उपभोक्ता चनाखो हुनु जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नेपाल गुणस्तर तथा नापतौल विभागले अनियमित नापतौल गर्ने व्यापारीहरुलाई कारबाही गरेको एक आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको छ । उनीहरुले नाप्ने– तौलने यन्त्र प्रयोग गरी ठगी गरेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को उक्त अवधिमा १९ हजार १४ व्यापारीलाई कारबाही गरिएको भनी विभागले जनाएको छ । उनीहरुमाथि ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही पनि विभागले गरेको जनाएको छ । पछिल्लो समयमा नापतौल यन्त्रमार्फत उपभोक्तालाई ठगी गर्ने क्रम बढेको विभागको तथ्यांकले देखाएको छ । सोही कारण विभाले विशेष निगरानी बढाइएको पनि जनाएको छ । यसरी उक्त अवधिमा गरिएको अनुगमनका क्रममा व्यापारीहरुले यन्त्रको दर्ता समेत नगराएको पाइएको छ । यस्तै दर्ता गरेका कतिपय व्यापारीले नवीकरण नगरी पुरानै खिइएका तथा खियाइएका यन्त्रहरुको समेत प्रयोग गरेको विभागले जनाएको छ ।
अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीहरु कारबाहीको दायरामा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरुको सूची हेर्दा सबैभन्दा बढी काठमाडौँ कार्यालयबाट कारबाही गरिएको पाइएको छ । काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा जिल्लामा समेत अनुगमन गरेका कारण सबैभन्दा बढी सो कार्यालयले कारबाही गरेको सूचीमा जनाइएको छ । काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाहीको फन्दामा परेका हुन् । पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक तथा धनगढीमा एक हजार २६ व्यापारीहरुमाथि कारबाही भएको जनाइएको छ ।
पछिल्लो आँकडा हेर्दा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेको देखिन्छ । उभोक्तालाई नियतबस् ठगी गर्ने क्रम बढेको देखिन्छ । यसरी नापतौल तथा गुणस्तरमा ठगी गर्नु भनेको उपभोक्तालाई सोझै मारमा पार्नु जस्तै हो । उपभोक्ताले उनीहरुको विश्वासमा सामानहरु किन्ने गर्दछन् । उनीहरुले तौलमा गठबड गरेको तथा कतिपयले यन्त्रमा नै कैफियत गरेको उपभोक्तालाई जानकारी पनि हुँदैन । उपभोक्ताले विश्वासको आधारमा उनीहरुले भनेको कुरालाई मान्ने गरेका कारण पनि उपभोक्ता ठगीमा पर्ने गरेका हुन् । यसैगरी सरकारी निकायले पनि ठगी गर्नेहरुलाई उचित कारबाही गर्न नसक्दा वा नगर्दा त्यस्ता ठग व्यापारीहरुको मनोबल झनै बढ्ने गरेको छ । उपभोक्ताहरुले आफ्नो अधिकार तथा कर्तव्य समेत नबुझ्ने गर्दा वा बेवास्ता गर्दा उपभोक्ता स्वयम् नै ठगीको मारमा पर्ने गरेको अवस्था छ । उपभोक्ताहरुले आपूmलाई अलि बढी सजग बनाएको खण्डमा व्यापारीले ठग्न गाह्रै पर्ने अवस्था हुन्छ । त्यसैले ठगीबाट बच्नको लागि उपभोक्तामा सचेतनाको जति जरुरी छ त्यति नै सरकारी अनुगमन तथा कारबाहीको दायरा बढी हुनुपर्ने अवस्था देखिन्छ । अतः यस विषयसँग सरोकार राख्ने सबै निकायहरुले ठगीबाट बच्न तथा बचाउनका लागि चनाखो हुनैपर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *