रविकै कारण रास्वपामा खतराको घन्टी !

Nayabimarsha (Weekly Newspaper from Nepal)
अनुसा थापा

मान्छे कतिसम्म स्वार्थी हुन्छन् ? भन्ने जल्दोबल्दो उदाहरण हुन् रवि लािमछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं ३२ दिने गृहमन्त्री उनले आफू ठाउँमा पुग्नका लागि जे पनि गर्छन् भन्ने त हामीले देखी नै सकेका छौं । नेपाली नागरिकता नभएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । त्योसंँगै उनको सबै पद गुम्यो । उपप्रधान तथा गृहमन्त्री र पार्टीको सभापति पद गुमाएका उनले नयाँ नागरिकता लिए पनि ।
त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँंग गृहमन्त्रीको लागि मोलमोलाइ गर्न थाले । दाहालले अरु मन्त्रालय दिने तर गृह नदिने अडान लिएका थिए । उनले पटकपटक दाहालसँंग भेटघाट गरे, गृहमन्त्री चाहिने माग राखिराखे । दाहालले यसतर्फ चासो देखाएनन् । अरु मन्त्रालय लिएको भए नि हुन्थ्यो तर लामिछाने मानेनन् । जबरजस्ती आफ्ना पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाए । इच्छा नहुँदाहुँदै पनि उनीहरु राजीनामा दिएर निस्किए ।
त्यहीबाट पार्टीमा विवाद शुरु भयो । कतिपयले सरकार छोड्नुहुँदैन, सरकारमा बसेर जनता र राष्ट्रको हितमा काम गर्नुपर्छ भनेका थिए । उनीहरुले बल्लतल्ल अवसर पाएका थिए, जुन पार्टी सभापतिले नै खोसिदिए । सरकार बाहिरै बसेर जनता र राष्ट्रका लागि आवाज उठाउने ठोकुवा गर्ने लामिछाने सरकारमा गए । उनलाई सरकारमा जान सबैभन्दा धेरै हतारो भएको थियो । आफूले गृह नपाएको झोंकमा उनले सबैलाई निकाले । त्यहीँबाट लामिछानेको असली रुपमा जनतासमक्ष आयो ।
उनको पार्टीको सांसद स्वर्णिम वाग्लेले केही दिनअघि भनेका थिए, ‘मुलुकको आर्थिक अवस्था डामाडोल भएको छ । नेपाली सेनालाई पाल्न नसक्ने अवस्था बनेको छ ।’ सेनाले काम गर्न नसकेको, छिमेकीले मिचेको जग्गा फिर्ता ल्याउन नसकेको कुरा उनले सदनमा उठाए । उनको भनाइले सेना कटौती गर्नुपर्छ भन्ने कुरा स्पष्ट भएको थियो । नेपाली सेना लामो समयदेखि विफल बन्दै आएको छ । दरबार हत्याकाण्ड होस् या माओवादी जनयुद्ध सेना असफल देखियो ।
‘सार्वजनिक कामहरुमा पनि सेना अग्रसर देखिँदैनन् । बाटो मर्मत, सरसफाइ, पुल निर्माणलगायत कुनै पनि काम सेनाले गरेको छैन । राज्यले मासिक अर्बाैं रुपियाँ सेनाको तलबभत्ता, खाना र सेवासुविधाका लागि छुट्याउनु परेको छ । अनुत्पादक क्षेत्रमा यत्रो लगानी किन गर्ने ?’ वाग्लेले यो कुरा उठाए । अहिलेको अवस्था र सेनाको काम हेर्ने हो भने कटौती नै सबै उत्तम उपाय हो ।
वाग्लेले उठाएको कुरा लामिछानेले काटेका छन् । उनले आफ्नो पार्टीका माननीयहरुले सेना कटौतीको कुरा नउठाएको दाबी गरेका छन् । पार्टीका सदस्य आफूभन्दा माथि आउने हुन् कि भन्ने डर लामिछानेलाई छ ।
गएको उपनिर्वाचनमा पनि लामिछानेले आफ्नो मनोमानी चलाए । प्रहरीमा हुँदाखेरि अकुत सम्पत्ति जोडेका रमेशप्रसाद खरेललाई पार्टीमा ल्याउनुहुँदैन भनेर एकथरीले आफ्नो धारणा राखेका थिए । उनलाई टिकट दिनु हुँदैन भन्ने मागसमेत उठेको थियो । टिकट दिए पनि नजित्ने भन्दै पार्टीका सदस्यहरुले तराइकैलाई उम्मेदवार बनाउन भनेका थिए । लामिछानेले उनलाई पार्टीँमा पनि ल्याए र टिकट पनि दिए । अन्तिममा जनताले पत्याएनन् । उनले निर्वाचनमा नराम्ररी हार व्यहोर्नुप¥यो ।
लामिछाने र उनकी श्रीमती निकिता पौडेलले सहकारी खोलेर धेरैलाई ‘घर न घाट’ बनाएको कुराहरु समेत बाहिर आए । यो कुरा निक्लिसकेपछि आम सर्वसाधारणले उनको विरोध गरिरहेका छन् । यता, उनको कारणले पार्टी बदनाम भएको भन्दै नेता–कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । उनको अर्बाैं रुपियाँ बराबरको सम्पत्ति भएको सर्वसाधारण बताउँछन् । चर्चित सञ्चारकर्मी उनले मिडियामा हुँदासमेत धेरै भ्रष्टाचार गरेका भन्ने आरोप लाग्ने गरेको छ । उनले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा घर किनेका छन् भने काठमाडौंको टोखामा उनको भव्य महल छ ।
यति मात्र नभई कैयौं ठाउँमा घरजग्गा छ । यत्रो सम्पत्ति कहाँबाट आयो ? उनले ‘सिधा कुरा जनतासंँग’ भनेर व्यापारीसँंग चाँहि सिधा कुरा चलाए । जनताको नाम बेचेर उनले अंकुत सम्पत्ति जोडे । व्यापारी थर्काएर उनले यत्रो सम्पत्ति जोडेको त स्पष्टै छ । आफूले गरेको भ्रष्टाचार बाहिर आउँछ र आफू अप्ठ्यारोमा पर्न सक्छु भनेर उनले केसम्म गरेनन् । आफ्नै साथीलाई आत्महत्या गर्न बाध्य बनाइदिएको भन्ने आरोप त लामिछानेमाथि लागेकै छ । पत्रकार शालिकग्राम पुडासैनीले चितवन पुगेर आत्महत्या गरे ।
उनले मर्नुअघि भिडियो बनाएरसमेत लामिछानेको पोल खोलेका थिए । लामिछानेको ‘देखाउने र चपाउने’ दाँत छुट्टाछुट्टै छ, नागरिकता पनि दुइटा छ भनेर उनले त्यतिबेलै भनेका थिए तर कसैले पत्याएनन् । अहिले आएर त्यो सत्य साबित भयो । न्यूज २४ मा बस्दाखेरि उनले भ्रष्टाचार गरेर अर्बाैं रुपियाँ कमाएको भनी उनले जानकारी गराएका थिए । त्यो पनि सही नै रहेछ । जेलमा हुनुपर्ने व्यक्ति पहुँच र पैसाको आडमा जेलमुक्त भए । त्यस्तो व्यक्ति सदनमा पुगेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले दोहो¥याएर उनलाई जिताए । अमेरिकी नागरिकले गर्दा राज्यको ढुकुटीमा आर्थिक भार थपियो । चितवनका जनताले के के न गर्छ भनेर सदनमा पठाए । अहिले आएर उसको क्षमता त सबैको समक्ष ‘दूधको दूध र पानीको पानी’ भइहाल्यो । जनताको कुरा उठाउन सक्ने क्षमता छैन । टेलिभिजनमा बसेर अरुलाई कराएको जस्तो रहनेछ भन्ने कुरा उनले अहिले बुझे होलान् । रास्वपाका सांसदहरुको भूमिका देख्दा पनि लाजमर्दो छ ।
देशमा के भइरहेको छ ? भन्ने त यिनलाई थाहा छैन । २०८४ सालको चुनावमा यिनलाई मत दिनुहुँदैन भन्ने बहस शुरु भइसकेको छ । अरुलाई थर्काएर, हप्काएर राजनीतिमा आउनेहरु इतिहास बन्न कति बेर लाग्छ ? महेश बस्नेतको राजनीति सकिहाल्यो । अब पालो रवि लामिछानेको । यिनीहरु अर्कोचोटि चुनाव जित्न सक्दैनन् । जति धमिलो पानीमा माछा मार्नुथियो, मारे । अब मार्न पाउँदैनन् । हिजो सबैले लामिछानेलाई राम्रो मान्छे ठान्थे ।
अहिले उनको कर्तुत खुल्दै छ । लामिछाने को हुन् ? कस्ता व्यक्ति हुन् ? जनताले बल्ल बुझ्दै छन् । सभापति लामिछानेकै कारण पार्टी फुट्ने देखिन्छ । लामिछाने एमाले अध्यक्ष ओलीको झोले बनेर हिँडेका छन् । आफ्नो सिद्धान्त केही छैन्, ओलीको झोला बोक्यो हिँड्यो । नयाँ पार्टीले पनि केही गर्ने रहेनछ भन्ने त स्पष्ट भइसकेको छ । सबै कमाउनकै लागि आएका हुन् भन्ने छाप जनताको मनमा परिसकेको छ । देशको आर्थिक अवस्था डामाडोल भएको छ ।
यस्तो अवस्थामा त रास्वपाका सांसदहरुले तलबभत्ता र सरकारी गाडी छोड्न सकेनन् भने यिनीहरुले अरु के गर्छन् । सदन चलेको छ भन्नु मात्र छ । के–के न गर्छु भन्ने लामिछानेको फाइफुट्टी दुई दिनमै देखियो । उनीसंँग काम गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि जनताले थाहा पाए । २०८४ सालको चुनावमा शून्य हुने देखेपछि उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र धरानका हर्क साम्पाङ्गलाई फकाउन थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *