छिमेकी रिझाउन प्रधानमन्त्रीलाई सकस

Nayabimarsha (Weekly Newspaper from Nepal)

 

मुख्य समाचार

भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । सरकार संचालनमा पाइलैपिच्छे समस्या खेप्दै आएका दाहाल पछिल्लो समय छिमेकी राष्ट्रहरुलाई कसरी रिझाउने भन्ने कुराले सकसमा परेका बताइएको छ । खासगरी चीन भ्रमणको तयारीमा रहेका दाहाललाई चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा (लिपुलेक, लिम्पियाधुरा नसमेटिएको) लाई राखेका कारण तनाव थपेको हो । चीनले नेपालले पारित गरेको नक्सालाई मान्यता नदिएका कारण यसले कूटनीतिक रुपमा समेत असर पारेको छ । चीनले नेपालले मान्यता दिएको नक्सालाई मान्यता नदिएको भन्दै नेपालीजनले यो कार्यको विरोध नै गर्दै आएका छन् । यसको पछिल्लो उदाहरणमा काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) नै देखिएका छन् । उनले चीनले नेपाली नक्सालाई मान्यता नदिएको भन्दै त्यसको विरोधस्वरुप चीनको भ्रमण नै स्थगित गरिदिएका छन् ।
प्रधानमन्त्री दाहालले चीन भ्रमण गर्ने सम्पूर्ण तयारी गरिरहेको अवस्थामा चीनले जारी गरेको नक्सामा नेपालको नक्सालाई पुरानै स्वरुपमा राखिएको छ । यो कार्यलाई नेपालीजनले नरुचाएको अवस्था छ । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री यही कारण पनि यो विषयलाई विवादको विषय बनाउन नचाहिरहेको अवस्थामा देखिएका छन् । सरकार पक्षबाट यो कुराको कतै पनि विरोध गरिएको छैन । यसैगरी चीनसँगको आफ्नो सम्बन्ध विग्रने भयले होला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका कम्युनिष्ट नामधारी दलहरु समेत यो कार्यको विरोधमा मुख खोल्न नसकेको अवस्थामा छन् ।
यसरी नक्साको विषयले मात्र नभई नेपालका लागि चीनका राजदूतले दिएको पछिल्लो अभिव्यक्तिले पनि प्रधानमन्त्री दाहाललाई झनै सकस पारिदिएको छ । ती राजदूतले पदीय मर्यादा नै विर्सिएर अर्को छिमेकी राष्ट्र भारतसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने अर्तिउपदेश सहितको भनाइ हालै एक सार्वजनिक कार्यक्रममा राखे । उनको आसय नेपालले भारतसँग भन्दा पनि चीनसँग व्यापार लगायतका सबैखाले सम्बन्ध राख्दा राम्रो हुने धारणा राखे । राजदूतको यो भनाइ विवादित बन्न पुगेको छ । कुनै पनि मुलुकसँग के कस्तो सम्बन्ध राख्ने भन्ने कुरा त्यो देशको आफ्नो विषय भएकाले यस्तो मामलामा चीनका राजदूतको सल्लाह आवश्यक थिएन भन्नेहरु प्रशस्तै भेटिएका छन् ।
विगतमा नेपालका लागि भारतीय राजदूतहरुले यस्तै खालका हस्तक्षेपकारी भूमिका निभाउने गरेका थिए । भारतीय राजदूतहरुका त्यस्ता अभिव्यक्तिका कारण उनीहरु विवादमा पर्ने गरेका थिए । उनीहरुले कूटनीतिक मान्यतालाई विर्सिएर नेपाल र नेपालीलाई हेरेको भनी उनीहरुको चर्को आलोचना हुने गरेको थियो । त्यो बेलामा चीनका राजदूतहरु नेपालको आन्तरिक मामिला भनी नेपालका विभिन्न मुद्दाहरुमा बोल्ने गरेका थिएनन् । पछिल्लो समयमा हालका राजदूत नेपाल आएको आठ महिनाको अवधिमै विभिन्न किसिमका विवादास्पद अभिव्यक्तिहरु दिएको भनी विवादमा पर्दै आएका छन् ।
कुनै पनि राजदूतले अर्को देशको विषयलाई लिएर यसरी आफ्नो अभिव्यक्ति दिनुलाई कूटनीतिक रुपमा राम्रो मानिँदैन । त्यसैले यो विषयलाई लिएर नेपाल सरकारले चीनका राजदूतसँग स्पष्टीकरण लिनुपर्ने वा देशबाट निकालासम्म गर्नुपर्ने भन्ने खालका अभिव्यक्तिहरु कूटनीतिक क्षेत्रका मानिसहरुले गर्ने गरेका छन् ।
यसरी यो विषयमा सर्वत्रबाट चासो तथा सुझाव आएको अवस्थामा समेत नेपाल सरकार भने उनको अभिव्यक्तिको मामलामा पनि प्रतिक्रियाविहीनको अवस्थामा देखिएको छ । यस्तो हुनुमा पनि प्रधानमन्त्री दाहालको निकट भविष्यको चीन भ्रमण नै कारक रहेको बताइन्छ । चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको विरुद्धमा आफ्नो अभिव्यक्ति आउला कि भनी प्रधानमन्त्री दाहाल चूपको अवस्थामा बसेका छन् ।
विश्व आर्थिक बजारमा उदीयमान तथा एक अर्काका प्रतिस्पर्धी देशका रुपमा रहेका चीन र भारतको बीचमा नेपाल रहेको छ । यी दुई देशको बीचमा रहँदाको फाइदा उठाउन नेपालले सक्नुपर्नेमा त्यसको ठीक विपरितको अवस्थामा नेपाल रहन पुगेको छ ।
भारत सरकारले नेपालबाट किन्ने भनेको विजुलीको विषयलाई भारतले मूर्तरुप दिएको विषयलाई समेत चीनले पचाउन सकेको छैन । यसैगरी नेपाललाई चीनले दिने कतिपय सहयोगहरुलाई समेत भारतले पचाउन सकेको छैन । कुनै एक मुलुकले नेपाललाई सहयोग पुग्ने काम गरेको खण्डमा अर्को मुलुकले त्यो कार्यको विरोध गरिहाल्ने खालको अवस्था देखिएको छ ।
यस्तो अवस्थामा नेपाल सरकार भने उनीहरु रिसाउलान् कि भनी सोचिरहेको अवस्थामा छ । खासगरी नेपालमा कम्युनिष्ट नामधारी दलहरु सरकारमा रहेका बेलामा भने उनीहरुले चीनलाई रिझाउने गरी काम गर्ने गरेका कारण समस्या आउने गरेको छ ।
उता, भारत पनि नेपालले चीनसँग कस्तो व्यवहार गर्छ वा उनीहरुका बीचमा के कस्ता सम्झौताहरु हुन्छन् भनी एकदमै चासोका साथ हेरिरहने गर्दछ । यसरी भारतले हेरिरहेको अवस्थामा भोलिका दिनमा भारतले नेपालसँग कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई समेत नेपालले ख्याल गर्नुपर्ने अवस्था छ । भारतसँग मुख्य रुपमा नेपालले इन्धन आयात गर्ने गर्दछ । इन्धन आयात ठप्प पार्ने गरी भारतले आफ्नो हर्कत देखाइसकेका कारण पनि नेपालले दुवै देशहरुसँग समानान्तर सम्बन्ध राख्नुपर्ने अवस्था विद्यमान छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री दाहालले आफूलाई चेपुवामा परेको महसुस गर्दै आएको देखिन्छ । सरकार संचालनमा आन्तरिक समस्यामा पर्दा नै खेप्न गाह्रो अवस्था रहेको स्थितिमा दाहालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित रुपमा राख्नका लागि पनि टाउको दुखाउनु परेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *