सडकमा डिजी परिवर्तनको बैमौसमी चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सडक विभागका महानिर्देशक (डिजी) सुशीलबाबु ढकालको विकल्प खोजिएको चर्चा सिंहदरबारभित्र चलेको छ । ढकाललाई तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक विभागको महानिर्देशक बनाएका थिए ।
ढकाल महानिर्देशक बनेको ६ महिना पनि पुगेको छैन । उनलाई डिजी बनाउने श्रेष्ठ हाल गृहमन्त्री छन् भने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद प्रकाश ज्वालाले नेतृत्व गरेका छन् । ६ महिना नपुग्दै डिजी परिवर्तन गर्ने खेलले विभागलाई अस्थिर बनाउन खोजिएको जानकारहरुले बताएका छन् ।
वरिष्ठ सुपरिटेण्डेन्ट इञ्जिनियर भएर पनि भीमार्जुन अधिकारीले विभागको नेतृत्व सम्हाल्न नपाई मन्त्रालय थन्किन बाध्य भएका छन् । हालका महानिर्देशक ढकाललाई विभागका सु.ई. र सिडीईहरुले सहयोग नगर्दा निरीह बनेको चर्चा चलेको छ । केही समय ढकाललाई काम गर्न दिए त्यसपछि स्वतः डिजी बन्ने पालो विभागका योजना महाशाखा प्रमुख सु.ई. रामहरि पोख्रेलको र पोख्रेलपछि डा. विजय जैशीको हो ।
अहिले नै बेमौसमी बाजा बजाएर डिजी सरुवाको हल्ला गरिनु उपयुक्त नभएको समाचार श्रोतले जानकारी दिएको छ । सु.ई. रामहरि पोख्रेललाई डिजी बनाउन हुलाकी सडक निर्देशनालयका आयोजना प्रमुख शुभराज न्यौपाने, आयोजना निर्देशनालय एडीबिका चुडाराज ढकाल, कुवेर नेपाली लगायतका सु.ई.हरुले लविङ्ग गरिरहेको श्रोतले बताएको छ । सु.ई. पोख्रेल पनि विभागको नेतृत्व गर्न सक्ने क्षमतावान् र अनुभवि व्यक्ति हुन् । त्यसैगरी डिजी ढकाल पनि क्षमतावान् व्यक्ति हुन् ।
सु.ई. पोख्रेललाई भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माको निकटस्थ भनी चर्चा गर्ने गरिएको छ । भदौको पहिलो साता हुने सु.ई. र सिडिईहरुको सरुवाका लागि अहिले मन्त्रालयमा भिड लाग्ने गरेको छ । सु.ई.द्वय प्रेमप्रकाश खत्रीले संघीय सडक पोखरा र पोखरा संघीय सडकका ललिजन खनालले सडक विभागमा सरुवा हुन चाहेको श्रोतले बताएको छ । यसैगरी सिडिईहरु सुवोध देवकोटा–नुवाकोट, कृष्णराज अधिकारी– सडक डिभिजन काठमाडौं, पारस हमाल– ललितपुर, राजेश पौडेल– सडक डिभिजन कास्कीमा सरुवा हुन दौडधूप गरेको चर्चा चलेको छ ।
शुरुमा मन्त्रीको जिल्ला सल्यानका लीलाबहादुर भण्डारीको काठमाडौं सडक डिभिजनमा चर्चा चले पनि हाल हुलाकी सडक योजना नेपालगञ्ज जान चाहेको श्रोतले बताएको छ । आगामी भदौको पहिलो साता हुने भनिएको सरुवामा ककसले तालुमा पानी ठोक्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ । सरुवा सिष्टेमेटिक र पारदर्शी हुने प्रणालीको विकास नभएसम्म शक्तिकेन्द्र धाउने प्रवृत्ति रहिरहने भुक्तभोगीहरुले बताएका छन् । सडक विभागका जानकार सचिव शर्माले दूधको दूध, पानीको पानीका हिसाबले सरुवा सिफारिस गर्ने आशा एवं विश्वास गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *