काठमाडौं/ अवकाश हुने चारपाँच महिना बाँकी हुँदा कमाउनकै लागि सहरी विकास मन्त्रालयमा वालुवाटारको शक्ति प्रयोग गरेर सरुवा भएका थिए सचिव रविन्द्रनाथ श्रेष्ठ । श्रेष्ठ आगामी असोज ११ गते अर्थात् अबको ३२–३३ दिनपछि अनिवार्य अवकाश हुँदैछन् । विदा कटाउँदा सचिव श्रेष्ठले २६ दिन मात्र मन्त्रालयमा काम गर्ने बताइएको छ । सचिव श्रेष्ठ २०८० बैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सहरी विकास मन्त्रालयमा सरुवा भएका थिए ।
सहरी विकास मन्त्री सीता गुरुङ्गको भद्र र सोझोपनको फाइदा उठाएर सचिव श्रेष्ठले सरुवामा चलखेल गर्दै आइरहेका आरोप लागेको छ । सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा व्यापक आर्थिक चलखेल गरेको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ । प्राविधिक सचिवहरुमा श्रेष्ठ र रमेशप्रसाद सिंह एउटै श्रेणीमा पर्ने बताइएको छ । अवकाश हुनु अगाडि सचिव श्रेष्ठले भदौमा सम्पूर्ण सरुवा सकेर मोटो रकम हात पार्ने अभियानमा जुटेको समाचार श्रोतले बताएको छ । सचिव श्रेष्ठ र प्रशासनका सहसचिव प्रदीप परियारले काठमाडौं उपत्यका बाहिरका डिइहरुलाई उपत्यकामा ल्याउन मोलतोलमा जुटेका छन् भने सहसचिव चक्रवर्ती डण्डलाई बागमती एकीकृत सभ्यताको प्रमुख बनाउन लागि परेका जानकारी प्राप्त भएको छ ।
यता सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठको विकल्प भेटिएको छैन । प्राविधिक सहसचिवहरु पदम मैनाली, दिलिप भण्डारी र नारायण भण्डारी डिजी बन्ने योग्यता भए पनि मन्त्रीले पठाएमात्र जाने सोंचमा छन् । यता सचिव श्रेष्ठको अवकाशपछि सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई नै ल्याउने चर्चा चलेको छ । सिंचाई सचिव गोपाल सिग्देलले चासो नदेखाएपछि प्रजातन्त्रवादी मानिने सचिव आचार्यको संभावना बढेको हो । काँग्रेसले नेतृत्व गरेको सहरी विकास मन्त्रालयमा बामपन्थीहरुले ढलीमली गर्दा काँग्रेसीहरु रुष्ट बनेका छन् । जे भने पनि नाइनास्ती गर्न नसक्ने भवन विभागका महानिर्देशक श्रेष्ठले मन्त्रीलाई खुशी पारेर सचिव श्रेष्ठले गरेको इन्जिनियर र सव इन्जिनियरहरुको सरुवामा मुकदर्शक बनेको श्रोतले बताएको छ ।
सचिव श्रेष्ठ र सहसचिव परियारले घुस उठाउन शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त आचार्यलाई खटाएको बताइएको छ ।
सहरी विकास मन्त्रालयमा सचिवको असुली धन्दा
Facebook Comments Box
