रमेश ढकाल
एउटा गाउँबाट लगभग १० किलोमिटर जतिको दुरीमा रहेको एउटा बगैंचामा सानो मन्दिर बनेको थियो । उक्त मन्दिरमा निक्कै टाढा टाढाका गाउँहरूबाट पनि कयौँ मानिसहरु दर्शन गर्नका लागि आउने गर्थे । त्यहीँ नजिकैको गाउँमा रहेको एक जना युवक भने उक्त मन्दिर बनेको वर्षौ बितिसक्दा पनि मन्दिरको दर्शन गर्न पुगेको हुँदैन ।
एक दिन उसको मनमा पनि उक्त मन्दिरको दर्शन गर्न जाने इच्छा जाग्छ । युवकले मनै–मन निर्णय गर्छ, भोलि चाहिँ म जसरी हुन्छ, मन्दिरको दर्शन गरेरै छाड्छु । नभन्दै भोलिपल्ट युवक बिहान तीन बजे नै उठ्छ र दर्शन गर्नका लागि मन्दिर जान तयार हुन्छ । बिहानको तीन बजे त निक्कै अध्यारो नै हुन्छ । ऊ हातामा एउटा लालटिन पनि बोकेर बाहिर निस्कन्छ । यसो हेर्छ, उसको हातमा रहेको लालटिनले ऊ उभिएको भन्दा एक कदम अगाडिको बाटोसम्म मात्र प्रकाश फैलाउन सकेको हुन्छ ।
यस्तो देखेर युवकले विचार गर्छ, मलाई त हजारौँ कदमको यात्रा गर्नुछ, यो एक कदम अगाडि मात्र देखिने लालटिनको सहाराले म कसरी हजारौँ कदमको यात्रा पूरा गर्न सक्छु ! बरु चर्को घाम लाग्छ भने लागोस् । मन्दिरमा धेरै भिड नै हुने रहेछ भने पनि होस् । अब म राम्रोसँग उज्यालो भएपछि मात्र आफ्नो यात्रा शुरु गर्छु । यस्तो कुरा सम्झँदै, युवक घरतिर नै फर्कन लागेको हुन्छ । त्यतिकैमा एक जना बुढा मान्छे, हातमा सानो दियो बोकेर मन्दिर जानका लागि त्यहीँ आइपुग्छन् ।
ती बुढा बालाई देखेर युवकले भन्छन्, ‘बा, मन्दिर पुग्नका लागि त यहाँबाट १० किलोमिटर जति हिँड्नु पर्छ । एक कदम अगाडि पनि राम्रोसँंग नदेखिने यो सानो दियोको सहाराले तपाईं कसरी मन्दिर पुग्न सक्नु हुन्छ ? युवकको कुरा सुनेर बुढा मान्छे भन्छन्, ‘बाबु, एक पटकमा हिँड्ने भनेकै एक कदम त हो ! एक पटकमा एक कदमभन्दा धेरै त को पो हिँड्न सक्छ होला र ! मेरो बढेको हरेक कदम संँगसँगै मेरो हातमा रहेको यो सानो दियोको प्रकाश पनि अगाडि बढ्छ । त्यसैले म यो मेरो हातमा रहेको सानो दियोको सहाराले पनि सजिलैसँग मन्दिरसम्म पुग्न सक्छु । तिमी त हातमा लालटिन बोकेर पनि अलमल्ली राखे जस्तो लाग्यो । बरु मन्दिर नै जान खोजेका हौ भने, आऊ, सँंगै हिँड । तिम्रो कदम सँंगसँंगै तिम्रो लालटिनको प्रकाशले पनि आफ्नो कदम अगाडि बढाउने छ । तिमीले चाल्ने हरेक कदमसँगै तिम्रो लालटिनको प्रकाश पनि अगाडि बढ्दै जाने छ ।’
बुढा बाको कुराले युवकको आँखा खोलिदिन्छ, र ऊ पनि उनै बा संँगसँंगै उक्त मन्दिरको दर्शन गर्न बाटो लाग्छ ।
खैर, यो सानो कथामा उजागर गरिएको विषय त एउटा विम्ब मात्र हो । जिन्दगीमा यसरी सबै हिसाब पहिला नै लगाएर मात्र हिँड्न शुरु गर्ने हो भने, मान्छे कहीँ पनि पुग्न सक्दैन । भयभीत भएर एकै ठाउँ बसेको बस्यै हुनेछ । कुनै लक्ष्यमा पुग्नको लागि कति धेरै कदम हिँड्नु पर्छ वा हामीसंँग कति धेरै सामथ्र्य छ भन्दा पनि, उक्त लक्ष्यमा पुग्नका लागि पहिलो कदम उठाउने सवालमा हामी कति धेरै आशा र हौसलाले भरिएका हुन्छौँ भन्ने कुराले हामी लक्ष्यमा पुग्न सफल हुन्छौं कि हुँदैनौं भन्ने कुराको निर्धारण गर्ने छ ।
जो एक–एक कदमलाई महत्वपूर्ण मानेर आफ्नो यात्रा शुरु गर्छ, ऊ सजिलै आफ्नो लक्ष्यमा पुग्न सक्छ । शुरुमै हिँडिनु पर्ने हजारौं कदमका बारेमा सोचेर भयभीत बन्ने मान्छे कहिल्यै कहीँ पनि पुग्न सक्दैन । ऊ जहीँंको त्यहीँं रहिरहने छ । कुनै कामको सफलता यो कुरामा निर्भर गर्छ कि काम गर्दा हामी सफलता प्राप्तिको आशाले भरिएका हुन्छौँ या फेरी विफलताको ख्यालमा भयभीत बनेका हुन्छौँ । सम्पूर्ण रुपमा आशाले भरिएको एउटा मान्छेले क्षमता थोरै हुँदा पनि यति धेरै काम गर्न सक्छ, जति काम एउटा क्षमतावान् भएर पनि निराशाले भरिएको व्यक्तिले गर्न सक्दैन ।
कुनै काम या उद्देश्य सफतापूर्वक पूरा गर्ने सवालमा एउटा व्यक्तिको सामथ्र्य भन्दा पनि त्यस व्यक्ति भित्र निहित आत्मविश्वास र हौसलाको अत्यन्तै ठूलो भूमिका रहने गर्दछ । त्यसैले कठिनभन्दा कठिन अवस्थामा पनि हामीले आपूm भित्रको आत्मविश्वास र हौसलालाई भने सधैं कायम राख्न सक्नुपर्छ, कहिल्यै निभ्न दिनु हुँदैन ।
एउटा आत्मविश्वास र हौसलाले भरिएको व्यक्ति मात्र जीवनमा आइपर्ने कतिपय कठिन अवस्थाहरुमा पनि निरासा, सन्देह, शङ्का लगायतका नकारात्मक सोचहरुबाट मुक्त रहन सक्छ । ‘जिन्दगीको यात्रामा, कठिनाइहरु त आउँछन् ! आत्मविश्वास जोसँग हुन्छ, लक्ष्य उनैले पाउँछन् !’ (भद्रपुर–झापा (हाल दोहा –कतार, स्रोत÷प्रेरितः ओशो पुस्तक अनंत कि पुकार) dhakalrp@gmail.com