विचित्रको विश्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

एक सय ४८ जुम्ल्याहा पढ्ने विद्यालय

ग्रेट ब्रिटेनको उत्तरी भागमा अवस्थित एक देश हो स्कटल्याण्ड । जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन् । यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन् ।
आयरल्याण्डको राष्ट्रिय समाचार एजेन्सीका अनुसार स्कटिश काउन्सिल फेरि एक क्षेत्रको रूपमा देखा परेको छ, जहाँ ठूलो संख्यामा जुम्ल्याहाले आफ्नो प्राथमिक विद्यालयको अध्ययन शुरु गर्न लागेका छन् । यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् । स्कटल्याण्डको इन्वरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा एक सय ४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन् । यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएर संख्या बढाएका छन् । जसका कारण जुम्ल्याहाको उच्च दरका लागि परिचित इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्वरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर अभिलेख गरेको छ ।
भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिए । सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार छन् । यी प्रत्येक विद्यालयमा तीनवटा जुम्ल्याहा बच्चाहरू उनीहरूको पि वान कक्षाहरूमा सामेल हुनेछन् । (एजेन्सीको सहयोगमा)

विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै वान्ता आउला जस्तो हुन्छ ।
विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको तस्वीर हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तोभन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ ।
चीनको सांघाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो महसुस हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठूल्ठूला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ ।
यस्तै यहाँ लाउन्ज एरिया पनि छ जहाँ असाध्यै राम्रा सोफा राखिएका छन् । शौचालय जानु नपर्ने तर साथी आएका मानिसले यो सोफामा बसेर साथीलाई पर्खन सक्छन् । यस्तै यहाँका वासबेसिन पनि फाउन्टेनबाट प्रेरित छ । (एजेन्सीको सहयोगमा)

ठूलो आवाजमा डकारेर विश्व कीर्तिमान

मानिसहरूले विश्व कीर्तिमान पनि के–केमा राख्छन् । हालै एक युवतीले सबैभन्दा ठूलो आवाजमा डकारेर वल्र्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । यसअघि महिलातर्फको कीर्तिमान इटालीकी एलिसा काग्नोनीको नाममा थियो । उनले सन् २००९ मा १०७ डेसिबलमा डकारेकी थिइन् । यो रेकर्ड हालै किम्बर्ली ‘किमीकोला’ विन्टरले तोडेकी छिन् । उनी अमेरिकाको मेरिल्यान्डकी बासिन्दा हुन् । उनले हालै आईहार्टरेडियोको ‘डेड रुम’ मा पुगेर यति ठूलो स्वरमा पेटको वायु घाँटीबाट निकालिन् कि उनले ०.३ डेसिबलले काग्नोनीको कीर्तिमान तोडिन् । रेकर्ड राख्नका लागि आफूलाई तयार पार्न उनले सबैभन्दा पहिला ब्रेकफास्ट खाइन्, त्यसपछि कफी पिइन् र बियर पनि । यो सम्मिश्रणले १४ वर्ष पुरानो रेकर्ड तोड्न सफल भयो ।
अडिटी सेन्ट्रलका अनुसार किम्बर्लीले गिनिज बुक अफ वल्र्ड रेकर्डसँगको कुराकानीमा आफूले सानै बेलादेखि ठूलो स्वरमा डकार्ने गरेको बताइन् । उनले भनिन्, ‘मैले सानै बेलादेखि ठूलो स्वरमा डकारेर परिवारलाई आतंकित पार्थेँ तर अहिले धेरै वर्ष भइसक्यो, उहाँहरूलाई यसको बानी प¥यो तर पनि उहाँहरूले कहिलेकाहीँ सानो स्वरले डकार्न भन्नुहुन्छ ।’
किम्बर्लीका अनुसार उनकी बहिनी पनि ठूलो स्वरमा डकार्छिन् । यो सफल प्रयास अघि किमीकोलाले ठूलो स्वरमा डकार कसरी निस्कन्छ भनेर विभिन्न खाना र पेय पदार्थको परीक्षण गरिन् । मसालेदार खान, सोडा र मदिराले निकै उत्कृष्ट काम गर्ने उनी बताउँछिन् तर विश्व कीर्तिमान धारी उनले कहिलेकाहीँ थोरै पानीले पनि चमत्कारको रूपमा काम गर्ने बताइन् ।
मेरिल्यान्डकी बासिन्दा उनले भनिन्, ‘एक दिन मलाई ठूलो श्वरमा डकारेको भन्दै एउटा बारबाट निकालिएको थियो । त्यसपछि मलाई थाहा भयो कि डकार्दा मेरो आवाज धेरै ठूलो आउँछ ।’ उनले आफ्नो अचम्मको क्षमताले साथीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएकी छिन् । टिकटकमा किमीकोला नाम भएकी उनको हजारौँ फलोअर्स छन् । दुई वर्ष अघि अस्ट्रेलियाका एक पुरुषले ११२.७ डेसिबलमा डकारेर १० वर्ष लामो गिनिज बुक अफ वल्र्ड रेकर्ड तोड्न सफल भएका थिए । (एजेन्सीको सहयोगमा)

जब ५० लाख मौरी ट्रकबाट खसे

बुधबार बिहानै धेरैपटक प्रहरीले फोन गरेपछि मौरीपालक माइकल बार्बर सबेरै उठे । ५० लाख मौरी (माहुरी) हरु ट्रकबाट खसेपछि उद्धारका लागि सहयोग माग्दै प्रहरीले उनलाई फोन गरेको थियो । क्यानडामा यो घटना भएको हो । मौरीका घारहरु ट्रकमा राखेर अर्को ठाउँमा लैजाँदै गरेको बेला घार बाँधिएका पाताहरु खुकुलो भएपछि खात लगाएर राखिएका घारहरु चिप्लिएर ट्रकबाट भुइँमा खसे ।
घटनास्थलमा आफू पुग्दा त्यहाँ आक्रोसित, द्विविधाग्रस्त र घरबारवीहिन लाखौँ मौरीहरुको रोमाञ्चक बादलजस्तो देखिएको उनी बताउँछन् । त्यसपछि त्यहाँ रहेका गाडी चालकहरुलाई झ्याल बन्द गर्न भनियो भने पैदलयात्रीहरुलाई अलि टाढै बस्न भनियो । क्यानडाको ओन्टारियोस्थित बलिंग्टनमा भएको उक्त घटना बार्बरले आफ्नो ११ वर्षे मौरीपालनको करिअरमा देखेको पहिलो घटना हो । उनी भन्छन्, ‘त्यो घटना यस्तो थियो कि फेरि कहिल्यै त्यस्तो अनुभव गर्नु नपरोस् ।’
गुएल्फ नजिकै ट्राइ सिटी मौरी उद्धार संस्था सञ्चालन गरिरहेका बार्बरलाई त्यस दिन बिहानै ७ बजे प्रहरीले मौरीको उद्धार गर्न भन्दै फोन गरेको थियो । लगत्तै प्रहरीले सोसल मिडियामार्फत् सार्वजनिक सूचना जारी गर्दै आम मानिसहरुलाई त्यस मौरीग्रस्त क्षेत्रमा नजान भन्यो । मौरीका घारहरु ट्रकको पछाडिपट्टि लोड गरेर अर्को शीतकालीन ठाउँमा लैजाँदै गरेको बेला सो घटना भएको थियो ।
प्रहरीको फोन आउने बित्तिकै उनले आफ्ना अन्य मौरी उद्धारक साथीहरुलाई पनि फोन गरेर घटनास्थलमा बोलाए । करीब दर्जन उद्धारकर्ताहरुले ती लाखौँ मौरीलाई उद्धार गरी स्थिति साम्य पार्न सफल भए ।
बार्बरका अनुसार मौरी तथा घारहरु चार सय मिटर परसम्म छरिएका थिए । नजिकैका कार तथा हुलाक पोस्टमा समेत मौरीहरु झुम्मिएका थिए । त्यस्तै उनको ट्रकको अगाडि पट्टि पनि हजारौँ मौरी आएर बसेका थिए । अनि अलिक वयस्क तथा रिसाएका मौरीहरु भने यत्रतत्र उडिरहेका थिए ।
उनीहरुको केही घण्टाको प्रयासपछि अधिकांश मौरीहरुले आफ्नो घार भेट्टाउन सफल भए । तथापि सयौँ मौरीहरु भने उक्त घटनामा परेर मर्न पुगे । मौरीले केही उद्धारकर्तालाई पनि टोकेर घाइते बनाए । बार्बरका अनुसार सो ट्रकका चालकलाई त मौरीहरुले सय पटकभन्दा धेरै पटक टोकेका थिए । उनले मौरीको टोकाइबाट बँच्न लगाउनुपर्ने शूट नलगाएका कारण दर्जनौँ मौरीको आक्रमणमा परे यद्यपि उनको तत्कालै उपचार गरिएका कारण गम्भीर बिरामी पर्नबाट जोगिए ।
हजारौँ मौरीहरु यत्रतत्र उडिरहेको हुँदा पूर्णरुपमा सुरक्षित शूट लगायतका उद्धारकर्ताहरु समेत डराउनु परेको थियो । मौरीको उद्धार गर्न तथा स्थानीय मानिसहरुलाई सुरक्षित बनाउने कार्यमा सहयोग गरेकोमा बार्बरले अन्य सहयोगी मौरी उद्धारकर्ताहरुलाई पनि धन्यवाद दिएका छन् । (बीबीसीबाट)

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *