सामेल नै भएका थिएनन् । उनीहरु बजेट पारित गराउनका लागि मतदान हुने भन्ने कुरामा पुग्न सकेका थिएनन् । सोही कारण मतदानको अवस्थामा लानकालागि एमालेले अन्तिम समयमा आएर आग्रह गरेको थियो । प्रतिनिधिसभाको दुई सय ७५ सांसदहरुमध्ये दुई सय ५५ जनामात्र मतदान प्रक्रियामा रहेको अवस्थाले सोही कुरालाई पुष्टि गरेको छ ।

यस्तो अंकगणितीय अवस्था तथा सत्तारुढ सांसदहरुले ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने अपेक्षासहित एमाले बजेटलाई मतदान प्रक्रियामा लान भनेको थियो । एमालेका सांसदहरुको माग अनुसार मतदान प्रक्रिया गरिएको थियो । यसरी विपक्षमा मतदान गर्नेको संख्या बहुमत देखाउने वा बजेटको पक्षमा मतदान गर्नेहरुको संख्या अल्पमतमा पारी वर्तमान सरकारलाई ढाल्ने योजनामा रहेको एमालेको उक्त योजना पूरा हुन सकेन ।

बजेटको पक्षमा एक सय ४७ तथा विपक्षमा एक सय आठ मत पर्न जाँदा बजेट पास भयो । यसरी हेर्दा विपक्षमा मतदान गर्ने सांसदहरुको संख्यालाई प्रतिशतमा ढाल्दा भने ३९ प्रतिशत मात्र रहन गएको देखिन्छ । यस्तो अवस्थामा सरकारको पक्षमा बजेटको विषयलाई लिएर करिब ६० प्रतिशत मत कायमै रहेको देखिन्छ ।

कांग्रेसको चाल

यसरी बजेट पास वा फेल गर्ने विषयलाई एमालेले सरकार ढाल्नेसम्मको योजना बनाएको कुराबाट नेपाली कांग्रेस बेखबर थिएन । कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारकालागि सिंगापुर गएको समयलाई कुप्रचार गर्दै एमालेले देउवा फर्केपछि कांग्रेसको नेतृत्वमा एमाले सहितको सरकार बन्ने प्रचार गरेको थियो ।
यसका लागि बजेट फेल राम्रो बहाना बन्न सक्ने एमालेको बुझाइ थियो । आफूले दिएको बचनमा पक्का रहेको कांग्रेसका सभापतिले सरकार ढाल्ने खालको कुनै पनि गतिविधिलाई साथ नदिएको पाइएको छ ।
वर्तमान अवस्थामा कांग्रेस जोखाना भने हेर्दै रहेको बताइन्छ । वर्तमान सरकारमा सामेल भएका तीनवटा दलहरुले समाजवादी मोर्चाको नाममा अर्को मोर्चा बनाएको तथा एमालेले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनोस् भन्ने चाहिरहेको अवस्थामा कांग्रेस पनि सोचमग्न भने रहेको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *