चाडबाडमा मूल्यवृद्धि रोकौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजार अनुगमनलाई तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएका हुन् । मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिएका छन् । आसन्न चाडपर्वको समयमा खाद्यान्नको पर्याप्त उपलब्धता, दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति व्यवस्था तथा खाद्य सुरक्षा प्रत्याभूतिका लागि पर्याप्त मौज्दात राख्नेबारेमा सरकारले सोची रहेको पनि जनाए । बजार अनुगमन निर्देशिका, २०७९ बमोजिम संयुक्त र विषयगत टोलीबाट बजारको नियमितरूपमा अनुगमन गर्ने, कार्ययोजनासहित बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि सबै सम्बद्ध निकायबाट समन्वय तथा सहकार्य गर्ने पनि मन्त्री रिजालले बताएका छन् ।
खाद्यान्नलगायतका बस्तुको तोकिएबमोजिमको मौज्दात कायम राख्ने कार्य मन्त्रालय अन्तर्गत गरिने आश्वासन मन्त्री रिजालले दिएका छन् । स्थानीय बजार व्यवस्थापनका लागि सबै स्थानीय तहलाई अत्यावश्यक बस्तुको आपूर्ति, गुणस्तर, परिमाण र मूल्यका सम्बन्धमा नियमित बजार अनुगमनको व्यवस्था मिलाउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि मन्त्रीले आफ्नो मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई साथमा राखी गरेका छन् । जनताको आधारभूत आवश्यकतासँग जोडिएको यो मन्त्रालयका पदाधिकारीहरुले गरेको यो प्रतिबद्धताका कारण जनतामा केही होला कि भन्ने आशा पलाएको छ । जनताको दैनिकीसँग जोडिएका विषयमा सरकारी पक्षबाट बेवास्ता हुँदै आएको तथा त्यस्तो हुँदा जनतमा निराशा छाएको अवस्था छ ।
अहिले नेपालमा चाडबाडको समय हो । भदौदेखि नै विभिन्न किसिमका चाडबाड शुरु हुन्छन् । यसरी चाडबाडले छोपेको अवस्थामा नेपालीजनका लागि आवश्यक सामानहरु सहज रुपमा पाइयोस् भन्ने चाहना एकातिर हुन्छ भने अर्कातिर तिनीहरुको मूल्य पनि उचित होस् भन्ने चाहना हुन्छ । एकातिर चाडबाडको मार अर्कातिर आवश्यक सामानहरुको दाम पनि आकाशियो भने कसरी उपभोक्ता टिक्ने भन्ने समस्या हुन्छ । त्यसैले सरकारले चाडबाडको समयमा हुनसक्ने एकाधिकार तथा मूल्यवृद्धिलाई रोक्नका लागि आवश्यक कदम चाल्नै पर्ने हुन्छ । यसका लागि सरकारले विभिन्न संयन्त्रहरुलाई समयमै सक्रिय गराई जनताको पक्षमा आफूलाई उभ्याएको कुरा व्यवहारतः देखाउनु आवश्यक देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *