सडकको समीक्षा गोष्ठीमा प्रमाणपत्रको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गत श्रावण ३० र ३१ गते बार्षिक समीक्षा गोष्ठी गरेको छ । कुपण्डोलको म्याक्सिम वैंक्वेटमा गरिएको गोष्ठीमा मुलुकभरका डिभिजन सडक र ७४ वटा योजना कार्यालयहरुकातर्फबाट प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
त्यसबाहेक राष्ट्रिय गौरवका आयोजना, हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना र उत्तर÷दक्षिण राजमार्ग आयोजना तथा सो अन्तर्गतका योजना कार्यालयहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला प्रमुख अतिथि रहेको उक्त गोष्ठी सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायत मन्त्रालयका वरिष्ठ सुपरिटेण्डन्ट इञ्जिनियरहरु र विभागका उपमहानिर्देशकहरुको उपस्थिति रहेको थियो ।
सडक विभागले वर्षभरी गरेको कामको समीक्षा गोष्ठीमा डिभिजन सडकका प्रमुख र योजना प्रमुखलाई उत्कृष्ठ काम गरेवबापत प्रमाणपत्र प्रदान गरिएको थियो । वायो इन्जिनियरिङ्गतर्फ डिभिजन सडक चरिकोट (अर्जुन सुवाल), आकस्मिक मर्मम सम्भारतर्फ सडक डिभिजन इलाम र भरतपुर (रमेश पौडेल), रुग्ण ठेक्का व्यवस्थापन–चपुर (दरोगाप्रसाद) र दाङ्ग (गुरु अधिकारी) रहेका छन् । यसैगरी सडक मर्मत सम्भारतर्फ डिभिजन सडक काठमाडौं (नारायण निहुरे) र सडक डिभिजन दमक रहेका छन् ।
सडक निर्माणतर्फ सबैभन्दा अगाडि सडक डिभिजन नुवाकोट (अमृतमणि रिमाल) र मदन भण्डारी योजना कार्यालय दमक झापा (सुवोध देवकोटा) रहेका छन् । यन्त्र उपकरण सञ्चालनतर्फ सडक डिभिजन नेपालगञ्ज र पुल निर्माणतर्फ पुल सेक्टर नेपालगञ्ज (लीलाबहादुर भण्डारी) रहेका छन् । रुग्ण ठेक्का र बनको विवाद समाधान गरेको प्रति प्रमाणपत्र नपाएपछि मध्यपहाडी योजना कार्यालय गोरखा–पालुङटारका प्रमुख असन्तुष्ट बनेका छन् । राष्ट्रिय गौरवका आयोजना भनिएका लोकमार्गका योजना कार्यालयहरु र अन्य सडक डिभिजन कार्यालय ट्वाँ परेका छन् ।
सम्पत्ति व्यवस्थापनतर्फ डिभिजन सडक विराटनगर (सुदमिन कार्की) र टाक्कटुक्क काम गरेबापत डिभिजन सडक दमौलीले पनि प्रमाणपत्र पाउँदा तात्कालिन भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ (हाल उपप्रधान तथा गृह) भएको समयमा पटरोलतर्फ उत्कृष्ठ ठहरिएका सडक डिभिजन भक्तपुरका प्रमुख मेघराज मरासिनी माछो–माछो प्यागुतो बनेका छन् । मरासिनीलाई ठेक्का मात्र लगाउने र शक्तिकेन्द्रको चाकडी गर्ने आरोप लगाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *