माओवादी केन्द्र वडास्तरमा पुग्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । यो अभियान आगाी भदौदेखि तीन महिनासम्म चलाइने भएको सो दलले जनाएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी दिए । यो अभियानका क्रममा देशभरका सबै छ हजार सात सय ४३ वटै वडा समितिमा संगठन बनाउने प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरे । उनले सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने लक्ष्य लिनुपर्ने कुरा दाहालद्वारा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अभियानलाई नयाँ ढंगबाट गरिने पनि जनाइएको छ । सबै समितिलाई डिजिटल रुपमा राखिने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने गरी प्रतिवेदनमा लक्ष्य उल्लेख गरिएको छ ।
यसैगरी दललाई अझ बढी बलियो बनाउनका लागि विचार मिल्ने खालका अन्य दलहरुसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने लक्ष्य उक्त प्रतिवेदनमा लिइएको छ । स्थानीय तह जहाँ माओवादी केन्द्रले जितेको छ ती तहलाई नमुना तहको रुपमा बनाउने योजना पनि उक्त दलले लिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *