प्रधानमन्त्रीलाई नौ महिने खड्गो !

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो सरकारलाई नौ महिने खड्गोबाट कटाउन सफल होइएला वा नहोइएला भनी दोधारमा रहेका छन् । तेस्रो पटक प्रधानमन्त्री बने पनि यसअघिका प्रधानमन्त्रीकाल दाहालले नौ महिना समय कटाउन नसकेको कारणले उनलाई यो विषयले तनाव दिएको हो । पहिलो पटक सरकारको नेतृत्व गर्दा प्रधानसेनापति प्रकरणले उनी नौ महिना समय पूरा नगरी सरकारबाट बाहिरिएका थिए । यसैगरी दोस्रो पटक सरकारको नेतृत्व गरेका उनले पूर्वसहमति बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए ।
अहिले तेस्रो पटक प्रधानमन्त्री बनेको उनको दिन २०७९ पुष १० गते हो । असोज ९ गते नौ महिने कार्यकाल पूरा हुने समयावधि हो । यसरी आठौं महिनाको सन्निकट पुगेको अवस्थामा दाहाल जसरी पनि नौ महिने कार्यकाल पूरा गर्ने मनस्थितिमा रहेका छन् । हाल प्रधानमन्त्री बन्दा उनले साढे दुई वर्ष सरकारको नेतृत्व गरेपछि मात्र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने आन्तरिक सहमति बनेको समाचार स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको आठ महिना पुग्न लागेको छ ।
यसअघि २०६४ को पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो दल बनेको माओवादीले सरकारको नेतृत्व गर्दा दाहाल पहिलो पल्ट प्रधानमन्त्री बनेका थिए । त्यो बेला दाहालले नेकपा (एमाले( र तात्कालीन मधेशी जनअधिकार फोरम, नेपालसँग सरकार बनाएका थिए । सोही समयमा दाहालले ९ महिना पुग्नै लाग्दा तात्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेपछि उनी प्रधानमन्त्रीबाट नैतिकताको आधारमा राजीनामा गरी बाहिरिनु परेको थियो । तात्कालीन राष्ट्रपति रामवरण यादवबाट बर्खास्तलाई अस्वीकृत गरिँदा दाहालले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।
२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी तेस्रो दल बनी प्रतिपक्षमा थन्किएको थियो । प्रतिपक्षमा रहेको माओवादीले २०७३ साउन २० मा सरकारको नेतृत्व गर्ने अवसर पुनः पायो । कांग्रेसका सभापति देउवासँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति अनुरुप प्रधानमन्त्री बनेका दाहालले ९ महिनामै अर्थात २०७४ जेठ २४ गते राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।
वर्तमान अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा एमालेका नेताहरु दाहाललाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउने एक सूत्रीय ध्याउन्नमा लागेका छन् । प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले विभिन्न काण्डहरुको फाइल खोल्न थालेपछि एमालेका अध्यक्ष ओली अत्तालिएका छन् । ओली अत्तालिनुमा सबैजसो काण्डमा एमालेका नेताहरु जोडिनु तथा उस्तै पर्दा ओलीसमेत तानिने खतरा रहेकाले ओली दाहाल र श्रेष्ठलाई जसरी पनि हटाउने अभियानमा लागेका छन् ।
उता, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चले अनुमति दिएको अवस्थामा वर्तमान सरकार धर्मराएको अवस्थामा रहेको भनी चर्चा चल्ने गरेको छ ।
यसैगरी गौरहत्याकाण्डका पीडितहरुसँग सरकारले गरेको सहमतिमा दोषीको खोजी गरी उचित कारबाही गर्ने भनिएपछि सो काण्डमा जोडिएका सत्तारुढ नेता उपेन्द्र यादव पनि सरकारको काम कारबाहीसँग तर्सिएको अवस्था छ । यसैगरी कतिपय कारणले कांग्रेस समेत पछिल्लो समय रुष्ट प्रधानमन्त्रीको कार्यशैलीप्रति रुष्ट बनेको बताइन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाडको पक्राउ र आरजु राणा देउवालाई समेत तान्ने प्रयत्न गरिएको भन्दै कांग्रेस रुष्ट रहेको बताइन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादी नेताहरुको संलग्नता नदेखिएपछि छानविन प्रक्रियामा हौसिएका दाहाल र श्रेष्ठ सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेताहरु शंकाको घेरामा परेपछि भने झस्किन पुगेका छन् । यस्तो अवस्थामा माओवादीका नेताहरुबाटै पनि असहयोग पुग्न सग्ने अवस्था देखिएको छ ।
दाहालको लागि प्रतिकुल अवस्था देखिएको यो बेला एमाले भने बरु कांग्रेसलाई प्रधानमन्त्री दिएर भए पनि माओवादीलाई कुनै पनि हालतमा सरकारबाट बाहिर पु¥याउने एक सूत्रीय अभियानमा लागेको देखिन्छ । सरकारले काम गरेको भन्दा पनि सरकारलाई उल्टै विवादमा पारी दाहाललाई सत्ताच्युत गराउन एमाले लागि परेको अवस्था छ । कांग्रेसका सभापति शेरबहादुर देउवा भने वर्तमान सरकारलाई ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दा पनि सरकार ढल्ने त्रासमा दाहाललाई राखेरै आफ्नो अनुकुलका निर्णयहरु गराउन सकेमा राम्रो हुने भन्ने पक्षमा रहेका बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *