काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जन्मी वा थातथलो बनाई हाल काठमाडौं उपत्यकामा रहेका महिलाहरुका लागि तीज कार्यक्रम शनिबार गरिएको छ । इनरुवा सेवा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
कार्यक्रममा सहभागी सदस्यहरुमध्ये नयाँ सहभागीहरुलाई समाजको साधारण सदस्यता समेत प्रदान गरिएको थियो । सहभागीहरु स्वतस्फुर्त रुपमा नाचगानमा सहभागी भएका थिए । उनीहरुले विभिन्न आकर्षक पोशाकहरुमा कार्यक्रममा आई आफ्नो थातथलोका साथी संगिनीहरुसँग रमाएका थिए ।
कार्यक्रममा सहभागीहरुले विभिन्न किसिमका क्षमता तथा आफ्नो खुवीलाई प्रस्तुत गरेका थिए । यसक्रममा गायक रमेश पोखरेलले आफ्नो सुमधुर श्वरमा गीतहरु गाएका थिए । यसैगरी सुजाता बरालले निक्कै नै राम्रो नृत्य प्रस्तुत गरेका थिए । विभिन्न भेषमा नृत्य देखाइएको समाजका महासचिव सुमन घिमिरेले जानकारी दिए ।
सो अवसरमा सहभागीहरुलाई विभिन्न किसिमको पुरस्कार समेत वितरण गरिएको थियो । विभिन्न विधामा विजेता बनेकाहरुलाई समाजका पदाधिकारीहरुले पुरस्कार समेत वितरण गरेका थिए । विशुद्ध सामाजिक सेवालाई आफ्नो मूलमन्त्र बनाउँदै आएको समाजले भोलिका दिनमा समाजसेवाउन्मुख कार्यक्रमहरु गर्ने उपाध्यक्ष पुष्कर पोखरेलले जानकारी दिए ।
यसैबीच समाजको वेवसाइट आकर्षक रुपमा बनाउन सहयोग पु¥याउन इप्सिका भट्टराईलाई सो कार्यको लागि सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा ८० दशक नाघेका अभिभावकहरुको उपस्थितिले कार्यक्रम रोचक बनाएको थियो ।
माहेश्वरी भवनमा गरिएको सो कार्यक्रमको लागि संयोजकमा विष्णुकुमारी भट्टराई तथा सहसंयोजक सरला बस्नेत रहेका थिए । यसैगरी खाजा, खानाको राम्रो व्यवस्थापन मिलाइएको भनी संजय अटललाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
इनरुवा सेवा समाजको तीज कार्यक्रम
Facebook Comments Box