आठ वर्षपछि आफ्नै भवनमा सडक विभाग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आठ वर्षपछि सडक विभाग आफ्नै पुरानो भवन बबरमहलमा सरेको छ । २०७२ साल बैशाख १२ र २९ गतेको भूकम्पले क्षतिग्रस्त भएपछि सडक विभाग बबरमहलबाट चाकुपाटस्थित तालिम केन्द्रको भवनमा सरेको थियो ।
शहरी तथा भवन निर्माण विभागले प्रवलीकरण (रेक्ट्रोफिटिङ्ग) गरेपछि निर्माण कार्य पुरा नहुँदै गत २०८० भदौ ६ गते विभाग आफ्नै भवनमा सर्न बाध्य भएको हो । समानान्तर निर्माण सेवाले कछुवा गतिमा प्रवलीकरण गरेको उक्त भवनमा बस्न तीनवटा कार्यालयहरुको हानथाप चलेको समाचार श्रोतले जानकारी दिएको छ । महालेखा परीक्षकको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले उक्त भवनमा दाबी गरेका थिए ।
उक्त भवनमा महालेखा परीक्षकको कार्यालयले ३० वटा कोठा र जिल्ला निर्वाचन कार्यालयले १५÷१६ वटा कोठा माग गरेका थिए । २०७२ सालको भूकम्प जानुअघि बबरमहल दरबारको आधा भाग सडक विभाग र आधा भाग महालेखा परीक्षकको कार्यालयले प्रयोग गरिरहेको थियो ।
करिब एक अर्ब रुपियाँ बढी ठेक्कामा प्रवलीकरण गरिएको उक्त भवनमा भूकम्प पछिका १० औं महानिर्देशक सुशीलवाबु ढकाल सरेका छन् । भूकम्प जाँदा सडक विभागको महानिर्देशक ई. माधव कार्की थिए । त्यसपछि चाकुपाट सरेर देबेन्द्र कार्की, गोपाल सिग्देल, रविन्द्रनाथ श्रेष्ठ, केशवकुमार शर्मा, अर्जुनजंग थापा, शिवहरि सापकोटा, शिव नेपाल (तीन महिना), फेरि दोहोरिएर अर्जुनजंग थापा र सुशीलबाबु ढकालले विभागको नेतृत्व गर्ने मौका पाए ।
गत २०७९ फागुन ३ गते सडक विभागको महानिर्देशक बनेका ढकाल ६ महिना चाकुपाट बसेर बबरमहल सर्ने भाग्यमानी महानिर्देशक हुन् । ढकाललाई डीजीबाट हटाउन भित्र भित्रै असम्भव चलखेल शुरु भएको जानकारहरुले बताएका छन् ।
हाल सडक विभाग बबरमहलमा डीजी सहित योजना महाशाखा, मर्मत सम्भार महाशाखा पुल र वैदेशिक समन्वय महाशाखा र मध्यपहाडी सडक पुष्पलाल निर्देशनालय सरिसकेका छन् । मदन भण्डारी राजमार्ग निर्देशनालय सडक विभाग रहेको चाकुपाटमा सरेपछि सडक विभागको भाडा कापत बुझाउने ठूलो रकम बचत हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *